बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कसैको चित्त दुखेदुखोस्, राष्ट्रहित विपरीतका कदम सफल हुन दिँदैनौं : केपी ओली

आइतबार, २१ फागुन २०७९, १६ : २१
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रहित विपरीतका गतिविधि गर्न लागेको दोहोर्‍याउँदै एमालेले राष्ट्रहित विपरीतका कुनैपनि कदम सफल हुन नदिने दाबी गरेका छन् । 

उनले सत्ता स्वार्थका लागि जनताको भान्सामा विष पुर्याउन नपाइने भनेर बोलेको कुरालाई विवादास्पद बनाउने प्रयास भएकोमा आपत्ति जनाए । अध्यक्ष ओलीले शनिबार मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिने सरकारको तयारी र भारतबाट आउने तरकारीको विषादी जाँच नगरेको भन्दै सरकारको कटाक्ष गरेका थिए । 

आइतबार सुखानी स्मृतिमा दिवसमा आयोजित ५० औं सहिद दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सोही कुरा दोहोर्‍याए । 

उनले भने, ‘हिजो मैले बोलेका कुराहरूलाई विवादास्पद बनाउने प्रयास भएका छन् । म दोहोर्‍याएर भन्न चाहन्छु, तिनै शब्दहरू दोहोर्‍याउनु परेन । हामी हाम्रो राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डता र भूमिलाई माया गर्छौँ । राष्ट्रको स्वाधीनता र स्वाभिमानलाई अत्यन्तै माया गर्छौ, यसलाई कसैले अतिक्रमण गर्नु र होच्याउनु उचित हुँदैन । हामी त्यस्तो भयो भने सहदैनौं, स्वीकार्दैनौ‌ ।’ 

अध्यक्ष ओलीले दोहोर्‍याउँदै कसैलाई नोक्सानी नपारी स्वाभिमानसँग बस्न चाहेको बताए । उनले भने, ‘म फेरि दोहोर्‍याउन चाहन्छु–नेपाल राष्ट्रको हित र नेपाली जनताका हितविपरीत सरकार कुनै कारण वा हिसाबले चल्न चाहन्छ, खोज्छ भने त्यसको हामी विरोध गर्छौँ र त्यस्ता कुराहरूलाई सफल हुन दिँदैनौ‌ ।’  

उनले एमालेले राष्ट्रहित विपरीतका कदमलाई सफल हुन नदिने भन्दै त्यसोभन्दा कसैको चित्त दुखे केही फरक नपर्ने बताए । ‘यसोभन्दा कसैलाई चित्त दुख्छ भने दुखोस् । हामी कसैको चित्त होइन राष्ट्रिय हितको रक्षा गर्छौ । हाम्रो राष्ट्रिय हितसँग अरूको अहित जोडिएको छैन’, ओलीले चुनौती दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप