शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकी नदीको कटानले रानीमहल जोखिममा

बिहीबार, ०४ फागुन २०७९, ११ : ५३
बिहीबार, ०४ फागुन २०७९

रुपन्देही । विक्रम संवत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक पाल्पाको रानीमहल दरबार पर्यटकको मुख्य रोजाइ बन्ने गरेको छ । पाल्पा गौँडाका तत्कालीन जनरल खड्ग शमशेरले दिवङ्गत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानीमहल दरबार बेलायती इन्जिनियरले डिजाइन गरेका हुन्, जो निकै कलात्मक छ ।

तर यसको अस्तित्व संकटमा पनि पर्दै गएको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको रानीमहल पहिरो र कालीगण्डकी नदीको बेग (बहाव) का कारण उच्च जोखिममा परेको छ । पाल्पाको तानसेन नगरपालिका–१३ बगनासकाली गाउँपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरबार हो । जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा आकर्षक चारतले दरबार बनाउन लगाएका थिए ।

सोही कारण रानीमहललाई प्रेमको प्रतीक मानिन्छ । तर यो महत्त्वपूर्ण सम्पदा सम्भावित प्राकृतिक विपत्तिको उच्च जोखिममा छ । रानीमहलको केही माथिबाट कालीगण्डकी कोरिडोर सडक निर्माणाधीन छ । सोही सडक निर्माणका क्रममा जथाभाबी डोजर प्रयोगले वर्षायाममा ठाउंँठाउँंमा पहिरो झर्ने गर्छ । पहिरोले रानीमहल दरबार आसपासका भौतिक संरचनामा क्षति पुराइरहेको स्थानीय बताउँछन् । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ पनि रानीमहल उच्च जोखिममा रहेको स्वीकार गर्छन् ।

‘पहिरो र नदीको बेगले रानीमहल एकदमै जोखिममा छ’–श्रेष्ठले भने–‘नगरपालिकाको वजेटले पुग्दैन, यसको सुरक्षा र दिगो संरक्षणमा केन्द्र र प्रदेश सरकारको चासो र लगानी दुवै हुनुपर्‍यो ।’

रानीमहल दरबार तानसेन नगरपालिकामा र आंगन लगायत खाली क्षेत्र बगनासकाली गाउँपालिकामा रहेको हुँदा दुई पालिकाबिच रानीमहलको एकीकृत विकासमा बेला बेला समस्या समेत आउने गरेको छ । पार्किङ शुल्क र विभिन्न व्यवसाय सञ्चालन गर्न दिएर बगनासकालीले आम्दानी गर्ने गरेको छ ।

रानीमहललाई देशकै महत्त्वपूर्ण पर्यटकीय बनाउन सकिने आधारसहित ७ करोड रुपैयाँ बराबरको डीपीआर संघीय सरकारमा बुझाएको नगर प्रमुख श्रेष्ठले बताए । 

पर्यटन व्यवसायी रचना पन्त रानीमहल जोखिममा रहेकाले यसको दिगो संरक्षणमा तीन वटै तहका सरकारको ध्यान जानुपर्ने बत्ताउँछिन् । ‘रानीमहललाई जोगाउन र ब्राण्डिङ गर्न सके विदेशी पर्यटक आकर्षित गरेर राम्रो लाभ लिन सकिन्छ, त्यसैले यसको संरक्षण पहिलो सर्त हो ।’

खास गरी प्रेमको प्रतीकका रूपमा रहेको यो महल हेर्न मुख्यतः प्रेम दिवसको दिन पर्यटकको निकै भीड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रेम दिवस (१४ फेब्रुअरी) का दिन यहाँ अत्यधिक पर्यटक पुग्ने गर्दछन् । अन्य दिन पनि यहाँ पर्यटकहरू घुम्न जाने गरेका हुन्छन् ।

रानीमहलभित्र पोखरी, मन्दिर, बगैँचा आदि छन् । कालीगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानीमहललाई तानसेन नगरपालिकाले सङ्ग्रहालय बनाएर संरक्षण गरेको छ । तानसेनबाट पैदल हिँडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानीमहल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रूपमा परिचित छ । चिसो मौसम, स्वच्छ वातावरण रहेको रानीमहल नजिकै खाना तथा बास बस्नका लागि होटेल तथा रेष्टुराहरु पनि सञ्चालित छन् । यसको संरक्षणको लागि स्थानीय सरकारहरूले पहल गर्नुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप