आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सरोकार

अलपत्र खानी पहुँच मार्ग

‘उद्योगले सहमति गर्‍यो काम गरेन’
शनिबार, २७ फागुन २०७९, ०९ : ५४
शनिबार, २७ फागुन २०७९

दाङ । बंगलाचुली गाउँपालिकाको वडा नं. ३ र ४ मा अवस्थित तापा चुन ढुङ्गा खानी सगरमाथा सिमेन्ट उद्योग घोराही र सम्राट सिमेन्ट उद्योग देउखुरीले उत्खनन गरिरहेका छन् । सगरमाथा र सम्राट सिमेन्ट सम्राट सिमेन्ट उद्योगले ४१ .५ हेक्टर क्षेत्रफलमा चुनढुङ्गा उत्खननको अनुमति पाएका हुन् । 

सगरमाथा सिमेन्ट उद्योगले ३२.५ र सम्राट सिमेन्ट उद्योग ९ हेक्टर क्षेत्रफलमा खानी उत्खनन गरिरहेका छन् । सगरमाथा सिमेन्ट उद्योगलाई ३० वर्ष र सम्राट सिमेन्ट उद्योगलाई १५ वर्ष उत्खनन अनुमति प्राप्त छ । 

उद्योगले खानी क्षेत्र उत्खनन गर्न लागेको अहिले १० वर्ष पुरा भयो । १० वर्षको अवधिमा सिमेन्ट उद्योगका पहाड मात्रै होइन, खानी मार्ग समेत ध्वस्त पारिसकेका छन् । घोराही–मुर्कुटी सडकदेखि खानी मार्ग करिब ७ किलोमिटर पर्दछ । उक्त खानी मार्ग निर्माणका लागि दुबै उद्योगले जिम्मा लिएका छन् । तर खानी निर्माणको काम अलपत्र अवस्थामा छ । खानी पहुँच मार्ग निर्माणको काम अलपत्र पर्दा स्थानीयहरू धुलाम्मे र हिलाम्मे सडकको सास्ती खेप्नु परिरहेको छ । 

खानी पहुँच मार्ग निर्माणको कामलाई पूर्णता दिनुभन्दा उद्योगले आलटाल र जालझेलको काम गरी सडक निर्माणको कामलाई अस्तव्यस्त पारेको स्थानीयहरू भनाई छ । जसका कारण सडक निर्माण अपुरो र अधुरो अवस्थामा अलपत्र बनेको हो । स्थानीय लोकबहादुर बि.क.का अनुसार उद्योगले खानी पहुँच मार्ग निर्माणका लागि पहुुचमार्ग पीडित र स्थानीय सरकारसँग पटक पटक सडक निर्माणको सम्झौता गरे पनि सडक निर्माणको काम आलटाल गर्दा स्थानीयहरू सडकको हिलोधुलो कष्ट खेप्नु परेको बिक बताउँछन् । उनले भने–‘ उद्योगले पहाड खायो, बस्ती खायो, सडकै खायो । यो खानी पहुँच मार्ग बनाउँछौँ भन्ने अहिलेसम्म अलपत्र छ । ’ 

७ किलोमिटर खानी पहुँच मार्ग मध्ये सगरमाथा सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगले दैनिक उत्खननको आधारमा सडक निर्माणको आन्तरिक सहमति गरेका छन् । सगरमाथा सिमेन्ट उद्योगले ४ हजार मेट्रिक टन उत्खनन र सम्राट सिमेन्ट उद्योगले १२ सय मेट्रिक टन उत्खनन गरिरहेका छन् । खानी उत्खननको आधारमा उद्योगले खानी पहुँच मार्ग निर्माणका लागि अन्तिम सम्झौता २०७९ जेठ २५ गते गरेका थिए । तर सम्झौता अनुसार उद्योगले काम नगर्दा सडक निर्माणको काम अलपत्र परेको  उनले रातोेपाटीलाई बताए । 

‘काम छल्न अनेक उपाय’

खानी पहुँच मार्गको निर्माणको जिम्मा लिएको २ सिमेन्ट उद्योगले सडक निर्माणको काम नगरी उक्त काम नगर्नका लागि अनेकन् उपायहरू रच्दै आइरहेका छन् । सडक निर्माणको काम नसक्दासम्म स्थानीयवासी र स्थानीय सरकारले खानी उत्खनन रोक लगाएको थियो । उद्योगले स्थानीयवासी र स्थानीय सरकारको उक्त मागलाई अवज्ञा गर्दै खानी उत्खननका लागि सञ्चालन माग राख्दै अदालतसम्म पुग्यो । अदालतले २०७९ भदौ २७ गते उत्खनन सञ्चालनका लागि बंगलाचुली गाउँपालिकालाई विपक्षमा राखी अन्तरिम आदेश दिएको थियो । 

बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले उद्योगले सडक निर्माणको काम छल्न अनेक उपाय रच्दै आइरहेको बताए । उनले भने, ‘काम गर्नुभन्दा उद्योगले खानी पहुँच मार्गलाई अलपत्र पार्दै मानव स्वास्थ्यप्रति लापरबाही गरिरहेको छ । ’ उद्योगले निर्माणाधीन खानी पहुँच मार्गलाई अलपत्र पार्दै अड्डा अदालत धाउँदै आइरहेकाले सडक पीडित अझ पीडित बनाउने काम गरिरहेको उनले बताए । 

‘काम नगरी मुद्दा’

२०७९ साल जेठ २५ गते बंगलाचुली गाउँपालिकामा बसेको सर्वदलीय बैठकले खानी क्षेत्र पहुँच मार्ग उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७९ साल भदौ १२ गते पुनः सर्वदलीय बैठकले पनि पूर्व सहमतिको कार्यान्वयन तथा सडक कालोपत्रेको काम सम्पन्न गर्ने सहमति भएको थियो । उद्योगले उक्त सहमति अझै पुरा गरेका छैनन् । सहमति कार्यान्वयन नै नगरी उद्योगले अदालतको धाउँदै आइरहेको छ । अध्यक्ष पुन भन्छन्, ‘खानी पहुँच निर्माणको काम उद्योगहरुकै हो । तर उद्योगले त्यो काम नगरी अहिले सडक निर्माणको काम अलपत्र पर्दा पालिका र अध्यक्ष विरुद्ध अदालत धाउँदै आइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप