सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

उपप्रधानमन्त्री श्रेष्ठको निर्देशनका बाबजुद कमला पुल निर्माण कार्य अघि बढाउन आनाकानी

आइतबार, २१ फागुन २०७९, १० : ०६
आइतबार, २१ फागुन २०७९

जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले धनुषा र सिरहालाई जोड्ने कमला नदीमा पुल निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न निर्देशन दिएको एक साता बितिसकेको छ । तर, पुल निर्माण कार्य सुरु गर्ने दिशामा खासै चहलपहल नदेखिएको भन्दै स्थानीयवासी सशंकित बनेका छन् ।

सिरहा नगरपालिका–७ का राजदेव गोइत पुल निर्माणका दिशामा कुनै प्रगति नदेखिएको बताउँछन् । पुल नहुँदा स्थानीयवासीले निकै सास्ती व्यहोर्नु परेको उनको भनाइ छ ।

कमला पुलमा अस्थायी पुल निर्माण भए पनि उक्त पुल प्रयोग गरेबापत शुल्क तिर्नु परेको उनले बताए । उनले भने, ‘पुल निर्माण नहुँदा आवतजावत गर्न धेरै कठिनाइ भइरहेको छ । उपप्रधानमन्त्री आएर निरीक्षण गरी दुई साताभित्र पुल निर्माण सुरु गर्न निर्देशन दिनुभएको थियो, तर अझै पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।’

kamala bridge (3)

निर्माण सम्पन्न भएर उद्घाटन नहुँदै १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले भासिएको पुल कहिले बन्ला भनेर आफूहरू दिन गन्दै बसिरहेको उनले बताए । फागुन १५ गते कमला पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले निर्माण कम्पनीलाई तत्काल आवतजावत गर्न ह्युमपाइप राखेर काम सुरु गरी छिट्टै अस्थायी पुल निर्माण गरिदिन निर्देशन दिएका थिए ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व देवकुमार यादवले उपप्रधानमन्त्री श्रेष्ठलाई निरीक्षणकै क्रममा उक्त पुल निर्माणमा सुरुदेखि नै ठेकेदार पक्षको बेवास्ता देखिएको गुनासो गरेका थिए । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले अस्थायी पुल निर्माण कार्य तत्काल सुरु हुने जनाउँदै निर्माण व्यवसायी कम्पनीलाई सोही अनुसार निर्देशन दिएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायी कम्पनीले अस्थायी पुल निर्माण नगरे आफ्नो मन्त्रालयबाट निर्माण कार्य अघि बढाउने आश्वासन समेत दिएका थिए ।

अहिले नदीमा बाँस र प्लाईउड प्रयोग गरी सर्वसाधारणलाई आवतजावत गर्न बनाइएको पुलमा मोटरसाइकल चालकले प्रतिपटक २० रुपैयाँ तिरेर प्रयोग गर्दै आएका छन् । ‘कुनै बेला १५० रुपैयाँ तिरेर पनि आवतजावत गरेको छु,’ शम्भुनाथ नगरपालिका, अर्नाहाका सञ्जीव कुमार यादव भन्छन्, ‘पुल निर्माणमा ढिला भएको खण्डमा वर्षा निम्तिन्छ, त्यसपछि यहाँको जनजीवन झन् कष्टकर हुन्छ ।’

kamala bridge

हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार महतोले अस्थायी पुल निर्माणको काम सुरु हुन लागेको जानकारी आफूले पाएको बताए । उनले भने, ‘ह्युमपाइप खसाल्न लागेको भन्ने कुरा सुनेको छु, के भइरहेको छ भन्नेबारे बुझ्छु ।’

उपप्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्न ठेकेदार कम्पनीलाई आफूले पनि बारम्बार ताकेता गरिरहेको उनको भनाइ छ । यदि समयमै अस्थायी पुल निर्माण नगरे ठेकेदार कम्पनीलाई चिट्ठी नै लेख्ने उनले बताए । चिट्ठीको पनि चित्तबुझ्दो जवाफ नआए सोही अनुसार प्रक्रिया अघि बढाउन विभागलाई जानकारी गराइने पनि उनले प्रस्ट पारे ।

तराई मधेसको लाईफलाईन मानिने हुलाकी सडक अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमलामा पुल नबन्दा दैनिक हजारौँ सर्वसाधारणले सास्ती भोग्नु परेको छ । हुलाकी राजमार्ग हुँदै सिरहाबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्न २८ किलोमिटरको यात्रा गर्नुपर्छ । जबकि अहिले उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्नुपर्दा करिब ८७ किलोमिटर अर्थात् झण्डै तेब्बर दुरी तय गर्नुपर्छ ।

४७० मिटर लामो पुल २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सनसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ४२ महिनाभित्रै सक्ने गरी सम्झौता गरे पनि सात वर्षसम्म पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पुसँगको ठेक्का तोडेको थियो ।

त्यसपछि १३ असार २०७८ मा सो पुल निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइयो । उक्त पुल निर्माण अन्तिम चरणमा पुगेको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो । तर पुलको निर्माण कार्य सम्पन्न भए पनि सुचारु नहुँदै बाढीका कारण भासिएको थियो ।

भासिएको पुल निरीक्षण गर्दै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले पनि पुनर्निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएकी थिइन् । १३ वटा पाया र १२ स्पान (स्ल्याब) सहित निर्माण भएको कमला पुलको सिरहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो ।

गलत डिजाइन र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगले पुल सञ्चालन नहुँदै भासिएको प्राविधिकहरूको बुझाइ छ । पुल भासिएलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो । त्यसपछि मन्त्रालय र विभागले ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सलाई नै पुल भासिनुको कारण पत्ता लगाउन जिम्मेवारी दिएको थियो ।

कम्पनीले पुलमुनिको केही भागमा मात्र नदीको धार एकोहोरिँदा पुल भासिएको प्रतिवेदन दिएको थियो । कमला नदीको निरीक्षण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भनेका थिए, ‘ठेकेदार कम्पनीले पुनः पुलको डिजाइन पेस गरिसकेको छ । छिट्टै स्वीकृत भई पुल पुनर्निर्माण चाँडै सुरु हुनेछ ।’

भासिएको पुलको पुनर्निर्माण ठेकेदार कम्पनीले आफ्नै खर्चमा गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप