बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाका सबै विद्यालयमा सडक सुरक्षा शिक्षा दिइने

सोमबार, २९ फागुन २०७९, १४ : ४६
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ । सोमबार महानगरपालिकाको शिक्षा महाशाखा महानगर प्रहरीको सहयोगमा सेन्ट जेभिर्यस स्कुलमा पुस्तक विमोचन गरिएको हो । 

पुस्तक ललितपुर महानगरपालिकाका सबै विद्यालयमा अध्यापन गराउने लक्ष्य राखिएको छ । सो पुस्तक महानगर प्रहरी प्रमुख सीताराम हाछेथुद्वारा सम्पादन गरिएको हो । सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक सङ्केतहरु, हेल्मेट र सिटबेल्ट, सबैका लागि सडक, खेलकुद र सडक, आकाशेपुल, सब वे, बसमा सुरक्षा, ताँती–पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अङ्कल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिक उपचार, म त ज्ञानी विद्यार्थी, सहित गलत र ट्राफिक चिन्हहरू गरी पुस्तकमा कुल १९ वटा विषय सूची रहेका छन् । 

राष्ट्रका कर्णधार मानिने साना विद्यार्थीहरूलाई विद्यालय देखिनै सडकको प्रयोग, सडकपेटी र यससँग सम्बन्धित अन्य पूर्वाधारका विषयमा जानकारी, सतर्कता र सुरक्षाका विषयमा व्यवहारिक शिक्षा दिने उद्देश्यले सडक सुरक्षा शिक्षाको सुरुवात गरेको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए । सडक, आकाशे पुल, सब वे, सडकपेटी, साइकल लेनहरूको प्रयोगका बारेमा विद्यालयस्तरमै हासिल गरेका ज्ञानले सीमित पूर्वाधारमा पनि सुरक्षित भएर हिँड्न सकिने उनको भनाई थियो । ‘यो पाठ्यपुस्तक ललितपुर महानगरपालिका भित्रको सबै विद्यालयहरूमा अध्ययन हुन्छ,’ उनले भने, ‘यो पुस्तक प्रकाशित गरेकोमा नगर प्रहरी प्रमुख सीताराम हाछेथुलाई विशेष धन्यवाद छ ।’

हरेक दिनजसो घट्ने सडक दुर्घटनाले सहर चुनौतीपूर्ण रहेकाले यसका लागि सडक पुस्तक प्रकाशित गरिएको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए । संस्कृति निर्माणको जग भनेको अहिलेको अवस्थामा आधारभूत तहको शिक्षा नै भएको उनले बताए । ‘यस पुस्तकको सहायताले शैक्षिक संस्थाहरूमा सडक र सवारी अनुशासन बुझ्ने नयाँ पुस्ताको निर्माण हुनेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘यसको कार्यान्वयनको लागि सम्बद्ध सम्पूर्ण पक्षहरूको सहयोगको अपेक्षा गर्दछु ।’

CamScanner 03-13-2023 13.42

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप