आगामी आर्थिक वर्षका लागि १६ खर्ब अठासी अर्बको बजेट सीमा तोकियो
काठमाडौँ । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा रु एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो ।
चालू आर्थिक वर्षका लागि सरकारले रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षामार्फत सरकारले बजेटको आकार रु दुई खर्ब ४४ अर्बले घटाएको छ । सुरुआती विनियोजनको तुलनामा मध्यावधि समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाएर रु १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ ।
अहिले अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरुमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ । “चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिएको सङ्कुचन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिका कारण साँवा–ब्याज भुक्तानीमा पर्नसक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभारसमेतको विश्लेषण गरी राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको छ”, आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तथा आर्थिक वर्ष २०८०र८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ तयार गरी स्वीकृत गरिसकेको जनाएको छ । सो मार्गदर्शन तथा ढाँचा सबै संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालय एवम् प्रदेश सरकारलाई समेत पठाइसकेको आयोगले जनाएको छ ।
मध्यमकालीन खर्चसंरचनाअनुसार सरकारी राजस्व आगामी तीन आर्थिक वर्षमा सरदर १४ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । राजस्व वृद्धिको सोही अनुमानका आधारमा बजेटको आकार पनि अनुमान गरिएको हो । “नेपाल सरकारको कूल स्रोत आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोड, आर्थिक वर्ष २०८१–८२ का लागि रु १८ खर्ब ८० अर्ब २० करोड र आर्थिक वर्ष २०८२–८३ का लागि रु २० खर्ब ८८ अर्ब ९० करोड बराबर रहने प्रारम्भिक अनुमान छ”, आयोगले भनेको छ ।
आयोगका अनुसार आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गर्दा विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । “विषयगत मन्त्रालय वा निकायहरुबाट बढी बजेट माग हुने तर विनियोजित बजेट बाँडफाँट मुताबिक खर्च नहुने अवस्थालाई मनन गरी बजेट प्रणालीको अनुमान योग्यता र विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । आगामी आर्थिक वर्षका लागि खर्च हुने वा खर्च गर्न सकिने कार्यक्रम तथा क्रियाकलापमा मात्र बजेट व्यवस्था गर्नु उपयुक्त हुने विषयलाई मार्गदर्शनमा जोड दिइएको छ”, आयोगको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण