शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मदर इन्डियाको सेटमा आगलागीबाट सुरु भएको थियो नरगिस र सुनील दत्तको प्रेम कहानी

शुक्रबार, ०६ साउन २०७९, १५ : २२
शुक्रबार, ०६ साउन २०७९

सन् १९५५ मा मद्रासको एभिएम स्टुडियोमा राज कपुर र नर्गिस फिल्म चोरी चोरीको सुटिङ गरिरहेका थिए ।

त्यति बेलासम्म राज कपुरले अर्की अभिनेत्री पद्मिनीमा चासो लिन थालेका थिए, जो त्यहि स्टुडियोमा फरक सेटमा आफ्नो फिल्मको सुटिङ गरिरहेकी थिइन् । पद्मिनीको विषयमा  राज कपुर र नरगिसबीच झगडा सुरु भएको थियो ।

लगभग त्यति नै बेला नरगिसले निर्णय गरिन् कि अब धेरै भइसक्यो ।  उनले महबूब खानको नयाँ फिल्म मदर इन्डियामा काम गर्ने निर्णय गरिन् ।

वर्षौंअघि नर्गिसले महबूबकै फिल्मबाट आफ्नो करियर सुरु गरेकी थिइन् र त्यतिबेला  महबूब हिन्दी फिल्म उद्योगमा निकै चर्चित भइसकेका थिए ।

यो भूमिकाबाट नरगिसले सारा संसारलाई देखाउन चाहन्थिन् कि उनी राज कपुरको क्याम्पबाट बाहिर आएकी छिन् ।

मदर इन्डिया भन्दा पहिले सन् १९४० मा महबूबले यसै विषयमा ‘औरत’ नामको फिल्म बनाएका थिए ।

टीजीएस जर्ज, नर्गिसको जीवनी ‘द लाइफ एन्ड टाइम्स अफ नर्गिस’ मा लेख्छन्, ‘महबूबले मदर इन्डियाको प्रेरणा सन् १९३७ मा बनेको एमजीएमको फिल्म ‘द गुड अर्थ’ बाट पाएका थिए ।’

यसकी लेखिका पर्ल एस बकले चिनियाँ किसान परिवारको चित्रण गर्दै यस फिल्ममा निस्वार्थ आमाको पीडा र दुःखलाई अद्भुत संवेदनशीलताका साथ चित्रण गरेका थिए ।

फिल्म हेरेपछि महबूब खान हजारौं दर्शक जस्तै रोए, यो फिल्म चीनमा जस्तै भारतमा पनि सान्दर्भिक हुनेछ भन्ने कुरालाई उनले तुरुन्तै महसुस गरे ।

उनका सहायक बाबुभाइ मेहताले पनि म्याक्सिम गोर्कीको उपन्यास ‘मदर’ बाट प्रेरणा लिएका थिए ।

पर्ल बक र गोर्कीको कथाहरू र गुजरातमा उनका अनुभवलाई मिश्रण गर्दै, महबूबले फिल्म औरत बनाए, जसले पहिलो पटक सिनेमाको पर्दामा भारतीय नारीत्वको प्रामाणिक चित्रण देखाएको थियो ।

दिलीप कुमारले मदर इन्डियामा नायकको भूमिका निभाउन लागेका थिए

नर्गिसले राज कपुरसँग अलग भएपछि पहिलो फिल्म मदर इन्डिया साइन गरेकी थिइन् ।

महबूबले दिलीप कुमारलाई नायकको रूपमा साइन गरे । नर्गिसले दिलीप कुमारसँग फिल्म गरून् भन्ने राज कपुरले कहिल्यै चाहेनन् ।

महबूबको योजना सफल भएको भए उनले न त  सुनील दत्तलाई साइन गर्ने थिए न  उनी नरगिसको जीवनमा आउने थिए ।

महबूबसँगको परामर्शमा, दिलीप कुमारले फिल्ममा नरगिसको छोराको भूमिकालाई पुनस् लेख्न र फिल्ममा दोहोरो भूमिका गर्न सुझाव दिए, पहिलो भागमा नरगिसको पति र दोस्रो भागमा उनको छोराको ।

महबूबले यो सुझावलाई स्वीकार गरे र त्यही अनुसार उनले कथामा परिवर्तन गर्न थाले । यस भूमिकाका लागि आवश्यक विशेष विग बनाउन दिलिप पनि लन्डन गए ।

तर दिलीपको अनुपस्थितिमा, महबूबका लेखकहरूले आफ्नो विचार परिवर्तन गरे ।

उनले महबूबलाई मूल कथामा फेरि काम गर्न राजी बनाए । लण्डनबाट फर्किएपछि जब दिलीप कुमारलाई यसबारे थाहा भयो, उनले फिल्म छोड्ने निर्णय गरे ।

नर्गिसले आफ्नो करियरकै उत्कृष्ट अभिनय गरिन्

यो फिल्ममा नरगिसले आफ्नो जीवनकै उत्कृष्ट अभिनय गरेकी छिन् । यो चलचित्रमा एक महिलाको एक युवा श्रीमतीदेखि एक बुढी महिला बनेको कहानी बुनियो जसमा रोमान्सका साथै एक महिलाको सहनशीलता र लगनशीलताको कहानी बताइयो जसलाई आफ्नै छोरालाई गोली हान्न हिच्किचाहट भएन ।

टीजीएस जर्ज नर्गिसको जीवनीमा लेख्छन्, ‘नर्गिसले यो भूमिकाबाट भारतभरी मात्रै नभई पूरा विश्वभरी धेरै ख्याति कमाइन् ।’

उनलाई कार्लोभी वारी पुरस्कारद्वारा सम्मानित गरियो ।  जब दिलीप कुमारलाई नरगिसका तीन उत्कृष्ट फिल्महरू कुन हुन् भनेर सोधियो, उनले जवाफ दिए, ‘मदर इन्डिया ।’

उनको दोस्रो उत्कृष्ट फिल्म पनि ‘मदर इन्डिया’ थियो र तेस्रो उत्कृष्ट फिल्म पनि ‘मदर इन्डिया’ थियो । यो फिल्मको एउटा नकारात्मक असर पनि भयो कि यसले नरगिसलाई यसरी टाइपकास्ट गर्यो कि उनले कहिल्यै योभन्दा सानो भूमिकामा अभिनय गर्लिन् र भनेर कल्पनासमेत गरिएन ।

मदर इन्डिया पछि उनको हरेक भूमिका साना नै भए । मदर इण्डिया रिलिज भएको तीस वर्षपछि सन् १९८८ मा सुभाष झाले इन्डियन एक्सप्रेसमा लेखेका थिए, ‘मदर इन्डिया नर्गिसका लागि ठ्याक्कै त्यस्तै थियो जस्तो मार्लन ब्रान्डोका लागि ‘गडफादर’ र जुली एन्ड्रिउजका लागि ‘द साउन्ड अफ म्युजिक’ । यो फिल्ममा नरगिसको भूमिका र फिल्म एक आपसमा यति गाँसिएको थियो कि यी दुईलाई अलग्याउन असम्भव भयो ।’

नर्गिस आफैले मदर इण्डिया गरेपछि आफूलाई अन्य कुनै भूमिका गर्न असम्भव भएको स्वीकार गरेकी छिन् । चाखलाग्दो कुरा के छ भने नरगिसले यो भूमिका गर्दा उनको उमेर २८ वर्ष मात्रै थियो । २८ वर्षको उमेरमा आमाको भूमिका निर्वाह गर्नु साँच्चै साहसको काम थियो ।

महबूबले सुनिल दत्तलाई साइन गराए

महबूब खानलाई मदर इन्डियामा दिलीप कुमारको विकल्प खोज्न निकै संघर्ष गर्नुपरेको थियो ।

अन्तमा, यो भूमिका सुनील दत्तलाई गयो, जो नरगिसभन्दा एक वर्ष कान्छा थिए । सुनिल दत्त एक पटक रेडियो सिलोनमा काम गर्थे र फिल्म स्टारहरूको अन्तरवार्ता लिन्थे । सन् १९५३ मा उनले फिल्म ‘दो बिघा जमीन’ को प्रिमियरमा तुलना गरेका थिए ।

सेतो सूट लगाएका सुनिल दत्तले दर्शकमा बसेका फिल्म स्टारहरूलाई स्टेजमा बोलाएर दुई शब्द बोल्न आग्रह गरेका थिए । ती सेलिब्रिटीमध्ये एक नरगिस थिइन् जसले सेतो साडी र कपालमा चमेलीको फूल लगाएकी थिइन् । यो उनीहरुको पहिलो भेट थियो ।

त्यतिबेला ती दुईमध्ये कसैले पनि पाँच वर्षभित्र उनीहरु एकअर्काको श्रीमान्–श्रीमती बन्नेछन् भनेर कल्पनासमेत गरेका थिएनन् । सुनील दत्तलाई राष्ट्रिय पहिचान त्यतिबेला पाए जब  बीआर चोपडाले उनलाई उनको फिल्म ‘एक ही रास्ता’ मा साइन गराए र त्यति बेला नै पहिलो पटक उनी महबूब खानको नजरमा परे ।

सेटको आगलागी सुनिल दत्त र नरगिसको निकटताको कारण बन्यो

मेहबुबले आफ्ना कलाकारहरू बीचको मित्रतालाई धेरै बढाउन सहयोग गर्दथे किनभने उनीहरुको अभिनयमा सहजता कायम रहोस् ।

उनले धेरैजसो सुटिङ बाहिर नै गर्दथे । यसो गर्दा कलाकारले एक–अर्कासँग समय बिताउन र चिन्न पर्याप्त समय पाउँथे । नरगिसले पनि आफ्ना दुई सह अभिनेता सुनिल दत्त र राजेन्द्र कुमारसँग धेरै नै समय बिताइन् ।

महबूबले फिल्मका सिनेमेटोग्राफर फरदीन इरानीलाई बाढीको सट लिन पठाए, विशेष गरी उत्तर प्रदेशमा, त्यतिबेला बाढी आएको थियो । फिल्मको अधिकांश छायांकन महाराष्ट्र र गुजरातको लोकेशनमा गरिएको थियो । त्यसपछि एउटा यस्तो घटना भयो जसले नरगिसलाई सुनील दत्तसँग निकै नजिक बनायो ।

गुजरातमा मदर इन्डियाको चर्चित आगोको दृश्य छायांकन भइरहेको थियो । त्यसमा परालको एउटा थुप्रोमा आगो लगाउनुपर्ने थियो ता कि त्यहाँ लुकेका सुनिल दत्त बाहिर आउन सकून् ।

 


टीजेएस जर्जले लेखेका छन्, ‘जब नरगिस जलिरहेको परालको थुप्रोका बीच दौडिरहेकी थिइन्, हावाले अचानक आफ्नो दिशा परिवर्तन गर्यो र नरगिस आगोको बीचमा फसिन् ।’

सुनिललाई यसबारे जानकारी हुनेबित्तिकै आगोको बीचमा दौडिदैँ उनी भएठाउँ पुगे र नराम्रोसँग आत्तिएकी नरगिसलाई आगोबाट जोगाएर बाहिर ल्याए ।

यो प्रयासमा सुनिल दत्त पनि जले । सुनिल दत्तको यो भावनाले नरगिसको मनमा उनीप्रति प्रेम जगायो । पछि नरगिसले आफ्नो डायरीमा लेखिन्, ‘अस्पतालमा हामीलाई पेथिडाइन इन्जेक्सन दिइयो, जसले हाम्रो दुखाइ कम भयो र हामीलाई निद्रा लाग्यो । मलाई हेर्न जो आइपुग्थे उनीहरुलाई म ‘सुनिललाई कस्तो छ ?’ भनेर सोध्ने गर्दथे । मलाई थाहा थियो सुनिल म भन्दा बढी बेचैन थिए । २ मार्चमा म उनलाई भेट्न उनको कोठामा गएँ । उनको अनुहार, पेट र हात सबै जलेको थियो र उनलाई धेरै पीडा भइरहेको थियो । म दिनभर उनीसँगै बसेँ । त्यसपछि मैले उनलाई यसरी हेरविचार गर्न थालेँ जस्तो कि उनी मेरो हिस्सा हुन् । केही दिनपछि स्थिति यस्तो आयो कि म उनीबाट एक मिनेट पनि टाढा बस्न चाहन्नँ थिएँ । यी मेरा जीवनका सबैभन्दा खुसीका दिनहरू थिए ।’

नरगिसले सुनील दत्तकी बहिनी रानीको उपचार गराइन्

यसैबीच अर्को घटना घट्यो जसले सुनील दत्त र नरगिसलाई नजिक ल्यायो ।

एक पटक सुटिङको क्रममा नरगिसलाई लाग्यो कि सुनिल दत्त निकै उदास छन् । जब नरगिसले यसको कारण सोधिन् तब सुनिलले उनकी बहिनी रानीलाई टिबी भएको र उनले निकै कठिन जीवनयापन गरिरहेको बताए ।

नरगिस चुपचाप त्यहाँबाट हिँडिन् र सुनील दत्तको फ्ल्याटमा पुगिन् । त्यहाँबाट उनले रानीलाई आफ्नो पारिवारिक चिकित्सककहाँ लगिन् । रानी पूर्णतया निको नभएसम्म उनका बालबच्चालाई पनि आफनो घरमा राखिन् ।

नरगिसको रानीसँग भेटघाट बढ्यो ।

टीजेएस जर्जले लेखेका छन्, ‘एक दिन नरगिस धेरै बेरसम्म रानीसँग बसिन् । रात परेपछि सुनील दत्त नरगिसलाई आफ्नो कारमा मरिन ड्राइभस्थित उनको घरमा छोड्न गए । बाटोमा उनले नरगिसलाई विवाहको प्रस्ताव राखे । त्यसबेला नरगिसले कुनै प्रतिक्रिया दिइनन् । उनले यसबारे रानीसँग कुरा गरिन् । भोलिपल्ट साँझ सुनील दत्तले आफ्नी बहिनी रानी मार्फत् उनको प्रस्तावको जवाफ पाए ।’

‘धेरै वर्षपछि सुनिलले आफ्ना एक पत्रकार साथी पीके रवीन्द्रनाथलाई भने, ‘यदि मेरी आमाले एक मुस्लिम बुहारी स्वीकार गर्न थोरै पनि हिचकिचाउनु भएको भए सायद मैले नरगिसलाई कहिल्यै विवाह गर्दिन थिएँ । तर मेरी आमालाई नर्गिसलाई देख्ने बित्तिकै के थाहा भयो भने उनका छोरी यी युवतीसँग सुखी हुनेछ । उनले हामी दुबैलाई आफ्नो आशीर्वाद दिनुभयो ।’

सुनिल दत्त र नरगिसको विवाह र ट्राफिक जाम

नरगिस र सुनील दत्तको विवाह ११ मार्च सन् १९५८ मा भएको थियो ।

दुवैले सान्ताक्रूजस्थित आर्यसमाज हलमा विवाह गरेका थिए । त्यस दिन पनि एउटा रमाइलो घटना भयो ।

पोपको मुम्बई भ्रमणका कारण ठूलो ट्राफिक जाममा फसेकी नर्गिस विवाह स्थलमा समयमै पुग्न सकेकी थिइनन् ।

नम्रता र प्रिया दत्तले आफ्नो पुस्तक ‘मिस्टर एन्ड मिसेस दत्त मेमोरिज अफ आवर पेरेन्ट्स’ मा लेखेका छन्, ‘सुनिल दत्तले उनको लागि तीन घण्टा पर्खनुभयो । कारमा बसेकी नरगिसले अन्तिम क्ष्णमा कतै धोका त दिइनन् भनेर सुनिलले सोचिरहेका छन् कि भन्ने पिरलो भयो । त्यति बेला मोबाइलको जमाना थिएन । अर्कोतर्फ सुनिल दत्त फोन गर्न गए, त्यही समयमा नरगिस त्यहाँ पुगिन् भने र आफूलाई छोडेर गए कि भन्ने सोच्लिन् कि भन्ने सोचेर आफ्नो ठाउँबाट एक इन्च पनि हल्लिएनन् ।’

‘तर यी दुईको धैर्यताको राम्रो परिणाम आयो जब नरगिस र सुनील दत्तको मध्यरातमा विवाह सम्पन्न भयो ।’ यो एक गोप्य विवाह थियो । केही महिना अघि मात्रै मदर इन्डिया रिलिज भएको थियो र जनताको नजरमा यी दुई आमा(छोरा थिए ।

त्यतिबेला नरगिस भारतीय सिनेमाकी ‘फर्स्ट लेडी’ भइसकेकी थिइन् भने सुनील दत्त बम्बईमा अझै पनि आफ्नो स्थान बनाउन संघर्षरत थिए । त्यसैले धेरै पटक मानिसहरुले सुनिलले उनको पैसा र प्रसिद्धिका कारण विवाह गरे भन्ने टिप्पणी गरे । तर नरगिसमाथि यसको कुनै असर देखिएन । नरगिस आफ्ना श्रीमानका लागि करवा चौथको ब्रत राख्न थालिन्, यद्यपि, उनी मुसलमान थिइन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप