नागरिक उन्मुक्तिमा पार्टी एकताको प्रसंगले भाँडभैलो
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सङ्घीय लोतकतान्त्रिक राष्ट्रिय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै औपचारिक पत्र पठाएपछि पार्टीमा खैलाबैला भएको छ ।
विचार र मुद्दा मिल्ने पार्टीहरूसँग कार्यगत एकता वा पार्टी एकीकरण गर्न इच्छा वा अवधारणा भए यथाशीघ्र वार्ता गर्न अनुरोध गर्दै एक साता अघि माघ २१ मा पत्र पठाइएको छ ।
पार्टीमा कुनै छलफलै नगरी अध्यक्षबाट कुनै पार्टीसँग एकताका लागि पत्राचार गरिएकोमा स्वेच्छाचारी निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्न वाध्य नहुने बताउँछन् पार्टी नेता सुरेन्द्र चौधरी ।
पार्टीको बिस्तारित केन्द्रीय समितिले सर्वसम्मतले पार्टीहरु सँगको एकीकरण र सहकार्यको जिम्माको सुरेन्द्र चौधरीलाई दिएको थियो । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट दाङ क्षेत्र नं १ बाट संघीय सांसदमा उम्मेदवार रहिसकेका सुरेन्द्र भन्छन्, ‘पार्टी सामूहिक निर्णयले चल्ने हो । पद्धतिले चल्ने हो । कसैको ब्यक्तिगत चाहनाले गरेको निर्णयलाई सबैले अवज्ञा गर्नुपर्छ ।’
आफूलाई एक वचन नसोधी पार्टी एकीकरण प्रक्रिया बढाएपछि रुष्ट रहेका सुरेन्द्र भन्छन्, ‘एकीकरण र सहकार्यको विषय स्वागतयोग्य कुरा हो । यो विषयको लागि आधिकारिक म्यान्डेट बिस्तारित केन्द्रीय समितिको बैठकले मलाई दिएको हो तर म स्वयम् यो विषयमा अनभिज्ञ छु ।’

उनले अगाडि भने, ‘कसैले आफ्नो तरिकाले वार्ता गरेको हो भने त्यो पार्टीलाई मान्य हुँदैन । सबै कुरा विधि पद्धतिअनुसार हुनुपर्छ र हुनेछ पनि । कसैले पद्धति मिचेको कामलाई केन्द्रीय समितिले अनुमोदन गर्दैन ।’ सङ्घीय लोतकतान्त्रिक राष्ट्रिय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको लागि लेखिएको पत्र डिल्लीवजार कारागारमा बन्दी जीवन बिताइ रहेका नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीको हस्तलिखित पत्र हो ।
‘पत्रमा गरिएको हस्ताक्षर पनि रेशमजीले नै गरेको जस्तो देखिन्छ ।’ नागरिक उन्मुक्तिका एक वरिष्ठ अधिकारी भन्छन्,‘पार्टी अध्यक्ष रन्जिता चौधरीलाई नै धेरै कुरा थाहा हुन्न । डिल्लीबजारबाटै धेरै कुरा सर्कुलर हुन्छ ।’ सुरेन्द्र भन्छन्, ‘जनमत जस्तो पार्टीसँग एकीकरणको कुराले केही माने राख्ला । तर सङ्घीय लोतकतान्त्रिक राष्ट्रिय मञ्च, जसले समानुपातिकमा १० हजार मत पनि कटाउन सकेन, त्यस्तो पार्टीसँग एकताको कुनै तुक छैन ।’
स्मरण रहोस्, नागरिक उन्मुक्तिले टीकापुरमा २०८० वैशाख ४ देखि ६ सम्म पार्टीको पहिलो महाधिवेशन गर्ने मिति उद्घोष गरिसकेको छ । महाधिवेशनको मिति तय पनि कुनै सरसल्लाह नगरी तोकिएकोमा त्यसैबेला पनि नेता सुरेन्द्र चौधरीले असन्तुष्टि जनाएका थिए ।
नागरिक उन्मुक्तिका एक वरिष्ठ अधिकारी भन्छन्,‘उपेन्द्र यादवझैं पार्टीको महाधिवेशन नै नगरी कुनै पार्टीसँग मर्ज गरी एकल रुपमा पार्टी हाँक्ने मनसुवा रेशम चौधरीज्यूकोमा देखिन थाल्यो । सङ्घीय लोतकतान्त्रिक राष्ट्रिय मञ्चलाई एकताको पत्राचार पनि त्यही उदाहरणको कडी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण