बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा पठानको बम्पर ओपनिङ, बनायो नयाँ रेकर्ड

बिहीबार, १२ माघ २०७९, १५ : २८
बिहीबार, १२ माघ २०७९

मुम्बई । शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा पहिलो दिन ५५ करोड भारुको बम्पर ओपनिङ गरेको छ । यो बलिउडको इतिहासमा पहिलो दिनकै सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । यसअघि ऋतिक रोशनको फिल्म ‘वार’ले पहिलो दिन ५१.६ करोड भारु कमाएको थियो । अर्कोतर्फ पठानले विश्वभर १०० करोडभन्दा बढी कमाएको छ । २५० करोड भारुको बजेटमा बनेको यो फिल्म विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको थियो । पठान रिलिज हुनुअघि नै निकै विवादमा परेका थिए । फिल्मको गीत बेशरम रंगलाई लिएर देशका धेरै ठाउँमा विरोध भएको थियो ।

उक्त गीतमा दीपिकाको पहिरनमा हिन्दूवादी संगठनले आपत्ति जनाएका थिए । फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले पठानले पहिलो दिन ५५ करोड भारु कमाएको बताए । दोस्रो दिन भारतमा कमाईको आंकडा १०० करोड भारु नाघ्ने उनको भनाई छ छ । यो फिल्म हिन्दी तमिल र तेलुगु सहित ५५०० स्क्रिनमा रिलिज भएको थियो । योसँगै फिल्मले विदेशमा २५ सय स्क्रिन पाएको छ । सुरुमा ५ हजार २ सय स्क्रिनमा रिलिज भएको यो फिल्मको क्रेजलाई मध्यनजर गर्दै थप ३ सय स्क्रिन बढाइएको छ ।

पठानको रिलिजसँगै कोभिडको समयमा बन्द भएका २५ सिंगल स्क्रिन पुनः खोलिएका छन् । यसको जानकारी शाहरुख आफैले आफ्नो सामाजिक सञ्जालमार्फत दिएका छन् । शाहरुख चार वर्षपछि पठानसँग सिल्भर स्क्रिनमा फर्किएका छन् । उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यी चार वर्षमा उनले 'ब्रह्मास्त्र', 'लाल सिंह चड्ढा' र 'रकेटरी' जस्ता फिल्महरूमा क्यामियो गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप