बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीन : सी जिनपिङले अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नर परिवर्तन गरेनन्, के हो सन्देश ?

आइतबार, २८ फागुन २०७९, १२ : ३६
आइतबार, २८ फागुन २०७९

अपेक्षा विपरीत चीनले केन्द्रीय बैङ्कका गभर्नर र देशका अर्थमन्त्री परिवर्तन नगरेर सबैलाई चकित बनाएका छन् । चिनियाँ सरकारमा लगातार फेरबदल भइरहेको छ र राष्ट्रपति सी जिनपिङलाई महत्त्वपूर्ण पदहरू दिइँदै छ । सी जिनपिङ आफैँ पनि तेस्रो पटक राष्ट्रपति बनेका हुन् ।

स्वदेश तथा विदेश दुवै मोर्चामा चुनौतीको सामना गरेका कारण चिनियाँ सरकारमा यी परिवर्तनहरू भइरहेको विश्वास गरिन्छ । यसै अन्तर्गत ली कियाङ अब चीनको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । कियाङलाई जिनपिङको निकै नजिक मानिन्छ ।

तर यी सबका बीच नेसनल पिपुल्स कङ्ग्रेसले ६५ वर्षीय यी ग्याङलाई सेन्ट्रल बैङ्क अफ चाइना (सीपीसी) को गभर्नरमा निरन्तरता दिन अनुमोदन गरेको छ भने ६६ वर्षीय लिउ कुनले पनि अर्थमन्त्रीको रूपमा निरन्तरता पाउने छन् ।

समाचार एजेन्सी रोयटर्सले पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झाङ झिवेईलाई उद्धृत गर्दै भन्यो, ‘सरकारले आफ्ना वरिष्ठ वित्तीय विज्ञहरूलाई परिवर्तन नगरी बजारलाई सकारात्मक सन्देश दिएको छ । विश्वव्यापी आर्थिक दृष्टिकोण अझै चुनौतीहरूले भरिएको छ । यस्तो अवस्थामा वित्तीय र आर्थिक मामिलाको नेतृत्व नफेरिँदा बजारप्रतिको विश्वास बढाउन मद्दत गर्छ ।’

अमेरिकामा अध्ययन गरेका चीनको केन्द्रीय बैङ्क प्रमुख यी ग्याङ सन् २०१८ देखि यो पदमा छन् । पाँच वर्ष यो पदमा रहेर अब अवकाश लिने विश्वास गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप