पुरानो गठबन्धन ब्युँताउन नेताहरू सक्रिय

काठमाडौँ । तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरू सक्रिय भएका छन् । पुरानो गठबन्धनका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
आम निर्वाचनपछि प्रधानमन्त्री चयन गर्ने बेला सो गठबन्धन टुट्न पुगेको थियो । पूर्व सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन तयार नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका थिए । अहिले राष्ट्रपतिको निर्वाचन नजिकिन थालेपछि वर्तमान सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धन निर्माण गर्न नेताहरू सक्रिय देखिएका छन् ।
आइतबार बेलुका ४ बजे प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटेको नेपाल निकट एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाल र यादवले पुरानो गठबन्धन निर्माण गर्ने विषयमा छलफल गरेको ती नेताले बताए ।
नेपाल र यादवले भेटे लगत्तै आइतबार राति नै नेपाली कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।
प्रचण्डसँग कांग्रेस नेताहरूले करिब २ घण्टासम्म भेटेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । कांग्रेस नेताहरूले आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारलाई सघाउन आग्रह गरेपछि प्रचण्डले सकारात्मक जवाफ दिएको कांग्रेस नेताहरूको दाबी छ ।
राष्ट्रपतिका विषयमा प्रचण्डले पार्टी बैठकमा छलफल गरेर आधिकारिक निर्णय गर्ने बताएका छन् । आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन फागुन २५ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
-
भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन
-
विपद् प्रभावित सडक पुनर्निर्माणमा बागमती सरकारको जोडबल