शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : मच्छिन्द्रले खाता खोल्यो

आइतबार, २८ फागुन २०७९, १८ : १६
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी फुटबलसँग गोलरहित बराबरी खेल्दै सहिद स्मारक ए डिभिजन लिग तालिकामा पहिलो अंक जोडेको छ ।

ललितपुरस्थित  अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मच्छिन्द्रले मनाङलाई रोक्दै तालिकामा खाता खोलेको हो । निकै रोमाञ्चक बनेको खेलमा  दुवै टोली केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न असफल भएका थिए । यस बराबरीसँगै मनाङको तीन खेलबाट ५ अंक भएको छ । 

यसअघि मछिन्द्रले जावलाखेल युथ क्लबसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ को पराजय व्यहोरेको थियो । मनाङले हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दा संकटा क्लबलाई १–० ले पराजित गरेको थियो ।

लिग अन्तर्गत आइतबारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । च्यासल मैदानमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । 

५२ औं मिनेटमा लालनुनजामाले एनआरटीलाई १–१ को बराबरीमा ल्याएको खेलमा ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो । ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अवस्थामा पु¥याए पनि ६८ औं मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो । ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीको हारलाई टारेका थिए । बराबरी पछि आर्मीको तीन खेलबाट ५ अंक भएको छ । यस्तै एनआरटीको ३ खेलबाट १ अंक छ ।

यसअघि संकटा क्लबसँग गोलरहित बराबरी खेलेको आर्मीले साबिक विजेता मच्छिन्द्रलाई २–० ले पराजित गरेको थियो । यसैगरी एनआरटीले सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबसँग समान २–१ को पराजय व्यहारेको थियो ।

लिगमा सोमवार पनि दुई खेल हुनेछन् । च्यासल मैदानमा आयोजना हुने खेल हिमालयन शेर्पा र खुमलटार युथ क्लब तथा दशरथ रंशालामा हुने खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप