शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला दिवस

फिल्म क्षेत्रमा महिला : प्रवेशदेखि दर्शकसम्मको विभेद

बुधबार, २४ फागुन २०७९, १० : ४६
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । आज मार्च ८ अर्थात् नारी दिवस । संसारभर आजको दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ  । सन् १९०९ (वि.सं. १९६६) देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । संसारभरका महिलाहरूमा विभेदको अनुभूति नहोस् भनी जागरण ल्याउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । 

नेपालमा भने वि.सं. २०१६ साल अर्थात् सन् १९५९ मा प्रधानमन्त्री बीपी कोइरालाको समयदेखि यो दिवस मनाउन थालिएको हो । यो दिवस मनाउन थालेको यति लामो समय भइसक्दा पनि हाम्रो समाजमा भने अझै महिला भएकै कारण विभिन्न विभेद भोग्नुपरिरहेको छ । 

त्यो विभेदबाट नेपाली कला क्षेत्र पनि टाढा रहन सकेको छैन । कला क्षेत्रमा पारिश्रमिक, सम्मान, सुरक्षालगायतका विषयमा महिला भएकै कारणले विभेदको सामना गर्नुपर्ने फिल्म क्षेत्रका अभिनेत्रीहरू बताउँछन् । चेतनाको विस्तारसँगै विभेद कम भए पनि अन्त्य भने अझै हुन नसकेको उनीहरूको धारणा छ ।

अभिनय प्रवेशमा कति सहज ?

फिल्म क्षेत्रमा पुरुषको तुलनामा महिलाको प्रवेश त्यति सहज छैन । अडिसनलगायत विभिन्न बहानामा गलत नियत राख्नेदेखि लोकेसन हेर्ने बहानामा दुर्व्यवहार गर्नेसमेत भेटिन्छ । दशकअगाडिसम्म त निर्माता–निर्देशक रिझाउन नसके फिल्म अभिनय अवसर मिल्दैन भन्ने गरिन्थ्यो । त्यसैले आमाबुबाले आफ्नो छोरी फिल्म क्षेत्रमा प्रवेश गरेको राम्रो मान्दैन थिए । उनीहरूको फिल्म प्रवेश सकभर रोक्ने गर्थे ।

अभिनेत्री लक्ष्मी बर्देवाको अनुभव पनि त्यस्तै छ । उनका परिवारले पनि उनलाई फिल्म क्षेत्रमा बन्देज गर्न चाहन्थे । फिल्म क्षेत्रमा महिलाले स्वतन्त्र रूपमा प्रवेश गर्न नपाउने बताउँछिन् । ‘अभिनयका लागि हामीलाई समाज र घरपरिवारबाट प्रतिबन्ध हुन्छ,’ उनले भनिन्, ‘मेरो पनि अभिनयको सुरुवातको समय बुवा विरोधी हुनुहुन्थ्यो ।’ महिलाले अभिनयमा प्रवेश गर्दा सबैभन्दा पहिलो लडाइँ घरपरिवार र आफन्तसँग गर्नुपर्ने उनको भनाइ छ ।

‘फिल्म क्षेत्रमा पुरुषहरू प्रवेश गर्दा पैसा कमाउन त सकिन्छ ? भन्ने गरिन्छ,’ उनले थपिन्, ‘हामी प्रवेश गर्दा बर्बाद पार्ने भई यसले भनेर भनिन्छ । आफू सुरक्षित नहुनेजस्तो नकारात्मक कुरा आउँछ ।’ सुरुको समय आफूले पनि नाटक अभिनय गर्दा जागिर जाने भनेर ढाँटेर प्रवेश गरेको उनले सुनाइन् ।

‘फिल्म क्षेत्रमा महिला धेरै समय रहँदैनन् समेत भनिन्छ । केके गर्नुछ गरिहाल्नुपर्छ भन्छन् । महिलाको गलत फाइदा उठाउन खोज्ने धेरै ठाउँमा हुँदोरहेछ,’ उनले थपिन् ।

महिला भएकै कारण सुरुको समय आफूले धेरै अडिसन दिनुपरेको कलाकार–निर्देशक दीपाश्री निरौला बताउँछिन् । ‘सुरुवातको समय धेरै फिल्ममा अडिसन दिँदै रिजेक्ट भएकी मानिस हुँ म । अडिसन लिन्थे, सुटिङको अघिल्लो दिन सेलेक्सन भएन भनेर भन्थे,’ दीपा भन्छिन्, ‘त्यो समय नगरकोटलगायत विभिन्न ठाउँ लगेर हिरोइन छान्ने गरिन्छ भनेर समेत सुनिन्थ्यो ।’ आफूले अडिसनको बहानामा निर्माता, निर्देशकसँग विभिन्न ठाउँमा घुम्नु नपरेको बताएकी उनले पछिल्लो समय कलाकारितामा चेत पलाएको सुनाइन् ।

‘अहिले महिला आफै सक्षम भएर आउँदा गलत गर्नेको प्रवृत्ति बिस्तारै हटेर गएको छ,’ उनले थपिन्, ‘महिलाहरूलाई मेरो एउटै सुझाव छ । सक्षम भएर तपाईंहरू फिल्ममा आउनुस् । गलत प्रयोग कसैले गर्न सक्दैन ।’

अभिनेत्री रेखा थापा भने महिला भएको कारणले आफूले अभिनय प्रवेशमा विभेद भोग्नु नपरेको बताउँछिन् । ‘म महिला हुँ भन्ने भावनाले फिल्म रोजेको थिइनँ’, उनले भनिन्, ‘मलाई जहिले पनि समानान्तर दृष्टिकोणले हेरियो ।’ कलाकारितामा महिलामाथि हुने विभेद देखेर आफूले महिलाप्रधान फिल्म निर्माण गर्ने, अभिव्यक्ति दिने र सामाजिक क्रियाकलाप गर्ने गरेको उनको धारणा छ ।

रेखाको कुरामा अभिनेत्री रेजिना उप्रेती पनि सहमति जनाउँछिन् । महिलाभन्दा पनि कलाकार बन्छु भनेर भित्रिएकाले विभेद भोग्नु नपरेको रेजिना सुनाउँछिन् ।

पारिश्रमिकमा विभेद धेरै

पछिल्लो समय फिल्म क्षेत्र नियाल्ने हो भने महिलाको उपस्थिति लोभलाग्दो छ । अभिनयमा मात्र होइन, फिल्मको द्वन्द्वदेखि निर्देशनसम्म विभिन्न विधामा सक्रियता देख्न पाइन्छ । फिल्ममा महिलाको उपस्थिति दर्बिलो देखिए पनि पारिश्रमिकमा भने विभेद कायमै छ । एउटै र फरक भए पनि उत्तिकै मिहिनेत पर्ने कामका लागि महिला र पुरुषलाई फरकफरक पारिश्रमिक दिने गरिन्छ । तर यस विषयमा सबै बोल्न डराउँछन् ।

अभिनेत्री खुस्बु खड्का फिल्म क्षेत्रमा महिलाहरूले पारिश्रमिकको विभेद धेरै भोग्नुपर्ने बताउँछिन् । ‘पुरुषले जति भने पनि स्वाभाविक रूपमा लिने, हिरोइनले भन्यो भने यति धेरै किन प्रश्न गर्छन्,’ उनले भनिन्, ‘सबैको अभिनयको महत्त्व उत्तिकै हो । काम हेरेर पारिश्रमिक दिइनुपर्छ । महिला र पुरुष भनेर होइन ।’ आफूले पनि पारिश्रमिकमा विभेदको सामना गर्नु नपरेको उनी सुनाउँछिन् ।

‘पारिश्रमिकमै सुटिङका लागि पुरुषको भन्दा महिलाको धेरै खर्च हुन्छ । तर महिलालाई तोकिएको पारिश्रमिक नदिने र बाँकी राख्नेसमेत गरिन्छ,’ उनी थप्छिन्, ‘मेरो अहिले पनि धेरै फिल्मसँग पारिश्रमिक लिन बाँकी छ ।’

खुस्बुको विचारसँग सहमत जनाउँछिन् अभिनेत्री रेजिना उप्रेती । उप्रेती फिल्म क्षेत्रमा महिला र पुरुषमा पारिश्रमिक विभेद रहेको पटक पटक दोहोर्‍याउँछिन् । 

‘महिला र पुरुष कलाकारबीचको पारिश्रमिक विभेद नेपालमा मात्र होइन, बलिउड, हलिउडलगायत सबैतिर देख्न र सुन्न सकिन्छ,’ उनले भनिन्, ‘विश्वमै हिरोइनभन्दा हिरोलाई बढी पारिश्रमिक दिने चलन रहेछ ।’ पारिश्रमिक आफूले कति लिने भन्ने कुरो धेरै हदसम्म आफू मानै भरपर्ने उनको भनाइ छ । 

सुटिङ सेटमा विभेद

पछिल्लो समय फिल्म क्षेत्रको कलाकारको उपस्थिति मात्र बाक्लिएको छैन, फिल्म निर्माणमा पनि वृद्धि भएको छ । तर महिलामा हुने विभेद थुप्रै देख्न सकिन्छ । धेरै विभेद त सुटिङदेखि डबिङलगायत निर्माणको क्रममा हुन्छ । जहाँ हिरो र हिरोइनमा गरिने व्यवहार, सुटिङमा प्राथमिकता फरक फरक हुन्छ । 

अभिनेत्री निर्देशक दीपाश्री निरौला पनि सुटिङमा पुरुषको तुलनामा महिलाले धेरै विभेद भोग्नुपर्ने बताउँछिन् । ‘सुटिङमा हिरो ढिलो आउँदा पनि हुने । हामी महिला कलाकारलाई बिहानैदेखि लगिन्छ । हिरो स्पटमा पुगेपछि अभिनयका लागि धेरै समय कुर्नु पर्दैन । फिक्स समय वा त्योभन्दा ढिलो आए पनि हुन्छ,’ उनी भन्छिन्, ‘हामी भने समयमै पुग्नुपर्ने र सुटिङ समयमा नभए पनि हुने ।’ 

धेरै फिल्म पुरुषप्रधान बन्नु र महिलाप्रधान फिल्म नबन्नु पनि महिलाप्रति विभेद भएको उनको बुझाइ छ । ‘म भने महिला केन्द्रित भएर फिल्म बनाउँछु । अहिले निर्माण भएको पूरै फिल्म हेर्ने हो भने प्रतिशतको हिसाबले महिलाप्रधान फिल्म कम बनेको छ । त्यो पनि विभेद हो,’ उनी थपिन् ।

यता अभिनेत्री रेखा थापाको अनुभव अलि फरक छ । ‘सेटमा महिलाको भावना लिएर जानुभयो भने विभेद हुन्छ । मेरो र पुरुषको उत्तिकै राइट छ भन्ने भावना भयो भने कसैले फरक दृष्टिले हेर्दैन,’ उनले अगाडि थपिन्, ‘हामी जबसम्म महिला हौँ, भन्ने भावना त्यागेर मानिस हौँ भन्दैनौँ तबसम्म हामीलाई विभेदले छोड्दैन ।’ महिलाले खुलेर बोल्न नसकेका कारण पनि विभेदको सामना गर्नुपरिरहेको उनी जोड दिन्छिन् ।

रेखाकै कुरो दोहोर्‍याउँछिन् अभिनेत्री बेनिषा हमाल । हमाल पनि पुरुषको तुलनामा सुटिङ स्पटमा महिलालाई धेरै विभेद हुने बताउँछिन् । ‘महिलाका लागि व्यवस्थित शौचालय, भ्यानेटी भ्यानको सुविधा केही हुँदैन,’ उनले थपिन्, ‘पिरियड हुँदाको समस्या समेत बुझ्दैनन् । हिरोको भने साना साना कुरामा पनि महत्त्व दिइन्छ ।’ 

पहिलेको तुलनामा महिला भएको कारणले हुने विभेद अहिले बिस्तारै कम हुँदै गएको अनुभव आफूले गरे पनि पूर्ण रूपमा हट्न भने नसकेको उनको भनाइ छ ।

गसिपको तारो

फिल्म क्षेत्रको समाचारभन्दा पनि गसिप बढी बिक्छ । गसिपमा कलाकारको प्रेम र बिछोडका किस्सा धेरै हुने भएकाले पनि सबैले महत्त्वका साथ हेर्छन् । महिला कलाकारको कुनै पुरुषसँगको बोलचाल वा निकटतालाई विभिन्न कोणबाट गसिप बनाउने गरिन्छ । कतिपय अवस्थामा चरित्रमाथि समेत प्रश्न उठाउँदै गसिप लेखिन्छ । त्यसले उनीहरूलाई भित्री पीडासमेत पुर्‍याउँछ ।

पुरुषको तुलनामा महिलाको धेरै गसिप बन्नुलाई विभेदको दृष्टिबाट हेर्न नहुने अभिनेत्री रेखा थापा बताउँछिन् । ‘मिल्ने भए पुरुषको बढी गसिप बन्थ्यो होला,’ उनले भनिन् ।

‘राजनीतिक रूपमा धेरै गसिप पुरुषहरूका आउँछ,’ उनी थप्छिन्, ‘मनोरञ्जन दुनियाँ अर्थात् ग्ल्यामर वर्ल्डमा महिलाको बढी आउनु स्वाभाविक हो ।’ चरित्रसँग जोडिएको गसिप मन नपर्ने बताउने उनले अन्य गसिपको पनि आफूलाई वास्ता नलाग्ने सुनाउँछिन् ।

रेखाको विचारसँग अभिनेत्री निर्देशक दीपाश्री निरौला पनि सहमत छिन् । पुरुषको तुलनामा महिलाको गसिप बढी बन्नेमा उनी सकारात्मक छिन् । गसिप पीडा पुर्‍याउन होइन, सचेत गर्न लेख्नुपर्ने उनको विचार छ । ‘धेरै गसिप महिलाकै बन्छ । त्यो सबैले बुझेकै विषय हो । महिला भनेको ग्ल्यामर हो । महिलाका सबै अङ्गका गीत पनि बनेका हुन्छन्,’ दीपाले थपिन् ।

दीपाकै कुरा दोहोर्‍याउँछिन् अर्की अभिनेत्री बेनिषा हमाल । उनी पुरुषको तुलनामा महिला कलाकारको गसिप बढी प्राथमिकता परेकोमा सकारात्मक छैनन् । ‘गसिप मात्र होइन, महिलालाई गरिने प्रश्न र विवाहको कुरोमा बढी चासो दिने गरिन्छ,’ उनले थपिन् ।

अभिनेत्री रेजिनाको भने यो कुरोमा फरक मत छ । उनी गसिपमा महिला र पुरुष दुवै जोडिने भएकाले बराबर आउने बताउँछिन् । ‘महिलाको गसिपमा पुरुषको नाम पनि जोडिन्छ,’ रेजिनाले भनिन्, ‘पुरुषको तुलनामा बढी महिलालाई पीडा पुग्ने खालको भने हुन्छ ।’

दर्शकको नजर 

महिला भएका कारणले फिल्म क्षेत्रभित्र भोग्नुपर्ने विभेद एकतिर छँदैछ । दर्शकबाट समेत उनीहरूले यस्तो पीडा पाउने गरेका छन् । दर्शकमा पनि पुरुष र महिला कलाकारलाई हेर्ने दृष्टिकोण र सम्मान फरक रहने गरेको पाइन्छ ।

पुरुषको तुलनामा महिला कलाकारलाई दर्शकले हेर्ने नजर त्यति सकारात्मक नभएको अभिनेत्री लक्ष्मी बर्देवा बताउँछिन् । ‘दर्शकको महिला कलाकारलाई हेर्ने दृष्टिकोण नकारात्मक छ’, बर्देवाले भनिन्, ‘कोही कोही मात्र अगाडि आओस्, राम्रो गरोस् भन्छन् ।’ आफूले भने महिला र पुरुष कलाकारका रूपमा भन्दा पनि कन्टेन्टका रूपमा हेरेर धारणा बनाउन अनुरोध गर्ने गरेको उनी सुनाउँछिन् ।

बर्देवाको विचारसँग अभिनेत्री रेखा थापा पनि सहमत छिन् । उनले पनि पुरुषको तुलनामा महिला कलाकारलाई दर्शकले हेर्ने नजरमा विभेद पाएकी छन् । ‘पहिले पहिले दर्शकको महिला कलाकारलाई हेर्ने दृष्टिकोण फिटिक्कै राम्रो थिएन । अहिले फेरिएको छ,’ रेखा भन्छिन्, ‘महिला पनि मानिस हुन् । उनीहरूको पनि भावना हुन्छ । उनीहरूको पनि चाहना हुन्छ ।’ कुनै पुरुष बलात्कारको आरोप लागेर बाहिर आए पनि भयङ्कर चरित्रवान् हुने तर स्त्रीले भने दोस्रो विवाह गर्दा चरित्रहीन ठान्ने समाजको दृष्टिकोण नै फरक रहेको उनको भनाइ छ । ‘समाजमा चेतनाको कमी अझै छ । पुरुषप्रधान नजरबाट मात्र हेरिन्छ । जबसम्म समाजमा महिला र पुरुषलाई समानान्तर आँखाबाट हेरिन्न तबसम्म परिवर्तन महसुस गर्न गाह्रो छ,’ उनले थपिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप