‘मोटरबाटो नहुँदा विकासको अनुभूति भएन’
दाङ । बंगलाचुली गाउँपालिका वडा नं.४ गदारीका बासिन्दा मोटरबाटोको अभावमा आफूहरूलाई विकासको अनुभूति हुन नसकेको बताउँछन् । गदारी बंगलाचुुली गाउँपालिकाको दुर्गम बस्ती हो, जहाँ २९ घरपरिवार बसोबास गर्छन् ।
विकासका हिसाबले गदारी निकै पछाडि परेको छ । सो बस्तीमा खानेपानी र विद्युत् सेवा भर्खर पुगेको छ । तर मोटर बाटो अझै पुगेको छैन । मोटरबाटो नहुँदा गाउँमा कोही रातबिरात बिरामी परेमा मान्छेले नै बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता छ ।
गदारीकी चम्फी पुन ६१ वर्षकी भइन् । पहाडको पाखामा खरको छानो भएको उनको एउटा सानो घर छ । उनको जीवनको अधिकांश हिस्सा सोही घरमा बित्यो । यो उमेरसम्म आइपुग्दा कहिल्यै सुखको सास फेर्न नपाएको उनको गुनासो छ ।

पहाडको बसोबास, अभावै अभावको जीवन, न बाटोघाटो, न बिजुली पानी, दुःखै दुःखमा उनले जीवन बिताइन् उनले । घरको आर्थिक अवस्थाको दुःख त थियो नै, त्यो भन्दा दुःख गाउँमा बाटोघाटो, बिजुली पानीको थियो ।
उनले भनिन्, ‘एक ग्रागी पानी लिन तल गैरा झर्नु पर्थ्यो । राम्रो बाटो थिएन । बत्तीको विकल्पमा सल्लाको झर्काे बालेर गुजारा चलाउनु पर्थ्यो । बिमार परे बोकेर अस्पताल लैजानुपर्थ्यो । अहिले मोटर हिँड्ने बाटो नभए पनि मान्छे हिँड्ने बाटो त बनेको छ । पानी र बत्तीको सुविधा भर्खर आएको छ । दुःख पहिलाको भन्दा अलि कम छ ।’
मोटरबाटो नहुुँदा गाउँलेहरु घण्टौं पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले भनिन्, ‘अरू त यस्तै हो, बिमार पर्दा मोटरबाटो नभएर दुःख छ ।’
स्थानीय सरकारले गाउँसम्म मोटरबाटोको ट्रयाक विस्तार गरेको छ । तर मोटरबाटो मर्मतसम्भार र स्तरोन्नति नहुँदा त्यसले प्रतिफल दिन नसकेको अर्का स्थानीय टोमलाल घर्तीले बताए ।
कहिले मोटर आउला ?
गदारीकै बासिन्दा श्यामलाल परियारका अनुसार बाजेकै पालादेखि गाउँबासीले बाटोको अभावमा सास्ती भोग्दै आएका हुन् । उनले भने, ‘गाउँमा अझै मोटर हिँड्ने बाटोसमेत छैन । जेनतेन मान्छे हिँड्न बल्लबल्ल बाटो बन्यो ।’
मोटर बाटो नपुग्दा गदारीबासी अभाव र पीडैपीडामा बस्नु परेको उनको भनाइ छ । गदारी दाङको घोराहीदेखि पूर्वउत्तरतर्फ पहाडी क्षेत्रमा पर्दछ । सडक अभावका कारण यातायात सेवा सञ्चालन हुन नसक्दा गदारीबासीहरु आफ्नो उब्जनीसमेत बजार पुर्याउन सकेका छैनन् ।
यातायात सेवा अभावका कारण गदारीको अवस्था फेरिन नसकेको उनले बताए । उनले भने, ‘गाउँमा मोटर चले विकास आउथ्यो कि भन्ने लाग्छ । मोटर बाटो छैन, विकासको अनुभूति गर्न पाएका छैनौँ ।’

दुर्गममा ट्रयाक खोल्ने सुगममा सडक स्तरोन्नति गर्ने योजना
सडक पूर्वाधार अभावका कारण विकासको अनुभूति गर्न नसकेका दुर्गम बस्तीलाई सडक पूर्वाधारको पहुँचमा लैजाने उद्देश्यका साथ बंगालचुली गाउँपालिकाले सडक सञ्जाल विस्तार कार्य अघि बढाउन थालेको छ ।
पालिकाको ८ वटै वडामा करिब २ सय किलोमिटर नयाँ सडक सञ्जाल विस्तार गरेको पालिका अध्यक्ष तुलसीराम पुनले बताए । पहाडी क्षेत्रमा भौगोलिक कठिनाइका बाबजुद पनि सरकारले दुर्गम बस्ती क्षेत्रमा ट्रयाक खोल्नेदेखि सुगम क्षेत्रमा सडक स्तरोन्नतिलाई प्राथमिकताका साथ सञ्चालन गरेको उनको भनाइ छ ।
सडक पूर्वाधार विकासको आधार रहेकाले स्थानीय सरकारले ८ वटै वडा जोड्ने गरी बृहत् पालिका ‘रिङरोड’ विस्तार कार्यलाई समेत अघि सारेको उनले बताए । ‘सडक नभएका बस्ती क्षेत्रमा ट्रयाक विस्तार र सडक भएका ठाउँमा स्तरोन्नति गर्ने स्थानीय हाम्रो अभियान हो ।’
केही बस्तीमा सडक पुगे पनि यातायात सेवा पुग्न नसकेको बताउँदै उनले ती क्षेत्रमा चाँडै यातायात सुविधा पुर्याउने प्रयास स्थानीय सरकारले गरिरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण