शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ

बिहीबार, २५ असार २०८३, १८ : १६
बिहीबार, २५ असार २०८३

सारांश

  • सामाजिक सञ्जाल फेसबुक ह्याक गरी आफन्त र साथीभाइलाई ठगी गर्ने आरोपमा प्रहरीले एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका विवेक सुनारले पीडितको फेसबुक खाता ह्याक गरी आफन्त र साथीभाइ भएको विश्वास दिलाई रकम ठगी गर्ने गरेको आरोप छ।
  • उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितको नामबाट आफन्त र साथीभाइसँग रकम मागेर ठगी गर्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्दै आएका १९ वर्षीय विवेक सुनार रहेका छन्।

ब्यूरोका अनुसार आरोपितले फेसबुक खातामा अनधिकृत पहुँच पुर्‍याई पीडितको पहिचान प्रयोग गर्दै आफन्त तथा साथीभाइ भएको विश्वास दिलाएर रकम माग्ने र ठगी गर्ने गरेको उजुरी परेको थियो।

उक्त उजुरीपछि गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणका आधारमा सुनारलाई असार २४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप