राष्ट्रिय परीक्षा बोर्डलाई प्रश्न, ‘एसईई परीक्षा प्रदेशस्तरबाट गर्नुपर्नेमा किन च्यापेर राखेको ?
काठमाडौं । कक्षा १० को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिन्छ । आवेदन फाराम भर्ने सूचना निकाल्नेदेखि लिएर नतिजा प्रकाशन गर्ने सम्मको काम बोर्डले नै गर्दै आएको छ । जबकि कक्षा १० को परीक्षा लिने अधिकार प्रदेशलाई दिइएको छ । यो विषयमा प्रदेश सरकारले विरोध गर्दै आएका छन् । तर, बोर्डले भने ऐनका कारण प्रदेशको अधिकार प्रदेश दिन नसकिरहेको बताएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले ऐनका कारण कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश स्तरमा लैजान नसकिएको बताए । शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले ऐनका कारण एसईई परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्न समस्या भइरहेको बताए ।
प्रदेश तहको अधिकार राष्ट्रिय परीक्षा बोर्डले समातेर किन राखेको भन्ने प्रश्नमा अध्यक्ष शर्माले भने, ‘बोर्डले समातेर राख्न चाहेको छैन । एक वर्ष अगाडि नै राष्ट्रिय परीक्षा बोर्ड नियमावली संशोधन गरेर प्रदेशस्तरमा पनि प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव ज्युको अध्यक्षतामा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेका छौँ । उक्त समितिले समग्र प्रदेशतहको कक्षा १० को परीक्षालाई व्यवस्थापन गर्छ ।’
क्वालिटी कन्ट्रोलको सन्दर्भमा भने प्रश्नपत्र निर्माण गर्ने, परीक्षा सञ्चालन गर्ने र प्रमाणपत्र जारी गर्ने काम बोर्डकै भएको बताए । त्यो अधिकार समेत प्रदेशलाई दिनको लागि ऐनका कारण नसकिने उनको भनाई छ ।
प्रादेशिक तहलाई सर्टिफिकेट दिन अधिकार नभएको अध्यक्ष शर्माले बताए । ‘अहिलेसम्म शिक्षा ऐनले कक्षा १० को सर्टिफिकेट दिने (प्रमाणपत्र जारी गर्न) अधिकार राष्ट्रिय परीक्षा बोर्डलाई मात्रै छ,’ अध्यक्ष शर्माले भने, ‘हामीले त्यो गरेनौँ भने राष्ट्रिय परीक्षा बोर्डलाई नै भोलि प्रश्न आउन सक्छ ।’
संघीय शिक्षा ऐन आउन नसक्दा अहिले पनि शिक्षा ऐन २०२८ अनुसार काम भइरहेको छ । जसले गर्दा संविधानले विद्यालय शिक्षाको अधिकार प्रदेशलाई दिएपनि ऐनका कारण त्यो कार्यान्वयन हुन सकेको छैन । प्रदेश परीक्षा बोर्ड गठन गरेर एसईई पनि प्रदेश स्तरबाटै सञ्चालन गर्नका लागि सरकारले ऐनमार्फत अघि बढ्ने तयारी गरेको छ । तर, अहिलेसम्म सम्भव हुन सकेको छैन ।
बोर्डका अध्यक्ष शर्माले विद्यार्थीको मूल्याङ्कन दुई किसिमले हुने गरेको बताए । एउटा आन्तरिक र अर्को बाह्य । बोर्डले गर्ने मूल्याङ्कन बाह्य भएको र आन्तरिक मूल्याङ्कन सम्बन्धित पालिका, विद्यालय र शिक्षकले गर्ने उनको भनाई छ ।
बोर्डले कक्षा १० को परीक्षाको हकमा सर्टिफिकेट दिने र नतिजा प्रकाशन गर्ने काम मात्र गर्ने गरेको बताए । ‘प्रदेश स्तरमा व्यवस्थापन समिति हुन्छ । हामीले त प्रश्नपत्र निर्माण गर्ने, नतिजा प्रकाशन गर्ने र सर्टिफिकेट दिने काम मात्र गरेका हौं । बाँकी काम त प्रदेशस्तरबाटै हुने गरेको छ ।’ अध्यक्ष शर्माले भने ।
बोर्डले अहिले लेटर ग्रेडिङ प्रणाली अनुसार कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । परीक्षालाई व्यवस्थित र समयानुकूल परिमार्जन गर्दै जाने नीति बोर्डको रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण