आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालका लाक्पा तामाङसहित नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

आइतबार, २२ माघ २०७९, १७ : १०
आइतबार, २२ माघ २०७९

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले आइतबार राजधानीमा कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई स्वागत गरेको हो ।

आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका लाक्पा तामाङसहितका नेताहरू र नेकपा (माओवादी समाजवादी समाज) का नेताहरू पार्टी परित्याग गर्दै नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् । 

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश अधिकारीले नागरिक उन्मुक्ति पार्टीको मुद्दालाई बुझेर पार्टीमा प्रवेश गर्नेको लहर बढेको बताए । नवप्रवेशीलाई सांसद लालवीर चौधरीले खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।  

‘नागरिक उन्मुक्ति पार्टी १३ महिनाको जन्मको दौरानमा यहाँसम्म आइपुगेको छ । सिद्धान्त, आदर्श र यो पार्टीले अंगीकार गरेको माग मुद्दाहरु छन्, अधिकार र पहिचानको कुरालाई केन्दविन्दुमा राखेर एउटा मियो बनेर देशभरबाट पार्टी प्रवेशको लहर चलिरहेको छ,’उनले भने । 

पार्टी सुरुभएको अवधिदेखि अहिलेसम्मको दौरानमा पार्टी र पार्टीका नेताहरुमाथि पटक–पटक आक्रमणको प्रयास भएको उनको दाबी छ । सांसद अरुण चौधरीलाई फिर्ता भएको मुद्दामा राज्यले फेरि समातेको भन्दै उनले यस घट्नाले आफूहरूमाथि आक्रमण भइरहेको प्रमाणित गरेको दाबी गरे । 

‘योबीचमा अत्यन्त विषम परिस्थितिमा जन्मिएको पार्टीलाई कुन ढंगको आग्रमण हुँदोरहेछ भन्ने उदाहरण हामीले माननीय अरुण चौधरीलाई पक्राउ गरिएबाट छर्लङ्गनै हुन्छ । संसद् चलिरहेको बेलामा बहालवाला जनप्रतिनिधिलाई सभामुखको स्वीकृतिबिना, सभामुखलाई जानकारी नगराई समात्नु भनेको यो जनताको मानवअधिकारको घोर अपमान हो । संसदीय शासन पद्धतिलाई नाङ्गेझार पारिएको प्रमाण हो । जबकि २०६९ साल जेठ १० गते नै ती सबै थरुहट आन्दोलन र अखण्ड सुदूरपश्चिमका घटनालाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत ती सबै घटनाहरू सबै मुद्दा फिर्ता गरिएको अवस्थामा यी किसिमका गतिविधि आउनु, राजबन्दीलाई थुनामा राखिरहनु र भूमिपुत्रलाई अझै कठघरामा राखिरहनुको विषम परिस्थितिमा देशका स्वाभिमानी नागरिकको हिसाबले गोलबद्ध हुन हामी उपस्थिति भएका छौं,’ अधिकारीले भने । 

बागमती प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य दीप तामाङले नागरिक उन्मुक्ति पार्टीको मुद्दा र विचारलाई बुझेर पार्टी प्रवेश गर्नेको संख्या बढिरहेको बताए । 

त्यसैगरी, केन्द्रीय सदस्य एवं पूर्व सांसद हिमाचलराज भट्टराईले टीकापुर घटनामा रेशम चौधरीलगायतका नेताहरुको संलग्नता नरहेको दाबी गरे । 

‘हाम्रो पार्टी तीन वटा मुद्दा लिएर गठन भएको हो । हाम्रो देश बहुजाति, बहुसांस्कृतिक बहुधार्मिक देश हो । सबै जातिको यो मुलुकमा अपनत्व होस् । संविधानले सबैको माग मुद्दालाई स्वीकार गरोस् भनेर देश संघीयतामा प्रवेश गरिरहेको बेलामा सुदूरपश्चिमतर्फ हामीले माग थारुवान राज्यको माग अगाडि सारेर अघि बढेका थियो । त्यही दौरानमा अप्रिय घटना घट्यो । केही राष्ट्रसेवकहरू सहिद हुनुभयो । उहाँहरुप्रति हाम्रो श्रद्धाञ्जली छ । तर, त्यो घटनामा हाम्रा नेताहरू सहभागी हुनुहुन्नथ्यो । रेशम चौधरी त्यो क्षत्रभन्दा बाहिर हुनुहुन्थ्यो,’उनले भने । 

रेशम चौधरी निर्दोष रहेको कुरा जनताले २०७४ को निर्वाचनमा भारी मत दिएर जिताएसँगै प्रमाणित भइसकेको उनको दाबी छ । सरकारले थारू राजबन्दीलाई स–सम्मान रिहाइ गर्नुको सट्टा १० वर्षअघिका मुद्दा उल्टाउन लागिपरेको बताए । राजनीतिक मुद्दामा मुछिएर जेल जीवन बिताइरहेका सबै पार्टीका कार्यकर्तालाई सरकारले तुरुन्त रिहाइ पर्नुपर्न उनको सरकारसँग माग छ । 

‘टीकापुर घट्नाका सम्पूर्ण राजबन्दीसहित र अरु पार्टीका जो–जो राजनीतिक घटनाक्रममा मुछिएर जेल जीवन बिताउन बाध्य हुनुहुन्छ । उहाँहरुलाई सरकारले तुरुन्त रिहाइ गरोस्,’उनले भने । 

नवप्रवेशी तेजबहादुर भुजेलले केही व्यक्तिहरुले राज्यलाई लामो समयदेखि लुटिरहेको आरोप लगाए । देश लुटेको हेर्न नसकेर आफू नागरिक उन्मुक्ति पार्टीको छत्रछाँयाबाट देश परिवर्तनमा योगदान दिन खोजेको उनको भनाइ छ । 

‘२०४६ सालदेखि यो देशलाई मिलीजुली लुटिरहेका छन् । तिनै पार्टीको वरिपरि रहेर फेरिपनि भ्रष्टाचार निर्मूल गर्छु र अपराधीलाई कारबाही गर्छु भन्नु दिवास्वपना हो । यो देशको माटो बोल्ने पार्टी, चुलोचोकोको कुरा गर्ने र सबै नागरिकको भावना बोल्ने पार्टी हामीले राज्यौं,’उनले भने । 

अर्का नवप्रवेशी राजेश्वरदास श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी योद्धाहरूको समूह भएको बताए । नागरिक उन्मुक्ति पार्टी जनताको मनसँग जोडिएको पार्टी भएको उनको दाबी छ । नागरिक उन्मुक्ति पार्टी प्रत्येक ठाउँका जनताको आशाको केन्द्र भएको उनले बताए । 

राजनीतिक थलोबाट बोलेपछि धेरैले सुन्ने र देश र समाजको विकासका मुद्दा उठाउन आफू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेको बताए । जनताले अभिमत दिएका नेताले भागबन्डामा जनताको अभिमतको कदर गर्न नसकेको उनको आरोप छ । 

नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्यसमेत रहेका नवप्रवेशी रमेश महतेले माओवादीले बुर्जुवा शिक्षाको काम छैन भन्दै आफूहरूलाई दिएको तालिम व्यर्थ भएको टिप्पणी गरेका छन् । माओवादी जनयुद्धमा जनमुक्ति सेनाको भूमिकामा रहेका महतेले माओवादी आन्दोलन व्यर्थ भएपछि नागरिक उन्मुक्ति पार्टीमा रहेर तीन करोड नेपालीको मुक्तिका लागि काम गर्न पार्टी प्रवेश गरेको बताए । 

त्यसैगरी, नवप्रवेशी रामदास गोपालीले हाम्रो देशलाई स्विजरल्याण्ड र सिंगापुर बनाउन जरुरी नभएको बताएका छन् । पार्टीहरुको घोषणापत्र र नारा जनताको आँखामा भ्रम छर्नका लागि भएको प्रमाणित भइसकेको उनले बताए । 

संघीय सांसद लालवीर चौधरीले पार्टीले छोटो समयमा नै स्थानीय सरकारदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्न सफल भएको बताए । डिल्लीबजारको कारागारबाट जन्मिएको पार्टीले छोटो समयमा प्रगति गर्नु ठुला दलका नेताहरूलाई च्यालेन्ज मात्रै नभएर सन्देश पनि भएको उनले बताए । 

आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका नेताहरू लाम्पा तमाङ, पासाङ शेर्पा, तेजबहादुर भुजेल, रामदास गोपाली, समिरा तमाङ, कृष्ण भण्डारी, सुरेश, राजेश्वर दास श्रेष्ठ, राजु नापित, सुरेश योञ्जन, इनउ प्रकाश चौधरी, समीर लिङ्देनलगायत नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महते पार्टी प्रवेश गरेका छन् । 

कार्यक्रमको सञ्चालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश अधिकारीले गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप