बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री प्रचण्ड

शनिबार, १३ फागुन २०७९, १८ : १५
शनिबार, १३ फागुन २०७९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् ।  शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो संसदका आठ दलबीच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ। यो एक प्रकारले राष्ट्रिय सहमति नै हो।’

उनले नयाँ सरकार गठन भएपछि केही सूचक सकारात्मक देखिएपनि अर्थतन्त्र संकटमुक्त नभएको बताए । प्रधानमन्त्रीले भने, ‘नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त छैन। लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिसकेको छैन ।’ 
उनले पछिल्ला दिन लागेका नारा गम्भीर भएको बताउँदै लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ।’

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग पनि राष्ट्रिय सहमतिको प्रस्ताव गरिएको तर त्यो सम्भव नभएको बताए । उनले भने, ‘मैले राष्ट्रिय सहमतिकै लागि कोसिस गरेँ। हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाई र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन ।’ उनले भने, ‘संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन, यही निष्कर्षका साथ फेरि हामी एकठाउँ उभिएका छौँ। हामी प्राकृतिक कोर्समा फर्किएका छौँ। यो नै मुख्य कुरा हो।’ कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप