शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार ढाल्ने प्रयास भइरहेको छ : ओली

बुधबार, ११ माघ २०७९, १४ : ०१
बुधबार, ११ माघ २०७९

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् ।  अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन् । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको दावी समेत गरे । उनले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको पनि पटकपटक दोहोर्याए । अध्यक्ष ओलीले भने, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने ? यो खालको अवस्थाबाट चाहीँ हामीहरु अलि माथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाइज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ । त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढि हाम्रो छ । त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौं । हामी त्यसलाई ठिक बाटोमा लैजाने कोसिसमा छौं । र, आयुर्वेदको महत्वको हामीले बुझ्न चाहेका छौं । राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको छ । यति कुरा म साथीलाई भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रुपमा अघि बढाउने सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि स्मरण गराए । त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनको आश्वासन थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप