आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
निर्वाचन

राष्ट्रपति निर्वाचनमा पाँच दलको छुट्टिएन कित्ता : रास्वपाका सांसद स्वतन्त्र !

सोमबार, २२ फागुन २०७९, १७ : १५
सोमबार, २२ फागुन २०७९

काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा सोमबार (आज) राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ । राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ ।

कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल संस्थागत रुपमा पौडेलको पक्षमा उभिएको अवस्था छ ।

यता एमालेले पौडलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा पठाएको छ । नेम्वाङलाई मौनअवधिसम्म एमाले बाहेकका दलको समर्थन छैन ।

पाँच दलले भने राष्ट्रपतिका दुई उम्मेदवार पौडेल र नेम्वाङमध्ये कसलाई मत दिने भनेर कित्ता क्लियर नगरेको अवस्था छ । राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले राष्ट्रपतिमा कसलाई मत दिन्छन् भन्ने प्रस्ट भएको छैन ।

प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद भएको राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिने–नलिने भन्नेमा विवाद छ । राजसंस्थाको वकालत गर्ने राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने मत जबरजस्त देखिन्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचनमा भाग लिनुपर्ने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत विपक्षमा छन् ।

नेम्वाङले बिहीबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसँग मत मागेका थिए । राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते निर्णय लिने राप्रपाको जवाफ थियो । राप्रपाका नेताहरुका अनुसार राष्ट्रपतिमा मत दिन निर्णय भए नेम्वाङलाई भोट दिने सम्भावना बढी छ ।

कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन् । सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरुसँग भोट मागेका हुन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष लिङदेनलाई पत्र पठाएका थिए ।

यस्तै संघीय संसदको चौथो ठूलो दल रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय गरेको छैन । तर कांग्रेस र एमालेका नेताहरु भोटका लागि रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेट्न पार्टी कार्यालय पुगेका थिए ।

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेर पौडेल लामिछानेलाई भेट्न उनको निवास पुगेका थिए । आफू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र लामो राजनीतिक यात्रा रहेकाले समर्थन गर्न लामिछानेलाई पौडेलको आग्रह थियो ।

लामिछानेले पार्टीले निर्णय गर्नै बाँकी भएको जवाफ दिए । ‘मैले उहाँलाई पार्टीले निर्णय गर्न बाँकी छ, पार्टीगत निर्णय गर्छौं भनेँ । तपाईंलाई शुभकामना छ भनेँ,’ लामिछानेको भनाइ छ । त्यसपछि शुक्रबार पनि पौडेल भोट माग्न रास्वपाको पार्टी कार्यालय पुगेका थिए । यस्तै बिहीबार एमाले नेताहरु रास्वपा सभापति लामिछानेलाई भेट्न बसुन्धारामा पुगेका थिए । एमाले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दा लामिछानेले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने बताएका थिए ।

नेम्वाङ राष्ट्रपतिका लागि एउटा उपयुक्त पात्र भए पनि केन्द्रीय समिति र संस्दीय दलको बैठकबाट मात्र निर्णयमा पुग्ने लामिछानेको भनाइ थियो । रास्वपा संसदीय सदका नेता डोलप्रसाद अर्यालले भोट हाल्न जानुअघि बैठक बसेर राष्ट्रपतिबारे निर्णय लिने रातोपाटीलाई बताए । ‘एमाले र कांग्रेसका उम्मेदवारले भोट माग्नु भएको छ । हामीले कसैलाई पनि बचन दिएका छैनौं । २५ गते बिहानै निर्णय हुन्छ,’ उनी भन्छन् ।

रास्वपाले सरकार पक्ष र विपक्षी एमालेसँग समदुरी राखेर अगाडि बढ्ने रणनीति लिएको देखिन्छ । माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले समर्थन फिर्ता लिएको छैन । पुस १० को सत्ता समीकरण फेरिएपछि सरकारबाट बाहिरिएका एमाले र राप्रपाले समर्थन फिर्ता लिइसकेको अवस्था छ । तर रास्वपा पुनः सरकारमा सहभागी हुने तयारीमा छ । रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

उनले भने, ‘राष्ट्रपतिमा सांसदलाई भोट हाल्न स्वतन्त्र छाडिदिने कि भन्ने विकल्पमा पनि छलफल भइरहेको छ । जे निर्णय हुन्छ, बैठक बसेर हुन्छ ।’

यता प्रतिनिधिसभामा एक र प्रदेशसभामा तीन सांसद रहेको नेमकिपा राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने टुंगोमा पुगेको छैन । परिस्थिति नियालेर निर्णय लिने योजनामा रहेको नेमकिपाका सांसद प्रेम सुवालको भनाइ छ । नेमकिपामा संस्थागत निर्णय भइनसके पनि सुवालले नेम्वाङलाई भोट दिने संकेत गरे ।

यस्तै, हाम्रो नेपाली पार्टी कुनै पनि उम्मेदवारको पक्षमा खुलेको छैन । प्रदेशसभामा दुई सांसद भएको सो पार्टीले पनि अन्तिममा निर्णय लिने जनाएको छ ।

संघीय समाजवादी पार्टीको पनि मधेस प्रदेशसभामा मात्रै एक सांसद छन् । यो पार्टीले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन बाँकी छ । तर १० दलको समर्थन पाएका पौडेलको पक्षमा स्पष्ट बहुमत देखिन्छ ।

राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका ८ सय ८१ सांसद मतदाता छन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरु गरी राष्ट्रपति निर्वाचनका लागि ८८१ सांसदको नामावली मतदाता सूचीमा सार्वजनिक भएको छ । प्रदेश सांसदको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम उल्लेख छ ।

उनीहरुको मतभार ५२ हजार ६ सय २८ छ । त्यसको पचास प्रतिशत मत कटाउने उम्मेदवार निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ ।

गठबन्धनको पक्षमा रहेका सांसदहरुको मतभार ३२ हजारभन्दा बढी हुन्छ । चुनावको दिनसम्म यो गठबन्धन नभत्केमा राष्ट्रपतिमा पौडेलको जित निश्चित छ । कांग्रेसको १६ हजार २ सय २१, माओवादीको ७ हजार ७ सय ४५, जसपाको २ हजार १ सय ४५, एकीकृत समाजवादीको २ हजार ५ सय ७४, जनमतको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नाउपाको ८ सय ९२, जनमोर्चाको २ सय ६ र आम जनता पार्टीको ८९ मत छ । स्वतन्त्र सांसदको मतभार ६२४ छ ।

नेम्वाङको पक्षमा अहिलेसम्म एमालेको १५ हजार २ सय ३३ मत छ । अनिर्णीत मतभार ४ हजार ३१८ छ । राप्रपा २ हजार ४ सय ५०, रास्वपाको १ हजार ५०१, नेमकिपा २ सय २३, हानेपाको ९६ र संघीय समाजवादी पार्टीको ४८ मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप