मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाले दुई अध्यादेश पास गर्दै, यस्तो छ तयारी

बुधबार, १० फागुन २०७९, १३ : ५६
बुधबार, १० फागुन २०७९

मकवानपुर । बागमती प्रदेशसभाबाट दुई वटा अध्यादेश पास गर्ने तयारी भएको छ । संसदीय समिति गठनमा सहमति नजुटे पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु अध्यादेश पास गर्न सहमत भएका छन् । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभाको बैठकको कार्यसूची तयार गर्दै संसदबाट अध्यादेश पास गर्ने निर्णय गरेको हो । उक्त निर्णयमा प्रदेशको सत्तारुढ दल र प्रतिपक्ष दलहरुको सहमति छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठकले फागुन १० गते बुधबार र १३ गते शनिबार प्रदेशसभा बैठक संचालन गर्ने र उक्त बैठकमा अध्यादेशका प्रतिस्थापन विधेयक पेस गरेर पास गर्ने निर्णय गरेको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार प्रदेशसभाको २ वटा बैठक संचालन गर्ने निर्णय गरेको छ । प्रदेशसभाको पहिलो बैठकमा सरकारले जारी गरेको कर्मचारी सम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक टेबुल गरिने निर्णय भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

संसदमा प्रतिस्थापन विधेयक टेबुल भएपछि प्रदेशसभाको बैठक केहीबेर स्थगित गरेर पुनः आह्वान गरिने उनले बताए । बुधबार नै बस्ने दोस्रो बैठकमा उक्त अध्यादेशको प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने निर्णय भएको उनले बताए ।

सैद्धान्तिक छलफल भएका २ अध्यादेशका प्रतिस्थापन विधेयकहरु फागुन १३ गते बस्ने प्रदेशसभा बैठकबाट पास गरिने नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले बताए । कर्मचारी सम्बन्धी अध्यादेश पास नगर्दा थुप्रै जटिलता हुने देखिएपछि सो विषयमा संसदका सबै दल एकमत भएको उनले बताए ।

प्रदेशसभा सचिवालयमा प्रदेश निजामती सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय तहको सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक दर्ता भइसकेको छ । प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत पुस १८ गते उक्त अध्यादेश संसदमा पेस गरेका थिए ।

नियमानुसार अध्यादेश संसदमा पेस भएको ६० दिनभित्र पास गरी प्रमाणीकरण भइसक्नु पर्नेछ । जस अनुसार आगामी फागुन १८ गतेभित्र ती अध्यादेश संसदबाट पास गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति छ । प्रदेशसभा बैठक आज बुधबार दिउँसो २ः१० बजे बस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप