शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

बिउ आयातमै जान्छ राज्यको दुई अर्ब, नेपाल बिउमा आत्मनिर्भर कहिले ?

आइतबार, २८ फागुन २०७९, १० : ४६
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । नेपालमा हाल ८३ वटा बालीको ७०९ प्रजातिको उन्नत बिउ उत्पादन हुने गरेको बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी धानको ७५ वटा जातको बिउ उत्पादन हुने गरेको छ। तर, उन्नत बिउ भएता पनि नयाँ जातको धानको बिउका कारण बाला नलागेका घटना बेला बेलामा सार्वजनिक हुने गर्छ। जसका कारण किसान मर्कामा पर्ने गरेका छन् । 

नेपालमा उन्नत बिउ विजन उत्पादन गर्न नसक्दा वार्षिक अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ। चालु आर्थिक वर्षको ७ महिनामा दुई अर्ब २४ करोड ८३ लाख १२ हजार रुपैयाँको हजारको विभिन्न तरकारी र खाद्यान्नको बिउ आयात भएको छ। भन्सार विभागका अनुसार सबैभन्दा बढी मकैको बिउ आयात भएको छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, कोरिया, चीन, दक्षिण कोरिया, युएई र भारतबाट विभिन्न खाद्यान्न र तरकारीको बिउ आयात भएको देखिन्छ। 

नेपालमा बिउ उत्पादन गर्ने सम्भावना भएता पनि सरकारले आवश्यकता अनुसारको तरकारी तथा खाद्यान्नको बिउ उत्पादन गर्न सकेको छैन । बिउ उत्पादन गर्न नसक्दा सरकारले हरेक वर्ष तीन खर्ब भन्दा बढीको कृषिजन्य वस्तुको आयात गर्दै आएको छ। चालु आर्थिक वर्षमा मात्रै एक खर्ब ६३ अर्बको कृषिजन्य वस्तु आयात भएको छ। त्यसै गरी नेपालमा बर्षिक तीन खर्ब भन्दा बढीको तरकारी आयात हुने गरेको छ। तर, सरकारले भने प्राविधिक ज्ञानको कमीले गर्दा कृषकहरू आफैँ उन्नत जातको बिउ उत्पादन गर्नमा कठिनाइ झेलिरहेको बताउँछ ।  

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा ६ लाख ३५ हजार रुपैयाँको प्याजको बिउ आयात भएको छ। गहुँ ४१ लाख ४१ हजार, आलु नौ लाख ७७ हजार, तोरी ९८ करोड ९४ लाख ७७ हजार, मकै १० अर्ब ४० करोड एक लाख नौ हजार, भटमास एक करोड ४२ लाख ३१ हजार, धनिया ३० करोड २१ लाख ६२ हजारको बिउ आयात भएको छ।

त्यस्तै, सूर्यमुखी फुल ४५ लाख ७८ हजार, खरबुजा एक करोड २८ लाख ६२ हजार, बन्दा चार करोड ४० लाख ८७ हजार, मुला तीन करोड ७४ हजार ९७ लाख, गोलभेँडा चार करोड १६ लाख ४८ हजार, अन्य तरकारीको बिउ २८ करोड २७  लाख २९ हजार, फलफूल ५१ लाख ६५ हजार, काउली ४५ लाख ७८ हजार रुपैयाँको बिउ आयात भएको छ।

नेपालमा १५ हजार मेट्रिक टन धान, १८ हजार मेट्रिक टन गहुँ, ३ हजार मेट्रिक टन मकैको गुणस्तर उन्नत बिउ उत्पादन हुने गरेको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी डा प्रकाश आचार्यले बताए। नेपालमा धानका लागि प्रतिहेक्टर ५० केजी धानको उन्नत बिउ आवश्यक रहेकाले १५ लाख हेक्टर जमिनमा धानका लागि ७५ हजार मेट्रिक टन धानको उन्नत बिउ आवश्यक रहेको आचार्यको भनाइ छ । 

‘हामीले यसलाई बिउ प्रतिस्थापनको हिसाबले नाप्छौँ,’ आचार्यले भने, ‘जस्तै उदाहरणका लागि १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ भने करिब ७५ हजार मेट्रिक टन बिउ आवश्यक हुन्छ।’सरकारले बिउमा आत्मनिर्भर कार्यक्रम सञ्चालन नगरेका होइन । चालु आर्थिक वर्षको बजेटमा खाद्य सुरक्षाको लागि बिउ सुनिश्चितता अभियान अन्तर्गत कृषिमा आत्मनिर्भरताका लागि गुणस्तरीय बिउ बिजनमा आत्मनिर्भर बनाउँदै लगिने बताइएको छ । 

सरकारले हरेक वर्ष उन्नत तथा वर्णशंकर बिउ विकास तथा अनुसन्धानमा राष्ट्रिय कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र तथा किसानहरूको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने बजेट वक्तव्यमा उल्लेख गर्दै आएता पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन।

बिउमा छैन किसानलाई अनुदान 

गुणस्तरीय बिउ उत्पादन गर्न सरकारले ‘राष्ट्रिय बिउबिजन नीति २०५६’ पनि जारी गरेको छ । नीतिको उद्देश्य गुणस्तरीय बिउ उपलब्ध गराउने रहे पनि बजारमा पर्याप्त गुणस्तरीय स्वदेशी बिउ उपलब्ध छैन। मलमा अनुदान दिएता पनि बिउमा भने दुई वर्ष अघि मात्र सरकारले प्राथमिकता दिएको थियो। तर, किसानले बिउमा अझै अनुदान पाउन सकेका छैनन्।  

आफूले तरकारी खेती सुरु गर्न थालेको ७ वर्ष हुँदा पनि बिउमा अनुदान नभएको रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–१ का दावा साङवु शेर्पा बताउँछन्। उनले हाल आलु, काउली, बन्दा, मुला आदि खेती गर्दै आएका छन् । तर, तरकारीको उन्नत बिउ नपाउँदा उत्पादनमा कमी आएको छ। 

उनले भने, ‘अहिलेसम्म मैले अनुदानमा बिउ पाएको छैन। मैले रोपेको बिउ पनि सबै विदेशी हो। सबै बिउ किनेर नै रोप्नुपर्छ। सरकारले बिउ अनुदानमा दिए किसानलाई राहत हुन्छ। तरकारीको उत्पादन पनि बढ्ने छ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप