शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२ विवाह, १ अफेयर, सन्तान थिएनन् : अन्तिम समयमा जीवन गुजार्न पैसा थिएन, मृत्यु भएको तीन दिनसम्म शव सडिरह्यो

शनिबार, ०६ फागुन २०७९, १० : ३८
शनिबार, ०६ फागुन २०७९

दिन – २२ डिसेम्बर २०१० ।  स्थान –  चेम्बुर । त्यही दिन काजोलकी हजुरआमा शोभना समर्थकी बहिनी अभिनेत्री नलिनी जयवंतको निधन भयो । शव ३ दिनसम्म घरभित्रै सडिरह्यो । छिमेकीलाई पनि यसबारे जानकारी थिएन । मृत्यु भएको तीन दिनपछि एक युवकले आफूलाई नलिनी जयवंतको आफन्त भएको भन्दै एम्बुलेन्स ल्याएर शव लिएर गए ।

आफ्नो जीवनको अन्त्यमा, उनीसँग कोही थिएन । उनको अवस्था यति नाजुक थियो कि जीवन गुजारा गर्न पैसा थिएन । कुराकानीमा छिमेकीले उनी नितान्त एक्लै बस्ने गरेको बताए । उनको मृत्युपछि प्रहरीले कुनै कारबाही गरेन र उनको घरमा कोही गएनन् । उनको मृत्युपछि नै घरमा ताला लगाइएको थियो ।

छिमेकीका अनुसार थुप्रै वर्ष अघि उनीहरू नलिनीको घरमा जाने गर्दथे तर उनको श्रीमानको मृत्यु भएपछि उनी मानिसबाट टाढिइन् । उनका श्रीमानको मृत्यु पछि सायदै कोही उनलाई भेट्न आएको छिमेकीले बताए । मृत्यु हुनु केही दिन अघि उनले नलिनीको खुट्टाको घाउ देखेको एक छिमेकीले बताइन् ।

तर प्रश्न यो थियो कि उनको मृत्यु कसरी भयो, उनको शव लिने व्यक्ति को थिए ? यो मृत्यु शङ्कास्पद भए पनि प्रहरीमा उजुरी नपरेको कुरा पनि याद गर्नुपर्ने खालको छ । ५० को दशककी चर्चित अभिनेत्रीको यसरी निधनले सबै स्तब्ध भएका थिए । जयवंको एक्कासि प्रस्थानबाट भतिजी अभिनेत्री तनुजा नलिनी स्तब्ध थिइन् ।

झन्डै दुई दशक लामो करियरमा नलिनी जयवंतले ६० चलचित्रमा साना–ठुला भूमिका निर्वाह गरिन् । व्यक्तिगत जीवन पनि सङ्घर्षले भरिएको थियो । उनका बुबा फिल्ममा काम गर्ने विरुद्धमा थिए तर पछि राजी भए । दुई पटक बिहे गरिन् तर सन्तान भएनन् । सन् २००१ मा आफ्नो दोस्रो श्रीमानको मृत्युपछि उनले आफूलाई बाहिरी संसारबाट अलग गरिन् ।

आउनुहोस्, नलिनी जयवंतको जन्म जयन्तीको अवसरमा उनको जीवनसँग सम्बन्धित केही यस्ता किस्साबारे जानकारी लिऔँ । 

naliniबाल्यकालमा नृत्य र सङ्गीतको तालिम लिएकी थिइन्

नलिनी जयवंतको जन्म १८ फेब्रुअरी १९२६ मा मुम्बईको एक मराठी परिवारमा भएको थियो । उनका बुबा भन्सार अधिकृत थिए र आमा गृहिणी थिइन् । उनका दुई दाजुभाइ पनि थिए । नलिनीलाई बाल्यकालदेखि नै नाच्न मन लाग्थ्यो, उनका बुवाले पनि उनको यो शौकलाई साथ दिन्थे । उनले हिराबाई जावेरीबाट शास्त्रीय सङ्गीतको तालिम पनि लिइन् । उनी काजोलकी हजुरआमा शोभना समर्थकी मामाकी छोरी थिइन् ।

naliniबुबा फिल्ममा काम गर्ने विरुद्ध थिए

नलिनीलाई पनि फिल्म मन पर्थ्यो । उनको घर नजिकै स्वस्तिक नामको सिनेमा हल थियो, जहाँ उनी धेरै पटक चलचित्र हेर्न जान्थिन् । उनी फिल्ममा काम गर्न चाहन्थिन् । कारण दुइटा थियो, पहिलो त उनकी दिदी शोभना पनि फिल्ममा थिइन् र दोस्रो, उनी आफैँ पनि फिल्ममा धेरै संलग्न थिइन्, त्यसैले उनी यही क्षेत्रमा करियर बनाउन चाहन्थिन् ।

यद्यपि उनले यो इच्छा आफ्नो परिवारका सदस्यहरूलाई कहिल्यै बताइनन् किनभने उनका बुबा फिल्ममा काम गर्न हुँदैन भन्ने पक्षका थिए । उनी आफ्नी भान्जी शोभना समर्थलाई पनि फिल्म लाइनमा काम गरेका कारण मन पराउँदैनथे । धेरै पटक उनले शोभनालाई कुट्ने धम्की समेत दिएका थिए । उनको यस्तै व्यवहारका कारण शोभनाकी आमाले उनीसँग सबै सम्बन्ध तोडेर छुट्टै बस्न थालेकी थिइन् । 

nalini1शोभनाको जन्मदिनमा पहिलो फिल्मको अफर आयो

किस्सा त्यो दिनको हो, जब नलिनी शोभनाको जन्मदिनमा फुपूको घर गएकी थिइन् । पार्टीको क्रममा चलचित्र निर्माता चिमणलाल देसाईले १४ वर्षीया नलिनीलाई देखे । त्यति बेला उनी आफ्नो आगामी फिल्म राधिकाका लागि मुख्य अभिनेत्रीको खोजीमा थिए । नलिनीलाई देख्ने बित्तिकै उनले उनलाई चलचित्रको मुख्य अभिनेत्रीको रूपमा कास्ट गर्ने निर्णय लिए ।

जब नलिनीका बुबालाई यो कुरा थाहा भयो, उनले स्पष्ट रूपमा अस्वीकार गरे, तर चिमनलालले समय परिवर्तन भइसकेको र फिल्ममा काम गर्नु गलत होइन भनेर धेरै सम्झाए । अन्ततः बुबाले नलिनीलाई फिल्ममा अभिनय गर्न अनुमति दिए । यसपछि उनले सन् १९४१ मा रिलिज भएको फिल्म राधिकाबाट आफ्नो फिल्मी करियर सुरु गरिन् ।

अभिनयसँगै चलचित्रमा गीत पनि गाइन्

अभिनयसँगै उनले फिल्म राधिकामा केही गीत पनि गाइन् । उनले तीन वटा एकल र चार गीत हरीश, नूरजहाँ र मारुति रावसँग गाइन् । दोस्रो फिल्म बहनमा उनले ४ गीत गाएकी थिइन् । त्यसपछि उनले धेरै फिल्ममा अभिनयसँगै गीत पनि गाइन् ।

nalini2परिवारको सहमति बिना विवाह

नलिनीको डेब्यू फिल्मका निर्देशक चिमनलालका छोरा वीरेन्द्र देसाई थिए । फिल्मको सुटिङका क्रममा दुवै साथी बने र उनीहरू प्रेममा परे । वीरेन्द्र विवाहित थिए, एक बच्चाका बुबा र नलिनी भन्दा धेरै जेठा । तर पनि दुवैले सन् १९४५ मा विवाह गरे । दुवैका परिवारले यो विवाहको विरोध गरेका थिए । वीरेन्द्रलाई उनका बुवाले घरबाट समेत निकालिदिए । 

घरबाट निकालिएपछि काम पाउन बन्द भयो

घरबाट निकालिएपछि नलिनी र वीरेन्द्रले फिल्मिस्तान स्टुडियोमा मासिक २ हजार तलबमा काम गर्न थाले । र नजिकैको मलाडमा एउटा बङ्गला पनि भाडामा लिए । तर लामो समयसम्म दुवैले कुनै पनि चलचित्रमा काम पाएनन् । यद्यपि स्टुडियोका मालिक शशधर मुखर्जीले उनलाई तलब भने दिने गर्थे ।

nalini3विवाहको ३ वर्षपछि सम्बन्ध विच्छेद 

नलिनीले चलचित्र नपाउनुको कारण यो पनि थियो कि उनले शशधर मुखर्जीको अगाडि श्रीमानले निर्देशन गर्ने चलचित्रमा काम गर्ने सर्त राखेकी थिइन् । उनको यो मागबाट शशधर मुखर्जी पनि रिसाए । लामो समय फिल्मी पर्दामा नआएपछि दर्शकले उनलाई बिर्सन थालेका थिए ।

यसको नकारात्मक असर उनको र वीरेन्द्रको वैवाहिक जीवनमा पनि पर्न थाल्यो । उनीहरुबीच दैनिक झगडा भइरहन्थ्यो जसका कारण विवाहको तीन वर्षपछि नै यी दुईको सम्बन्ध विच्छेद भयो । यो तीन वर्षमा नलिनीको एउटा मात्रै फिल्म ‘फिर भी अपना है’ रिलिज भएको थियो । 

श्रीमानबाट छुट्टिएपछि करियर पुनः ट्र्याकमा

सम्बन्ध विच्छेदपछि मात्रै नलिनीको करियर ट्र्याकमा फर्कियो । सन् १९४८ मा उनका दुई फिल्म अनोखा प्यार र गुंजन मात्र रिलिज भए । उनी ‘अनोखा प्यार’ मा दिलीप कुमारसँग देखिएकी थिइन् । फिल्ममा दुवैको अभिनयलाई दर्शकले रुचाए ।

अशोक कुमारसँग अफेयर

नलिनीले अशोक कुमारसँग धेरै फिल्ममा काम गरेकी थिइन् । दुवैको जोडीलाई फ्यानले पनि मन पराएका थिए । कतिपय मिडियाले उनको अशोक कुमारसँग अफेयर रहेको दाबी गरेका थिए । सन् १९५३ मा रिलिज भएको फिल्म समाधिको सुटिङका क्रममा यी दुई एक अर्काको नजिक आएका थिए । यी दुई सँगै भएको यो पहिलो फिल्म थियो । तर, ७ वर्षपछि नलिनी केही कारणले अशोक कुमारसँग अलग भइन् ।

बोल्ड फोटो सुट पनि गराएकी थिइन्

४० र ५० को दशकमा नलिनीले त्यस युगको सबैभन्दा सुन्दर अभिनेत्री मधुबालासँग प्रतिस्पर्धा गर्थिन् । सन् १९५२ मा, फिल्म फेयर पत्रिकाद्वारा एक सर्वेक्षण आयोजना गरिएको थियो, जसमा नलिनी जयवंत, सर्वाधिक सुन्दर नायिका भन्दै शीर्ष स्थानमा थिइन् ।  सन् १९५१ मा उनले एउटा म्यागजिनको लागि बोल्ड फोटो सुट गराएकी थिइन् । त्यति बेला उनको यो फोटो सुट चर्चामा आएको थियो ।

nalini4अभिनेता प्रभुदयालसँग दोस्रो विवाह गरिन् 

चलचित्र मुनिमजीमा नलिनी र अभिनेता प्रभुदयाल मुख्य भूमिकामा थिए । फिल्मको सुटिङका क्रममा दुवैले एक अर्कालाई मन पराए । त्यसपछि दोस्रो फिल्म ‘अमर रहे’ को सुटिङका क्रममा उनीहरुले विवाह गरेका थिए । नलिनी सन् १९६५ मा फिल्म बम्बे रेसकोर्स पछि फिल्ममा देखिइनन् । कारण यो थियो कि पछि उनलाई फिल्ममा मुख्य भूमिकाको अफर आएन, जसका कारण उनी फिल्मबाट टाढै बसिन् ।

यद्यपि, १८ वर्षपछि उनी फिल्म नास्तिकमा देखिएकी थिइन् । यस फिल्ममा उनी अमिताभ बच्चनकी आमाको भूमिकामा देखिएकी थिइन् । तर त्यसपछि उनले चलचित्रमा काम गर्न छाडिन् ।

श्रीमानको मृत्युपछि सबैबाट टाढिइन्

नलिनीका श्रीमानको सन् २००१ मा निधन भएको थियो, जसका कारण उनी पूर्णरुपमा टुटेकी थिइन् । त्यसपछि उनी बाहिर निस्कन छोडिन् । नलिनीले चेम्बुरको युनियन पार्कमा रहेको घरमा एक्लो जीवन बिताएकी थिइन् । उनका आफन्त पनि लामो समयदेखि सम्पर्कमा थिएनन् । जसका कारण उनको शव ३ दिनसम्म घरमै कुहिएको कसैलाई थाहा भएन ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप