शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
सन्दर्भ : सेना दिवस

नेपाली सैनिक इतिहास : स्थायी सेनासँगै झारा वा अस्थायी सेनाले आर्ज्याको मुलुक

शनिबार, ०६ फागुन २०७९, १८ : ०४
शनिबार, ०६ फागुन २०७९

२००७ सालको क्रान्तिपछि होस्, २०४६ वा २०६२÷६३ को परिवर्तनपछि होस्, राजनीतिक दलहरूका लागि विशेष चासो, चिन्ता र चिन्तनको विषय बन्यो– नेपाली सेना । 

नेपालको अन्तरिम शासन विधान– २००७ को धारा २१ ‘ख’मा भनिएको थियो– ‘माथि दफा दफामा उल्लेख गरिएका कुराहरूलाई बाधा नपर्ने गरी नेपालको जंगी फौजको सर्वोच्च कमान्डर इन चिफको पद श्री ५ महाराजाधिराजमा निहित रहेको छ ।’

प्रजातन्त्रका लागि दिल्ली सम्झौता भएपछि जवाहरलाल नेहरूले इन्डियन सिभिल सर्भिसका अफिसर गोविन्दनारायणलाई त्रिभुवनको सल्लाहकार र सचिव बनाएर पठाएका थिए । उनै गोविन्दनारायणद्वारा बनाइएको ‘इन्टरिम कन्स्टिच्युसन’मा राजालाई बढी अधिकार दिइयो । पछि राजा महेन्द्रले सेनाकै आँट–अडेसमा प्रजातन्त्रलाई निमोठे । बिपी कोइरालाले एक आलेखमा लेखेका छन्– ‘दरबारी फौजको मद्दतबाट राजा महेन्द्रले १५ दिसम्बर १९६० को काण्ड गर्नुभन्दा पहिले नेपालमा राजतन्त्रको आवश्यकताबारे सोचिएको थिएन ।’

सुरुमै नेपाली सेना प्रयोग गरेको भए माओवादी जनयुद्ध निमोठिने विश्लेषण धेरैले गर्छन् । भन्न सकिँदैन, सुरुमै सेनाद्वारा दबाउन खोजिएको भए माओवादी जनयुद्ध अझ सशक्त पनि हुन सक्थ्यो । जनयुद्धको पूर्वाद्धमै नेकपा एमाले (जसले २०५४ को स्थानीय निर्वाचनमा राम्रो नतिजा ल्याएको थियो) सँग माओवादीको टकराब हुन थाल्यो । २०५१ सालमै कम्युनिस्टलाई प्रधानमन्त्री बनाउन हिच्किचाएको दरबारका लागि ‘एमाले–माओवादी टकराब’ कम्युनिस्टलाई भिडाउने र सिध्याउने खेलजस्तै भयो । 

जेहोस्, जनयुद्धको जगमा जनआन्दोलन सफल भयो । त्यसपछि सेनालाई ‘दरबारको फौज’ होइन, समावेशी चरित्रको ‘राष्ट्रिय सेना’ बनाउने बहस सुरु भए । गणतन्त्रपछि नै सेना लगायत सरकारी संयन्त्रलाई समावेशी बनाउने अभ्यास सुरु भएको छ । 

झारा फौज

नेपाली सेनाको इतिहास खोतल्दा, पृथ्वीनारायण शाहले आफ्नो प्रारम्भिक अभियानहरूमा अस्थायी फौज (लडाइँका बेला मात्रै प्रयोग गरिने) लाई बढी संख्यामा प्रयोग गरेका थिए । त्यतिबेला सेनामा १२ देखि ८० वर्षका मानिसलाई सहभागी गराइन्थ्यो ।  

सहायकरथी शिवप्रसाद शर्मा, डा. तुलसीराम वैद्य र डा. त्रिरत्न मानन्धरको सम्पादकत्वमा २०४९ सालमा प्रकाशित पुस्तक ‘नेपालको सैनिक इतिहास’ अनुसार, गोरखाका राजा पृथ्वीपति शाह वि.सं. १६६९–१७१६) कै पाला १२ वर्षभन्दा माथि र ८० वर्षसम्मका मानिसलाई झारा फौजमा सम्मिलित गरेको पाइन्छ । यही उमेर हदबन्दी पृथ्वीनारायणका पाला पनि झारा फौजमा लागू भएको थियो । 

बहादुर शाहको पतनपछि सैनिक संगठनमा नेतृत्वहरूको अभाव खड्किँदै गयो र सेनाको नेतृत्व लिन भारदारहरूका बीचमा शक्ति संघर्ष हुन थाल्यो ।

‘पछि भीमसेन थापाको पालामा ६० वर्ष उँधोकालाई सेनामा प्रवेश गराइएको देखिँदैन । झारा फौजमा सम्मिलित भएका व्यक्तिहरूले आफ्नो उपस्थितिको नाम लेखाउनुपथ्र्यो,’ उपरोक्त पुस्तक (शर्मा, वैद्य र मानन्धर)मा लेखिएको छ, ‘यसरी संकलन गरिएको झारा फौज जुन अभियानको निमित्त संकलन गरिन्थ्यो सो पूर्ण भएपछि विघटित गरिन्थ्यो । पृथ्वीनारायणको नेतृत्वमा नेपाल एकीकरण अभियान विस्तृत रूपमा सञ्चालन भएपछि अत्यधिक मात्रामा झारा फौजको प्रयोग हुन थाल्यो । कतिपयले बिनाज्याला उनीहरूलाई शत्रुको मुखमा हुल्ने काम पृथ्वीनारायणले गर्न लागेछन् भन्ने प्रश्न उठाए । यसपछि सम्भवतः पृथ्वीनारायणले झारामा उठाएका फौजलाई बाली खर्च र राम्रो काम गर्नेहरूलाई सिपाहीमा जागिरे गराएका थिए ।’ 

उपरोक्त पुस्तक अनुसार, एकीकरण अभियानको प्रारम्भिक चरणतिर पृथ्वीनारायणको सैनिक संगठनमा स्थायी सेनाका रूपमा कम्पनीहरू खडा नहुन्जेल कुरुवा फौज नै स्थायी सेना कहलिन्थ्यो । मध्यकालमा राजपरिवार, राजदरबार र राज्यका प्रमुख गौँडा–गौँडामा कायम भएका किल्ला वा गढहरूमा सुरक्षाका निमित्त केही सिपाही तैनाथ राखिन्थ्यो । खटाएको ठाउँमा २४सै घन्टा कुरेर सुरक्षाको काम गर्ने भएकाले तिनीहरूलाई कुरुवा फौज भनिएको थियो । 

326837431_601540231806984_8517272229171011314_n

पृथ्वीनारायणको पालामा सैनिक पदाधिकारी समेत देखिन थालेका थिए । उनको उपदेशमा ‘पाँडे बस्न्यातको जुग बाँधी पाँडेको ढाल बस्न्यातको तरबार गरी नेपालमा चढाइ गरेको’ भन्ने वाक्यांशले सैनिक संगठन अभियानतिर संकेत गर्छ । पाँडे र बस्नेतहरूलाई साथमा लिने कार्य रणबहादुर शाहको पालासम्म रह्यो । 

बहादुर शाहको पतनपछि सैनिक संगठनमा नेतृत्वहरूको अभाव खड्किँदै गयो र सेनाको नेतृत्व लिन भारदारहरूका बीचमा शक्ति संघर्ष हुन थाल्यो । ‘कमान्डर इन् चिफ’ पदसहित भीमसेन थापाको उदयपश्चात् नेपाली सेनाको आधुनिकीकरण भएको पाइन्छ । सैनिक प्रशासनमा पाँडे र बस्न्यातहरूको प्रभाव हटाउन उनले पाश्चात्य शैलीबाट सैनिक संगठन गर्ने क्रममा नयाँ–नयाँ पदहरू सिर्जना गरी यसमा आफ्ना परिवारका सदस्यहरू नियुक्त गर्न थाले । 

पृथ्वीनारायणले सैनिक संगठन अभियानको थालनी गर्दा सैनिक पेसामा लागेका सिपाहीको व्यवस्थापनतिर ध्यान दिएको पाइँदैन ।

सैनिकको बसोबासका लागि उनले विष्णुमतीपारि छाउनी बनाए । छाउनीमा बस्ने सैनिकलाई दर्जा अनुसार आ–आफ्नो कोठा सिँगार्ने सहुलियत समेत दिइएको थियो । यस कार्यलाई विलासिता भनी भारदारबाट भीमसेनको आलोचना भएको थियो ।

प्रकाश ए. राजको पुस्तक ‘इतिहासका चर्चित दरबारीया नारीहरू’ पुस्तक अनुसार, भीमसेन थापाले आफ्ना भाइ नयनसिंह थापाकी १४ वर्षीया छोरी ललितत्रिपुरसुन्दरीको विवाह स्वामी महाराज रणबहादुरसँग गरिदिएका थिए । विवाहको दुई महिनामै रणबहादुरको हत्या भयो । त्यसपछि भतिजीको साथ लिएर अनेक कूटनीति र षड्यन्त्रसहित भीमसेन थापा केही काल सत्ताको केन्द्रमा रहे । 

पृथ्वीनारायणले सैनिक संगठन अभियानको थालनी गर्दा सैनिक पेसामा लागेका सिपाहीको व्यवस्थापनतिर ध्यान दिएको पाइँदैन । काठमाडौं उपत्यका विजय भएपछि आयुधजीवी (योद्धा)का लागि बसोबास गर्न केन्द्रबाट डेराको बन्दोबस्त मिलाइएको थियो । ‘एकीकरणको प्रारम्भिक चरणमा सिपाहीहरूलाई घरपायक पर्ने जग्गा उपलब्ध हुने सहुलियतबाहेक युद्ध क्षेत्रमा हात लागेका नगद जिन्सीबाट थोरबहुत फाइदा हुन्थ्यो । भोटसँगको युद्धमा जंगबहादुरले यस्ता सहुलियतलाई कानुनी अपराधको रूपमा घोषणा गरिदिए । तर प्रारम्भिक चरणमा यस्ता कुनै प्रकारका बन्देज नभएबाट एकीकरण अभियानमा नेपाली सेनाद्वारा अत्यधिक लुटपिट भएको कुरा ऐतिहासिक दस्तावेजबाट पनि थाहा हुन्छ,’ उपरोक्त पुस्तक (शर्मा, वैद्य र मानन्धर)मा उल्लेख छ, ‘बहादुर शाहको दिगर्चा अभियानमा नेपाली सेनाले टासिलुम्पु गुम्बामा अत्यधिक मात्रामा लुटपिट गरेको यथार्थमा चीनसँग सन् १७९२ को युद्ध हुनाले एउटा कारण बन्न गएबाट छर्लगिन्छ ।’

जन सहभागिता 

राज्य विस्तारका क्रममा नेपालले कुमाउ (१८४८), गढवाल (१८५२), देहरादून (१८५३), सिरमौर (१८६३) जित्यो । १८७१ मा इस्ट इन्डिया कम्पनीसँग भएको युद्धमा भने हार बेहोरेसँगै ठूलो भूभाग गुमाउनुर्‍यो । यी सबै लडाइँमा जनताको ठूलो भूमिका, सहयोग र सहभागिता थियो । 

पृथ्वीनारायणले स्थायी र झारा सेना परिचालन गरेकाले राज्य विस्तार अभियानमा कति सेना प्रयोग भए भन्ने यकिन तथ्यांक पाउन सकिँदैन । उपरोक्त पुस्तक (शर्मा, वैद्य र मानन्धर)मा उल्लिखित विदेशी स्रोतका अनुसार, नेपाल–अंग्रेज युद्धपछि झारा फौज एवं अस्थायी फौज खारेज गरिएकाले नेपालको कुल फौज १०,००० मात्रै थियो । नेपालका लागि अंग्रेजी दूत बनेर आएका बेन हडसनले सन् १८३२ मा नेपालको कुल सेना १४,५३० रहेको अनुमान गरेको पाइन्छ । यस्तै, सन् १८४७ मा एक अर्का अंग्रेजी दूतले नेपालको सैनिक संख्या १६ हजार भएको आँकडा अंग्रेज सरकार समक्ष प्रस्तुत गरेका थिए । नेपाली स्रोत अनुसार भने सन् १८६३ मा नेपालको कुल सेना २६,६५९ रहेको उल्लेख छ । यसको तीन वर्षपछिको अर्को आँकडा अनुसार त्यो संख्या घटेर २४,६२३ पुगेको देखिन्छ । चन्द्रशमशेर (१९५८–१९८६) को प्रधानमन्त्रित्वकालमा कुल स्थायी सेना २८,५९७ र मिलिसिया गरी जम्मा ४१,४५७ पुगेको एक विदेशी इतिहासकारले उल्लेख गरेका छन् । 

संसारभरि नै युद्धमा सबैभन्दा बढी पीडित महिला र केटाकेटी हुन्छन् । राज्य बन्नुमा वीरताको गाथासँगै त्यस भूमिका जनताको ठूलो बलिदानी रहेको हुन्छ ।

वि.स. १९१०–१२ को नेपाल–भोट युद्धमा भने आवश्यक परे ५७ हजार ३९० फौज भोट पठाउन तयार पारिएको थियो । यसअघि भएको भोटसँगको युद्धमा ५० हजार सैनिक परिचालन गर्न आवश्यक पर्ने चौँरी, भेडा र खच्चरको व्यवस्था गर्ने आदेश दिइएको थियो । पछि अंग्रेजसँगको युद्धमा कप्तान बलभद्र सिंह कुँवर नालापानीको थुममा बनेको कलंगा दुर्ग (किल्ला)मा ६०० फौज (जसमा महिला र केटाकेटी पनि थिए) लिएर बसेका थिए । यसले देखाउँछ– राज्य विस्तार, भोटसँगको युद्ध र अंग्रेजसँगको युद्धसम्म आउँदा जनताहरू (महिला, केटाकेटी)सम्मको ठूलो भूमिका रह्यो । अस्थायी सेनाका रूपमा उनीहरूले जीवनको आहुति दिए । 

संसारभरि नै युद्धमा सबैभन्दा बढी पीडित महिला र केटाकेटी हुन्छन् । राज्य बन्नुमा वीरताको गाथासँगै त्यस भूमिका जनताको ठूलो बलिदानी रहेको हुन्छ । त्यसैले सबैलाई समेट्ने उद्देश्यले पृथ्वीनारायणले भनेको बुझिन्छ– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो । यो फूलबारीका छोटा–बडा चार जात र ३६ वर्णले यो असल हिन्दूस्थान (नबिटुलिएको हिन्दूहरूको देश) हो आफ्नो कुलको धर्म नछाड्नू ।’

सेनाको इतिहासमा जात

२०२० सालमा प्रकाशित सोमध्वज विष्टको पुस्तक ‘साही सैनिक इतिहास’ अनुसार, गोर्खाली फौजमा चार जातका मात्र मानिस थिए– बाहुन, ठकुरी, खस र मगर । ‘खस जातिको पल्टन बेस हुन्छ सवार खसकै गर्नू’ भन्ने सल्लाह पृथ्वीनारायणलाई मामा उद्योत सेनले दिएका थिए । यद्यपि पृथ्वीनारायणले नुवाकोट हान्न सैन्य संगठनमा विराज थापा मगरलाई प्रधान सेनापति बनाए । विष्ट लेख्छन्, ‘किनभने पैल्हे फौजतर्फका काजी जयन्तराना थिए । नरभूपाल साहको पालामा नुवाकोटमा हार खाँदा जयन्त रानाको काजी पद झिकिएको थियो । यो अपमान सहन नसकी जयन्त राना जयप्रकाश मल्लतर्फ मिल्न गएका थिए । मगरहरू पृथ्वीनारायणसित असन्तुष्ट थिए । मगरहरूको पूरा सहयोग प्राप्त गर्न विराज थापालाई सेनापति बनाइयो, मगरहरू पनि खुसी रहे । फौज संगठन झन् राम्रो भयो ।’

विराज थापाको नेतृत्वमा नुवाकोट आक्रमण गर्न पहिलोपटक मगर फौज गए पनि बीचमा पृथ्वीनारायणले महेश्वर पन्थको नेतृत्वमा अर्को फौज पठाए । बिनासुझबुझ पन्थ नेतृत्वको सेना अगाडि बढ्दा जयप्रकाश मल्लको फौजसित सानो लडाइँमै हार खानुपर्‍यो ।

पृथ्वीनारायणका पाला आक्रमणका लागि ज्योतिषीहरूबाट शुभसाइत निकाल्ने परम्परा पनि थियो । नुवाकोट आक्रमण गर्न इन्द्रजात्राको समय पारी त्रिशूली पार गर्ने साइत निकालियो ।

पृथ्वीनारायणको उपदेश बोल्छ– ‘पट्टीपट्टीमा सिपाही पनि खस, मगर, गुरुङ, ठकुरी यिनै चार जात मात्रै खिचोला (छ्यासमिस) गरी हाल्नू । तरबार पर्दा साह्रो हुन्छ । लोहा च्याप्ने (हतियार भिर्ने) पनि यिनै चार जात मात्रै हुन् ।’

पृथ्वीनारायणले उपरोक्त चार जातलाई छ्यासमिस रूपमा राख्न चाहे पनि नेतृत्वमा पाँडे र बस्न्यातलाई अगाडि सारेका थिए । उनको उपदेश भन्छ, ‘अब पाँडे बस्न्यातको जुग बाँधिदिन्छु, तेरी छोरी शिवराम बस्न्यातको छोरो केहेरसिंह बस्न्यातलाई देऊ भनी मागी बिहे पनि गरिदिएँ ।’ 

पृथ्वीनारायणका पाला आक्रमणका लागि ज्योतिषीहरूबाट शुभसाइत निकाल्ने परम्परा पनि थियो । नुवाकोट आक्रमण गर्न इन्द्रजात्राको समय पारी त्रिशूली पार गर्ने साइत निकालियो । कीर्तिपुरको प्रथम आक्रमणमा शुभ साइत नभएकाले हार बेहोर्नुपरेको ज्योतिषी कुलानन्द ढकालले जाहेर गरेका थिए । अर्का ज्योतिषी बालकृष्णले दिएको साइतमा पृथ्वीनारायणले कीर्तिपुर आक्रमण गरे । यस असफलतामा साइतमा आक्रमण नहुँदा विफल भएको चर्चा पनि चल्यो । राज्यविस्तार अभियानमा भने निरन्तर लडाइँ भएकाले सधैँ शुभ साइत निकाल्न नभ्याइएको हुन सक्छ । 

prithvi-narayan-shah

राणाकालमा युद्धको तयारीकै रूपमा पूजाआजा गर्ने, ग्रहदशा ठीक पार्ने, फौज रवाना गर्न उपयुक्त साइत निकाल्ने गरिन्थ्यो । पहिलो विश्वयुद्ध र द्वितीय विश्वयुद्धमा फौज पठाउनुअघि गुह्येश्वरी, पशुपति, पचली भैरव, महांकाल, भद्रकाली, बाघ भैरव आदि स्थानमा पूजाआजा गरिएको थियो । यसले देखाउँछ– सेनाको इतिहासमा जात, धर्म र आस्थाले पनि महत्त्व र निरन्तरता पाउँदै आयो । 

‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेली’ पुस्तकमा झलक सुवेदी लेख्छन्, ‘गोर्खाली फौजको संगठन गर्दा त्यसको कमान्डमा क्षत्री ठकुरीहरूको बाहुल्य हुनुमा हिन्दू आर्यवादी वा मनुवादी वर्ण व्यवस्था र खसहरूको परम्पराका बीचमा तालमेल मिलाएको पनि हुन सक्ने देखिन्छ । जेहोस् खस क्षत्रीहरूलाई नै लडाकु मान्ने चलन र त्यसलाई स्थापित गर्ने विचारधारा नेपालको एउटा तप्कामा रहिआएको छ ।’ 

राणाकालमा जात मात्रै होइन, जहाँनियाँ शासन नै सुरु भयो । जंगबहादुरले मुलुकी ऐन ल्याएर जात व्यवस्थामा आधारित दण्ड–व्यवस्थासहितको शासन चलाए ।  

अचेल मान्छेहरू ‘पृथ्वीनारायणको उपदेश नै नक्कली तयार गरिएको’ भन्ने आशंका पनि गर्छन् । ठोस प्रमाण नहुँदासम्म कसैको यस्तो आशंकालाई भ्रम मान्नैपर्ने हुन्छ । नेपालको इतिहास केलाउँदा, यथार्थ यही हो– यहाँ जातीय विभेद छ, धार्मिक र भाषिक प्रभुत्वका कारण इतरधार्मिक र भाषिक समुदाय इतिहासदेखि विभेदमा पर्दै आएका छन् । तर, आज नेपाल रहेको यस भूभागमा छोटा–बडा जात व्यवस्था पृथ्वीनारायणले सुरु गरेका होइनन् । उनीअघि नै यस भूगोलमा हिन्दू जातीय अभ्यास हुँदै आएको हो । महत्त्वाकांक्षी पृथ्वीनारायणले त भौगोलिक अवस्था हेरी राज्य विस्तार अभियानलाई अगाडि बढाएका थिए ।DB7SxiFUMAA2hgP

लाहुेर प्रथा

अंग्रेजसँगको युद्धपछि नेपाली युवाहरू लाहुरे हुने परम्परा सुरु हुन थाल्यो । युद्ध रोकिएपछि युद्धसँग अभ्यस्त हुँदै आएका युवाको देशमै व्यवस्थापन हुन सकेन । त्यसमाथि पन्जाबका रणजित सिंहको फौज र अंग्रेज सेनामा भर्ती हुँदा तलब बढी हुन्थ्यो । 

झलक सुवेदीका अनुसार, नेपालको इतिहासमा वीर बलभद्र भनेर चिनिने काजी बलभद्र कु“वर पन्जाबका राजा रणवीर सिंहको सेनामा सेवा समर्पण गर्न गएदेखि लाहुरे हुने प्रचलन प्रारम्भ भएको हो । अर्कोतिर, नेपाल–अंग्रेज युद्धमा झन्डै ४० हजार सैनिकसँग १०–१२ हजार नेपाली सैनिकले मुकाबिला गरेका थिए । तोपको अगाडि होमिने अदम्य साहस भएका नेपाली योद्धासँग अंग्रेजहरू प्रभावित थिए । वीर नेपाली युवालाई भाडामा लिएरै आफ्नो साम्राज्य फैलाउने र कायम राख्ने सपनाका लागि उसले नेपाली युवालाई देख्यो । यता, आफ्नो राज्यमा अंग्रेजले थप दख्खल नदियोस् भन्ने चाहना जंगबहादुरमा थियो । सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दमन गर्न अंग्रेजले नेपालको हात मागे । सो विद्रोह दमन गर्न नौ हजार सेनाको नेतृत्व गर्दै जंगबहादुर आफैँ गएका थिए । यसबापत नेपालले केही भूभाग फिर्ता पाएको थियो ।

पछि नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुने क्रम यति विघ्न बढ्यो, यसलाई रोक्न जंगबहादुरले गाउँगाउँका प्रशासकलाई खबर पठाए– अबदेखि भर्ती हुन जान नदिनू । कोही जान्छ भने उसकी स्वास्नी पोइल गएको खण्डमा उसले जारी पाउने छैन । कसैले पनि ब्रिटिस फौजी लुगा लगाएर नेपालमा घुम्न पाउन छैन ।’ 

Gurkha Army 2

पहिलो विश्वयुद्धमा दुई लाख नेपाली युवा ब्रिटिस भारतीय सेनामा भर्ती भएर लडाइँमा गएका थिए । भर्ती हुनेमा मगर, गुरुङ, राई, लिम्बु, ठकुरी र केही कम संख्यामा क्षत्री थिए । जातभात नमान्ने अंग्रेजहरूले पनि जात अनुसार भर्ती लिन थाल्यो । 

राणा शासनको अन्त्य हुँदा म्यादी र नियमित गरी नेपाली सेनाको संख्या ४० हजार थियो । प्रजातन्त्रको अन्त्यपछि सेनाको जरुरत नभएको ठानी  ९ हजारमा झारियो । २००९ सालमा ३९ वटा पल्टन खारेज भए । ०६३ मा शान्ति सम्झौता हुँदा नेपाली सेनाको संख्या ९५ हजारको हाराहारीमा थियो । 

आज हाम्रो संविधानमै राज्य र राष्ट्रको अवधारणा स्पष्ट पारिएको छ । राज्य बन्न इतिहासमा हाम्रा पुर्खाले अदम्य साहस र योगदान गरेका छन्, अब समावेशी चरित्रको राष्ट्र निर्माणमा हामी अगाडि बढ्नुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप