शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की, सिरिया : भूकम्पपछि मृत्युलाई पराजित गरेको ‘चमत्कारिक’ घटना

बिहीबार, २६ माघ २०७९, २३ : ३२
बिहीबार, २६ माघ २०७९

turkey५ फेब्रुअरी २०२३ । इरमाक नामकी एउटी बालिका आफ्नो घरको नरम ओछ्यानमा सुतिरहेकी थिइन् । भोलिपल्ट बिहान पनि उनी त्यही ओछ्यानमा भेटिइन् तर उनी सुतेर उठिनन् । इरमाकमाथि छतको निकै गह्रुँगो भाग ढलेको थियो । त्यही छत, जसलाई हेरेर इरमाकले कति मिठा कुराहरू गरेकी थिइन् होलिन् ।

इरमाकको सासले संसार छोडिसकेको छ तर उनको एउटा हात अझै पनि छोडिएको छैन । यो हात इरमाकका पिता मेसुत हंसरले समातिरहेका छन् जो आफ्नो भत्केको घर नजिकै बसेका छन् र आफ्नी छोरीको हात केही गरी पनि छोड्न चाहँदैनन् ।

आँखा र अनुहारमा कुनै भाव बिना नै टर्कीको कहरामनमारस सहरमा मेसूत केही नबोली बसिरहेका छन् । तर उनको तस्बिर हेर्ने अरू मानिस भने भावले भरिन्छन् ।

केही सेकेन्डले हजारौँ मानिसको जीवन खोस्क सक्छ र लाखौँ मानिसलाई शोकाकुल पार्न सक्छ । टर्की, सिरियामा आएको भूकम्प यो कुराको ताजा र दुःखद उदाहरण हो ।

यो दुई देशमा आएको भूकम्पका कारण १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ र हजारौँ घाइते छन् । भूकम्पका कारण अर्बौँको धनमालमा क्षति पुगेको छ ।

भग्नावशेषबाट मानिसहरूलाई निरन्तर बाहिर निकालिने क्रम जारी छ । भग्नावशेषबाट कसैलाई निकालिसकेपछि सबैभन्दा पहिला सास बाँकी छ कि छैन भनेर हेरिन्छ ।

यहाँ हामी यस्ता केही घटनाबारे कुराकानी गर्नेछौँ जसमा घण्टौँ पनि भग्नावशेष भित्र मृत्युलाई हराएर जीवन बाहिर आएका छन् ।

turkey1भग्नावशेषको मुनिबाट निस्कियो नवजात शिशुको जीवन

स्थान– अफ्रिन, उत्तरी सिरियाको एक क्षेत्र ।

विनाशकारी भूकम्प गएको केही घण्टा बितिसकेको छ ।

उद्धार कार्य जारी छ । भग्नावशेषलाई क्रेनले हटाउने काम भइरहेको छ । त्यसपछि कोलाहल मच्चिन्छ । भग्नावशेषबाट एक व्यक्ति केही घण्टा अघि जन्मिएकी एक बालिकालाई बोकेर दौडिरहेका छन् । 

यी नवजात शिशु फेला पर्दा,  आमाको नाभिसँगै  जोडिएको थियो । आमा मरिसकेकी थिइन् तर बच्चा जिउँदै थियो ।

नवजात शिशु जहाँ भेटियो, त्यो उनको घर थियो । त्यही घर जहाँ केही घण्टा अघिसम्म यी बालिका जन्मिने तयारी चलिरहेको थियो । अब यो घरका सबै सदस्य मरिसकेका छन् । उनलाई काखमा खेलाउने परिवारका कोही पनि सदस्य छैनन् । 

यी बालिकाका पिताका काकाका छोरा खलिल अल–सुवादीले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा भने, ‘बालिकाको आमा–बुवाको शव एक–अर्काको नजिकै थियो । हामीले भग्नावशेष हटाइरहेका बेला केही आवाज सुन्यौँ । हामीले थप खन्यौँ । जब हामीले धुलो र भग्नावशेष हटायौँ तब बालिकालाई आमाको गर्भ नालसँग जोडिएको भेट्यौँ । हामीलाई यसलाई अलग गर्‍यौँ । हामीले बालिकालाई बाहिर निकाल्यौँ र अस्पतालमा भर्ना गर्‍यौँ ।’

बालिकाको अस्पतालमा उपचार चलिरहेको छ ।

एएफपी भिडियोमा, एक व्यक्तिले केही शवहरू देखाउँदै भन्छन्, ‘बैजनी कम्बलमा बेरिएको शव बालिकाको काकीको हो । पहेँलो कम्बलले बेरिएको शव बालिकाकी आमाको हो । खैरो कम्बलले बेरिएको शव बालिकाको बुवाको हो ।’

turkey2केही पानीको थोपा जिन्दगीको...

स्थान – टर्कीको हाते ।

एक बालक भग्नावशेषमुनि पुरिएका छन् । आँखा खुलेका छन् । एक जना मानिसले उनलाई बोतलको बिर्कोबाट पानी खुवाइरहेका छन् ।

यी व्यक्ति उद्धार टोलीका सदस्य हुन् ।

बालक विगत ४५ घण्टादेखि यही भग्नावशेषमा फसेको छन् । बालकको नाम मोहम्मद हो ।

उद्धारकर्ताहरू भन्छन्, ‘मोहम्मद । पानी पिऊ, पानी पिऊ । यो पानी पिऊ त ।’ बच्चाले पानी पिउँदा उद्धारकर्ताहरू भन्छन्, ‘स्याबास, धेरै राम्रो..... स्याबास ।’

बच्चाले मुख खोलेर आफ्नो दाँत देखाउँछन् र उनी हाँसेको महसुस हुन्छ । यो दृश्य देखेर उद्धारकर्ताहरूको पनि मुखमा हाँसो आउँछ । उनीहरू भन्छन्, ‘अब धेरै समय लाग्दैन । हिम्मत नहार, मोहम्मद । असाध्यै राम्रो मोहम्मद, आफ्नो मुख खोल ।’

यो बालक सिरियाका हुन् । स्काई न्युजका अनुसार बालकको नाम मोहम्मद अहमद हो र उनी भूकम्पपछि भग्नावशेषमा दबिएका थिए ।

turkey3५० घण्टापछि सुगा निकालियो

स्थान : मालत्या, टर्की ।

जीवन भनेको जीवन हो, चाहे त्यो मानिसको होस् वा पशु – पक्षीको ।

भग्नावशेषबाट मानिस जिउँदै बाहिर निस्कँदा खुसी मनाइँदै छ, यो कुरा पक्षी बाँचेर निस्कँदा पनि लागू भइरहेको छ । 

टर्कीमा एउटा घरपालुवा सुगालाई भग्नावशेषबाट जिउँदै निकालिएको छ । यो सुगा बाहिर निस्कने बित्तिकै ठुलो स्वरले कराउन थाल्यो ।

उद्धारकर्ताहरूले यो सुगालाई बाहिर निकालेर एउटा बक्समा राखे र त्यसपछि सही ठाउँमा लगिदिए ।

turkey4सात तले भवन र ६२ घण्टा

स्थान– टर्कीको अदियामन ।

६ फेब्रुअरी मानिसहरू सुतिरहेका बेला भूकम्प गएको थियो । भूकम्प गएदेखि नै उद्धार कार्य जारी छ ।

भूकम्प गएको करिब ६२ घण्टापछि अर्को एउटा चमत्कार मानिसले देखे ।

सात तले भवनको भग्नावशेषमुनिबाट १२ वर्षीय बालकलाई जिउँदै निकालिएको छ । फोटो एजेन्सी गेटीका अनुसार बच्चाको नाम किहिन आमिर हो ।

turkey5यस्तै अरू केही भिडियो र तस्बिरहरू पनि शेयर भइरहेका छन् ।

सिरियाको नागरिक रक्षा सङ्गठन ह्वाइट हेल्मेटले त्यस्ता धेरै भिडियोहरू सार्वजनिक गरेको छ, जसमा घण्टौँपछि कोही बालक वा ठुलालाई भग्नावशेषबाट बाहिर निकालिँदै छ ।

कोही ४० घण्टासम्म फसेका थिए भने कोही ५० घण्टापछि जिउँदै बाहिर निकालिएका थिए ।

ह्वाइट हेल्मेटले साझा गरेको ट्विट भिडियोमा भनिएको छ, ‘चमत्कार बारम्बार हुन्छन् ।’

यस भिडियोमा सिरियाको इदलिबबाट करम नामका एक बालकलाई भग्नावशेषबाट बाहिर निकालिएको छ । यो बालक भग्नावशेषबाट बाहिर निस्कँदा हाँसेका थिए । 

उद्धारकर्ताहरूले बालकलाई चुम्बन गर्दै खुशीमा अल्लाह–हु–अकबरको नारा लगाएका थिए ।

ह्वाइट हेल्मेटले उनीसँग काम गर्ने एक उद्धारकर्मीको बारेमा जानकारी दिए, ‘केही दिन अघिसम्म, जीवन बचाएका हाम्रा एक सहकर्मीले आफ्नो ज्यान गुमाएका छन् ।’

यस भिडियोमा मानिसहरू आफ्ना सहकर्मीको शव बाहिर निकालिरहेको देख्न सकिन्छ ।

turkey6पूरा परिवार जिउँदै निकालिए

स्थान – सिरिया ।

जुन छत मुनी पूरा परिवार ५ फेब्रुअरीमा सुतेका थिए, त्यो स्थानबाट घण्टौँ पछि पूरा परिवारलाई बाहिर निकालियो ।

यो घटनाको चमत्कारिक र दुर्लभ कुरा यो थियो कि पूरा परिवारलाई जीवितै बाहिर निकालिएको थियो । भिडियोमा उद्धारकर्मीले पहिले बालबालिका, त्यसपछि घरका बूढाबूढीलाई बाहिर निकालेको देख्न सकिन्छ ।

यी मानिसहरूलाई सिधै एम्बुलेन्समा लगिन्छ, त्यसपछि उनीहरूलाई अस्पताल लगिन्छ ।

सिरिया विगत एक दशकदेखि विनाशको सामना गरिरहेको ठाउँ हो । कहिले यो विनाश तथाकथित इस्लामिक राज्यका कारण यो फैलिन्छ भने कहिले शक्तिशाली भूकम्पका कारण ।

सिरियाका कतिपय सहर यस्ता पनि थिए जहाँ भूकम्पपछि घण्टौँसम्म सहयोग गर्ने कोही थिएनन् । केवल चिच्याहट र सहायताको लागि रोइरहेको आवाज सुनिन्थ्यो ।

turkey7भूकम्पले दिदीभाइबीचको मायालाई डगमगाउन सकेन

स्थान – सिरियाको हराम गाउँ ।

घरको छाना, जसलाई हेरेर बालबालिका प्रायः केही न केही सोचिरहन्छन् ।

भूकम्पका कारण सिरिया र टर्कीका धेरै बालबालिकामा त्यही छाना खसेको थियो ।

यस्तै एउटा छानाको मुनी दुई दिदी भाइ दबिए । करिब ३६ घण्टापछि उद्धार टोलीका मानिसहरू यहाँ आइपुग्दा दुवैको अनुहारमा धुलो भरिएको थियो । तर दुवैको आँखा खुला थियो ।

सीएनएनको समाचार अनुसार यी दुई बच्चा दिदी भाइ हुन् । बहिनीले भाइको टाउको समातिरहेकी छिन् ।

उद्धार टोली यहाँ आइपुग्दा मरियम नामकी बालिकाले भनिन्, ‘मलाई यहाँबाट निकाल्नुहोस् । म तिम्रो लागि जे पनि गर्छु । म जीवनभर तिम्रो दास बन्नेछु ।’

तस्बिर र भिडियोबाट यी दुई बालबालिका ओछ्यानमै भएको जस्तो देखिन्छन्, सायद यही ओछ्यानमा उनीहरू अघिल्लो राती सुतेका थिए ।

यी बालिकाको भाइको नाम इलाफ हो । सीएनएनसँग कुरा गर्दै बालिकाका बुबा मुस्तफाले भने कि इलाफ इस्लामिक नाम हो जसको अर्थ सुरक्षा हो ।

मुस्तफाले भने, ‘जब भूकम्प आयो, मेरा तीन छोराछोरी र म सुतिरहेका थियौँ । जमिन हल्लाउन थाल्यो । हामी छानामुनि दबियौँ । हामीले महसुस गरेको कुरा कसैले पनि महसुस गर्नु हुँदैन। मानिसहरूले हाम्रो आवाज सुने र हाम्रो ज्यान बचाए ।’

यो कहानी यति मानिसको मात्रै होइन । टर्की र सिरियामा यो कहानी धेरै जना बाँचिरहेका छन् । कतिपय कथामा मान्छे जिउँदै बाहिर निस्किन्छन्, त्यस्ता कथालाई चमत्कार भनिन्छ र जहाँ मान्छे उम्कन सक्दैनन्, त्यहाँ धेरै कथा, सम्झना र कथाको अन्त्य भएको छ ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप