बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो मृत्यु भइसक्यो भनेर देखाउन चाहन्थिन्, इन्स्टाग्राममा आफूजस्तै देखिने केटीलाई खोजेर मारिन्

बुधबार, १८ माघ २०७९, १३ : ४६
बुधबार, १८ माघ २०७९

जर्मनीकी एक २३ वर्षीय युवतीले आफ्नो मृत्युको नाटक गर्नका लागि सोसल मिडियामा आफूजस्तै देखिने युवती खोजिन् र उनको हत्या गरिदिइन् । यसलाई जर्मनको प्रहरीले ‘द डोपलग्याङ्गर मर्डर’ नाम दिएको छ । घटना अघिल्लो वर्ष १६ अगस्टको हो जुन अहिले आएर सार्वजनिक भएको छ ।

इन्स्टाग्राममा खोजिन् आफूजस्तै देखिने कस्मेटिक ब्लगर

प्रहरीका अनुसार म्युनिखमा बस्ने शाहराबान के. नामकी महिलाले इन्स्टाग्राममा नक्कली प्रोफाइल बनाए र आफूजस्तै देखिने थुप्रै महिलासँग सम्पर्क गर्ने कोसिस गरिन् । थुप्रै प्रोफाइलको खोजी गरेपछि उनले एक कस्मेटिक ब्लगरको प्रोफाइल भेटिन् ।

खदिदजा नामको यी  ब्लगर अल्जेरियाली नागरिक थिइन् र आरोपी महिलाको घरबाट करिब १६० किलोमिटर टाढा बस्थिन् । यी दुवैको लामो कालो कपाल थियो र रङ पनि लगभग एउटै खालको थियो । शाहराबान र उनका प्रेमी शरिक के. ले खदिदजासँग सम्पर्क गरे र उनलाई केही ब्युटी प्रडक्ट प्रस्ताव गरे । त्यसपछि दुवै उनलाई लिन पुगे । प्रहरीले दिएको जानकारी अनुसार खदिदजालाई लिएर म्युनिख फर्किरहेका बेला दुवैले एउटा जङ्गलमा कार रोके र खदिदजामाथि ५० पटक चक्कुले हमला गरे ।

पोस्टमार्टम र डिएनए परीक्षणमा वास्तविकता सार्वजनिक भयो

शाहराबानले आफ्ना श्रीमानलाई उनी आफ्ना पूर्व श्रीमानलाई भेट्न जान लागेको बताएकी थिइन् । उनी लामो समयसम्म नफर्किएपछि उनका आमाबुवाले उनको खोजी गर्न थाले । डेन्यूब नदीको किनारामा उनीहरुले शाहबारानको कार भेटे जसको पछाडिको सिटमा कालो कपाल भएकी एक महिलाको शव थियो । उनीहरूलाई लाग्यो कि यो उनीहरूकी छोरीको शव हो ।

प्रहरीले दिएको जानकारी अनुसार घटनास्थल नजिकै उनीहरुले थुप्रै चक्कु भेटे । पोस्टमार्टम र डिएनए परीक्षण गर्दा शव शहराबानको नभई खदिदजाको भएको पत्ता लाग्यो । प्रहरीले अनुसन्धानपछि शाहराबान र शकिरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपी महिला पारिवारिक कलहका कारण गायब हुन चाहन्थिन् र आफ्नो जीवनलाई नयाँ सुरुवात दिन चाहन्थिन्, त्यसैले उनले आफ्नो मृत्युको नाटक रचिन र यसका लागि उनले आफूजस्तै देखिने युवती खोजेर उनको हत्या गरेकी थिइन् भन्ने निष्कर्ष प्रहरीले निकाल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप