सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लेखक–निर्देशकलाई सञ्चार मन्त्रीको प्रश्न : विदेशी फिल्म चल्ने, नेपाली फिल्म नचल्ने कारण के हो ?

बुधबार, २५ माघ २०७९, १० : ४५
बुधबार, २५ माघ २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फिल्मका लेखक–निर्देशकलाई विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने किन भनेर प्रश्न गरेकी छिन् । चलचित्र निर्देशक समाजले युएनडिपीसँग मिलेर मंगलबारबाट सुरु गरेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस्’ शीर्षकको दुई दिने कार्यशालाको उद्घाटन गर्दै उनले नेपाली फिल्मको कमजोरी पहिल्याउन अनुरोध गरेकी हुन् ।

‘मैले चलचित्र उति सारो बुझेको छैन । तर प्रशस्त हेरेकी छु । अरूका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ । नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्नुपर्ने हो र मन्त्रालयले के गर्न पर्ने हो ? छलफल गरौँ । तर यो अवस्थाको अन्त्य हुन जरुरी छ,’ उनको भनाइ थियो ।

‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा गीत सङ्गीत र फिल्मको ठुलो योगदान छ,’उनले भनिन्, ‘अहिले जलवायु परिवर्तनका मुद्दालाई जनतासम्म पुर्याउन पनि सिनेमाको माध्यम उपयोगी हुन्छ । अहिले माघमै गर्मी भएको छ , यसको कारण के हो , हामी पर्दामा हेर्न उत्सुक छौँ  ।’

सञ्चार मन्त्री शर्माले कुनै समय आफू पनि भारतीय सिनेमा बन्द गर्ने मोर्चाको अग्र भागमा रहेको स्मरण गर्दै अहिले अरूलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने समय भएकोले नेपाली चलचित्र पनि प्रतिस्पर्धी बन्नुपर्ने धारणा राखेकी छन् ।

बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु भएको सेमिनारमा पहिलो दिन सहभागी लेखक तथा निर्देशकले जलवायु परिवर्तन र यसका असरका सम्बन्धमा जानकारी हासिल गरेका थिए । पहिलो दिन युएनडिपीका प्रतिनिधि दीपक केसीले विश्वमा जलवायु परिवर्तनको अवस्था र नेपालमा यसले पारिरहेको असरका बारेमा प्रस्तुति दिएका थिए । निर्देशक समाजका महासचिव जनक दीप पराजुलीले बुधबार अघिल्लो दिन छलफलमा आएका मुद्दालाई फिल्मका कथा तथा प्रस्तुतिमा समेट्न सहभागी लेखक तथा निर्देशकबाट राय सुझाव लिने कार्यक्रम रहेको बताएका छन् ।

उनले यो पटकको कार्यक्रममा युएनडिपीको निर्देशन अनुसार थोरै सहभागीका लागि मात्र ठाउँ रहेकाले इच्छुक सबैलाई सहभागी गराउन नसकेको तर आगामी दिनमा यही विषयमा वृहत् कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा युएनडिपीकी नेपाली प्रतिनिधि आइसानी लोबे, युएनडीपीकै सञ्चार प्रमुख कमल सिग्देल र वरिष्ठ फिल्मकर्मी नीर शाहले जलवायु परिवर्तनको भयावह अवस्थालाई प्रस्तुत गरेका थिए । सेमिनारमा तीन दर्जन लेखक तथा निर्देशकको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप