आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

दाङको ‘नेत्रलाल अभागी रंगशाला’ निर्माणका दृष्टिले पनि अभागी

मङ्गलबार, १६ फागुन २०७९, १२ : ०८
मङ्गलबार, १६ फागुन २०७९

दाङ । लुम्बिनी प्रदेशकै नमुना रंगशाला निर्माणको उद्देश्यले दाङमा ‘नेत्रलाल अभागी रंगशाला’ निर्माण प्रक्रिया थालिएको तीन वर्ष भयो । तर निर्माणको गति हेर्दा नामजस्तै उक्त रंगशाला अभागी नै देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ बाट निर्माण सुरु भएको रंगशालाको भौतिक प्रगति निराशाजनक छ । घोराही उपमहानगरपालिका–१६ को करौती डाँडालाई नेत्रलाल अभागी खेलकुद रंगशाला नामकरण गरी पहिलो वर्ष नै ५० लाख रुपैयाँ बजेट छुट्याएर रंगशाला निर्माणको काम थालनी गरियो । तर ५० लाखमा रंगशाला निर्माणका लागि माटो कटान र ‘फिलिङ’मात्र भयो । सरकार फेरबदलसँगै रंगशाला निर्माणको काम रोकियो । अहिले रंगशाला निर्माणको काम अलपत्र छ ।

नेत्रलाल अभागी रंगशालालाई प्रदेश सरकारले पञ्चवर्षीय योजनाका साथ प्रदेशकै नमुना रंगशाला बनाउने योजना बनाएको थियो । तर सरकार फेरबदलसँगै रंगशाला निर्माणले प्राथमिकता पाउन नसक्दा अलपत्र परेको नेत्रलाल अभागी खेलकुद रंगशाला निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष देउमन दमाईले बताए ।

रंगशाला निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड रुपैयाँ विनियोजन गरे पनि विनियोजित बजेटसमेत पाउन नसकेको उनको भनाइ छ । उनले भने, ‘रंगशालाका लागि विनियोजन गरिएको बजेट सरकारले अन्यत्र खर्च गरेको छ ।’

२७ बिगाह क्षेत्रफलमा आधुनिक प्रविधिको खेलकुद मैदान बनाउन भन्दै रंगशालाको बृहत गुरुयोजना समेत तयार पारिएको छ । जसमा स्विमिङ पुल, फुटबल मैदान, भलिबल मैदान, क्रिकेट मैदान सहित अन्य खेलकुद संरचना निर्माण गर्ने लक्ष्य छ ।

तर रंगशाला निर्माणको विषय राजनीतिकरण हुँदा रंगशालाको बृहत लक्ष्य र उद्देश्य नै अलपत्र परेको छ । उनले भने, ‘लुम्बिनी प्रदेशको पहिलो सरकारले रंगशालाको नामसहित काम सुरु गर्‍यो । दोस्रो सरकारले चासो नै दिएन ।’

सरकारले अघि सारेको योजना सरकारले नै बेवास्ता गर्दा अलपत्र परेको उनको भनाइ छ । जसका कारण रंगशाला निर्माणमा सरकारको दायित्वबोध हराएको हो कि भन्ने प्रश्न उठेको उनको भनाइ छ ।

रंगशाला निर्माणका लागि स्थानीय सरकारको समन्वयमा सरकारले २७ कट्ठा निजी जग्गासमेत खरिद गरेको छ । अहिलेसम्म रंगशाला निर्माणको काम जग्गा खरिद, माटो कटानमै सीमित बनेको छ । प्रदेश सरकारले पछिल्लो समय रंगशाला निर्माणमा चासो नदेखाउँदा स्थानीयवासी सशङ्कित बनेका छन् ।

रंगशाला निर्माणका लागि भएको चौरलाई भत्काई अलपत्र बनाउँदा स्थानीय खेलाडीहरु समेत खेल अभ्यासबाट वञ्चित भएको उनले बताए । उनले भने, ‘भएको चौर रंगशाला निर्माणमा भताभुङ्ग भयो । युवायुवतीहरूलाई अहिले खेल्ने ठाउँ छैन ।’

गुरुयोजना अध्ययनमै तीन वर्ष

प्रदेश पूर्वाधार प्राधिकरण लुम्बिनी प्रदेशका अनुसार रंगशाला निर्माणको काम अहिले माटो फिलिङ र वाल निर्माणको काममा सीमित छ । गत वर्ष १ करोड लागतमा वाल निर्माणको काम भएको छ । यस आर्थिक वर्ष पनि ३ करोड रुपैयाँ वाल निर्माणका लागि छुट्याइएको छ । तर अहिलेसम्म थप काम सुरु हुुन सकेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक छवि पोख्रेलका अनुसार रंगशाला निर्माणको गुरु योजना अध्ययनको काम चलिरहेको छ । उनले भने, ‘स्थानीय सरकारले गुरुयोजना निर्माण गरेकाले उक्त गुरु योजना अध्ययनको काम चलिरहेको छ । वाल र माटो फिलिङको काम भने चलिरहेको छ ।’

तर रंगशाला निर्माणको काम भने अलपत्र छ । रंगशाला निर्माणका लागि करोडौँ रुपैयाँ विनियोजन भए पनि भौतिक प्रगति खासै नदेखिँदा स्थानीयवासी रंगशाला निर्माण हुनेमा सशङ्कित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप