बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
विकास

बुटवल-नारायणगढ सडकको डेडलाइन नजिकिँदै, काम भने ५ वर्षमा २५ प्रतिशतमात्रै

बिहीबार, १९ माघ २०७९, १८ : ०९
बिहीबार, १९ माघ २०७९

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम अलपत्रजस्तै बनेको छ । शिलान्यास भएको ५ वर्ष पुग्न लाग्दा सडक स्तरोन्नतिको काम जम्मा २५ प्रतिशत मात्र सम्पन्न भएको हो ।

सरकारले दुई खण्डका विभाजन गरेको आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । वि.सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट सडक विस्तारको शिलान्यास गरेका थिए। 

सडक विस्तारको काम ४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि म्याद थपिँदै आएको छ । अहिलेसम्म दुईतर्फ भौतिक विकासलाई हेर्दा २५ प्रतिशत काम पुरा भएको बुटवल नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ । 

पछिल्लो म्याद थप गर्दा बुटवल–बर्दघाटको ३६५ दिन र बर्दघाट–गैँडाकोट सम्मको ३८६ दिन दिइएको छ । बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडकमध्ये सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । 

सरकारले तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो।

गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १(पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ। दुबैतर्फ कामको सुस्तता उस्तै छ ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुने क्रमको सुरुआत गरिएको थियो। एसियाली विकास बैङ्क(एडिबी)को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै जुटाउने छ ।

हालसम्म के काम भयो ?

गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ। 

सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रूख कटान, निकास निर्माण तथा सडक किनारमा माटो भर्ने कामका साथै केही ठाउँमा पिचको काम पनि सुरु भएको आयोजना जनाएको छ । बुटवल बर्दघाट सडकका सूचना अधिकारी इन्जिनियर शिव खत्रीका अनुसार ठुला पुल ३ वटा र साना पुल १३ वटा निर्माण भइसकेका छन् । 

यस्तै ९१ वटा बल्भट निर्माण भएका छन् । रुख काट्ने काम करिब ९९ प्रतिशत सम्पन्न भएको छ भने करिब १ किलो मिटर भन्दा धेरै पिच भएको छ । 

अर्को खण्ड बर्दघाट–गैँडाकोट पनि करिब २५ प्रतिशत काम सम्पन्न भएको सूचना अधिकारी इन्जिनियर धिरज ढकालले रातोपाटीलाई बताए । जहाँ १२ ठुला पुल (मेजर ब्रिज) बन्नु पर्नेमा अहिले  ३ वटा निर्माण सकिएको छ । यस्तै २ वटा निर्माणका क्रममा रहेका छन् । यस्तै साना २२ (माइनर ब्रिज) बन्नु पर्नेमा अहिले १५ वटा सम्पन्न भएका छन्। यसै गरी २ वटा  निर्माणको चरणमा रहेका छन् ।

यस्तै सो खण्डमा १५ वाट बल्भर्ट निर्माण गर्नुपर्नेमा अहिले ८० वटा पुरा भएको ढकालले बताए । यस्तै दाउन्ने डाँडामा २०–२५ वटा रुख  काट्न बाहेक अन्य करिब सकिएको छ। सो खण्डमा करिब १२ सय मिटर पिच गर्ने काम चलिरहेको उनले बताए । 

म्याद थपिएअनुसार चिनियाँ कम्पनीले २०२४ अगस्टमा काम सकिसक्नुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप