बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला प्रशासनले आफ्नै सुविधायुक्त भवनबाट सेवा दिने

बिहीबार, ०४ फागुन २०७९, ०७ : १४
बिहीबार, ०४ फागुन २०७९

जुम्ला । जुम्ला प्रशासन कार्यालयले आफ्नै सुविधायुक्त भवन बाट सेवा प्रवाह गर्ने भएको छ। वर्षौँपछि जिल्ला प्रशासन कार्यालय जुम्ला आफ्नै सुविधायुक्त नयाँ भवनमा सरेको हो । 

विधिवत् पूजापाठ गरी निर्माण सम्पन्न सुविधायुक्त भवनमा बुधबारदेखि सरेको  प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए। पहिले द्वन्द्व कालपछि निर्माण भएको पुरानो भवनबाट जसोतसो सेवा प्रवाह गरिएको थियो। बुधवारदेखि कार्यालय विधिवत् रूपमा सरे पनि नयाँ भवनबाट औपचारिक सेवा केही दिनमा प्रवाह गरिने छ । 

दैनिक सयौँ नागरिकको भिड हुने प्रशासन कार्यालय अब नयाँ भवनबाट सञ्चालन हुने छ । अब नागरिकले छिटो छरितो र सहज रूपमा सेवा पाउने छन् । भने विभिन्न फाँटका अभिलेखहरू सुरक्षित व्यवस्थित ढङ्गले राख्न सहयोग पुग्ने छ । दैनिक सयौँ नागरिकको भिड हुने जिल्ला प्रशासन कार्यालय जुम्ला दशकौँदेखि साँघुरो भवनबाट सेवा दिन बाध्य थियो । 

नयाँ भवनमा फराकिलो फाँटका कोठादेखि सभा हल समेत रहेको छ । सबै तलमा मैत्रीपूर्ण शौचालय छन् । केही दिनमा व्यवस्थापन गर्न लाग्ने भएको छ । २०७४ सालबाट निर्माण सुरु भएको दुई तले २४ कोठे प्रशासनको सुविधायुक्त भवन सम्झौता भन्दा करिब १० महिना अघि नै निर्माण कम्पनीले काम सकेर बुधबार हस्तान्तरण गरिएको हो।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख प्रदीप कुमार सिंहले लागत अनुमान ९ करोड १६ लाख भए पनि सम्झौता रकम ७ करोड ६९ लाख १६ हजारमा सुविधायुक्त भवन निर्माण भएको बताए। ‘च्याङमिल एडी जेभी’ निर्माण कम्पनीले सम्झौता भन्दा १० महिना अघि नै गत भदौ ३० गते निर्माण सम्पन्न गरेको हो । आयोजनाको सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत प्रशासनको भवन बनेको हो ।

२०७४ साउन १० गते सम्झौता भई ०८० असार मसान्तमा सकिनुपर्ने सम्झौता भएको थियो । यद्यपि कोरोना कहरका बीचपनि निर्माण कार्य गति दिँदा निर्धारित समय अगावै काम सम्पन्न भएको ठेकेदार भीम थापाले बताए। समयै अगावै सकेर हस्तान्तरण गर्दा खुसी भएको उनको भनाइ छ । नयाँ सुविधायुक्त भवनमा जिल्ला प्रशासन सरेसँगै छिटो छरितो र सहज रूपमा सेवा पाउने जुम्ली नागरिक आशावादी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप