बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशमा सत्ता टिकाउन एमालेको प्रयास जारी

राष्ट्रपति निर्वाचनसम्म दायाँबायाँ नहुनेमा ढुक्क
बिहीबार, १८ फागुन २०७९, १४ : ०१
बिहीबार, १८ फागुन २०७९

बुटवल । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि लुम्बिनी प्रदेशमा एमालेले आफ्नो सरकार टिकाउन विभिन्न प्रयास जारी राखेको छ ।

एमालेले आफ्नो नेतृत्वको सरकार टिकाउन सत्ता साझेदार दलहरूसँग छलफललाई तीव्रता दिएको छ । केन्द्रमा समीकरण फेरिए पनि प्रदेशमा पुरानै समीकरणलाई निरन्तरता दिने गरी एमालेले साझेदार दलहरूसँग औपचारिक÷अनौपचारिक छलफल अगाडि बढाएको छ ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा बनेको सरकार टिकाउन प्रदेशस्तरमा पहल भइरहेको एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा सांसद भोजप्रसाद श्रेष्ठले बताए ।

उनले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनसम्म सत्ता समीकरणमा दायाँबायाँ नहुने विश्वास व्यक्त गर्दै त्यसपछिको अवस्थाका बारेमा पनि अहिलेका साझेदार दलहरूसँग संवाद चलिरहेको बताए । ‘हामीले केन्द्रमा जे भए पनि यहाँ वर्तमान सरकारलाई नै निरन्तरता दिऊँ भनेर साझेदार दलहरूलाई आग्रह गरिरहेका छौँ,’ उनले भने, ‘त्यसका लागि साना, ठुला दलहरूसँग एक प्रकारको छलफल जारी छ ।’

उनले साना दलहरूलाई समर्थन फिर्ता गर्ने विषयमा तत्काल अगाडि नबढ्नसमेत आग्रह गरिएको जानकारी दिए । सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र लोपसाले बुधबार बसेको संसद् बैठकबाटै समर्थन फिर्ता लिने तयारी गरेका भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

नयाँ समीकरणका रहेका ८ दल अहिले सत्ता परिवर्तनभन्दा पनि राष्ट्रपति निर्वाचनका लागि केन्द्रित रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले रातोपाटीलाई बताए । सोही समयलाई सदुपयोग गर्दै एमालेले दलहरूसँग वर्तमान सरकारलाई नै निरन्तरता दिने विषयमा छलफल अघि बढाएको हो ।

कांग्रेस संसदीय दलका नेता चौधरीले भने, ‘हामी पहिला राष्ट्रपति निर्वाचनमा सँगै जाऊँ, अनि प्रदेश सरकारबारे प्याकेजमा सहमति गरौँला भनेर तत्कालका लागि राष्ट्रपति निर्वाचनलाई नै अर्जुनदृष्टि लगाएका छौँ ।’

८ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनमा केन्द्रित भइरहेको बेला एमालेले यो बिचमा दलहरूसँग संवाद अघि बढाउँदै आफ्नो नेतृत्वको सरकार टिकाउन हरसम्भव प्रयास गरिरहेको सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले बताए । उनले रातोपाटीसँग भने, ‘राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनसम्म यो सरकार सुरक्षित छ, त्यसपछिका लागि पनि हामी साझेदार दलहरूसँग मिलेर जाऊँ भनिरहेका छौँ ।’

मन्त्री आचार्यले केन्द्रमा समीकरण परिवर्तन भए पनि लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई नै निरन्तरता दिएर राजनीतिक स्थायित्व सुनिश्चित गर्ने प्रयासमा आफूहरू लागेको बताए ।

उनले भने, ‘यहाँको सत्ता समीकरणलाई बचाउने पक्षमा छौँ, त्यसका लागि हामीले निरन्तर संवाद गरेका छौँ, हेरौँ कति सकिन्छ !’

त्यसो त माओवादी केन्द्र पनि तत्काल लीला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर सरकारबाट तत्काल बाहिरिने पक्षमा देखिएको छैन । माओवादी संसदीय दलका नेता जोखबहादुर महराले प्रदेशमा तत्काल समर्थन फिर्ता लिने परिस्थिति नबनेको बताए । यसका लागि आफूहरू केन्द्रको निर्णय कुरिरहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा पुस २७ गते एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा सरकार गठन भएको थियो । गिरी नेतृत्वको प्रदेश सरकारलाई माओवादी, राप्रपा, जसपा, लोसपा सहित ८ दलका ५७ सांसदको समर्थन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप