मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी संगठनहरु एक्लाएक्लै चुनावी मैदानमा
सुर्खेत । राजनीतिको शिशु कक्षा मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै मध्यपश्चिम विश्वविद्यालयमा पनि रौनक बढेको छ । विद्यार्थीको चुनाव भए पनि राजनीतिक दलका नेताहरुले समेत स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् ।
नेताहरुको दबदबामा विद्यार्थी संगठनभित्र उम्मेदवार चयन गर्ने काम भइरहेको छ भने आइतबार ९ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
आगामी चैत ३ गने हुने निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी नेताहरुले आ–आफ्नो संगठनबाट उम्मेदवारी दर्ता गराएका हुन् । अहिले राष्ट्रिय राजनीतिमा गठबन्धन भए पनि विद्यार्थी संगठनहरु भने एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । विश्वविद्यालयका निर्वाचन अधिकृत वेदप्रकाश ढकालका अनुसार स्ववियुको अध्यक्ष र सचिवमा ९÷९ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा ६ र सदस्यमा ३० जनाको उम्मेदवारी छ ।
अध्यक्षमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट ममता अधिकारी, नेविसंघबाट रोशन बस्नेत, अनेरास्ववियुका प्रकाश रिजाल, एकीकृत समाजवादी निकट अनेरास्ववियूका मिलन विसीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनबाट योगेश कुमार शाहीले उम्मेदवारी दिएका छन् भने चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पारस सिंह, भूपेन्द्र बम, महेन्द्रकुमार थापा र महेश धिताल छन् ।
अखिल (क्रान्तिकारी) की अधिकारी अध्यक्ष पदका ९ उम्मेदवारमध्ये एकमात्र महिला उम्मेदवार हुन् । उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् । अहिलेसम्म मध्यपश्चिम विश्वविद्यालयमा संगठनहरुबीच गठबन्धन गरेर जाने विषयमा छलफल नभएको गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले बताएका छन् ।
‘उम्मेदवारी दर्ता भइसकेकाले अब गठबन्धन हुने भन्ने कुरा हुँदैन,’ अधिकारीले भनिन्, ‘हामी एक्लै भए पनि चुनाव जित्नेमा ढुक्क छौँ ।’ अध्यक्षका अन्य उम्मेदवारले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।
नेविसंघबाट अध्यक्षका उम्मेदवार रोशन बस्नेतले अर्कातर्फ गठबन्धन बने पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनी कांग्रेसभित्र संस्थापन पक्षधर मानिन्छन् । यद्यपि उम्मेदवारले नाम फिर्ता लिने दिन (फागुन २५ गते) सम्म सहमति भएमा गठबन्धन गरेर जान सक्ने सम्भावना रहेको पनि कतिपय औंल्याउँछन् । तर अहिलेसम्म विद्यार्थी संगठनहरुले यो विषयमा छलफल गरेका छैनन् ।
४ हजार २९ जना मतदाता रहेको विश्वविद्यालयमा ६ वटा संघ संगठनले समानुपातिक सूची समेत पेस गरेको निर्वाचन अधिकृत ढकालले रातोपाटीलाई जानकारी दिए । मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो पटक स्ववियु निर्वाचन हुन लागेको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण