बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इमरान खानको मुद्दामा अब के हुन्छ ? पाकिस्तानका गृहमन्त्रीले दिए जानकारी

शुक्रबार, ०३ चैत २०७९, १५ : ५९
शुक्रबार, ०३ चैत २०७९

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले बिहीबार पूर्व प्रधानमन्त्री इमरान खानले अदालतको आदेश नमान्ने हो भने नयाँ रणनीति बनाउने बताएका छन् ।

एक निजी समाचार च्यानलसँगको कुराकानीमा उनले इमरान खानले अदालतको आदेशको सम्मान गर्नुपर्ने र सार्वजनिक समय खेर फाल्ने तरिका अपनाउन नहुने बताए ।

राणा सनाउल्लाहले पिटिआई प्रमुख इमरान खानले देशमा अशान्ति फैलाएर राजनीतिक फाइदा उठाइरहेको आरोप लगाएका छन् । उनले भने, ‘उनी आफैँ र उनका समर्थकहरू कानुन र व्यवस्था उल्लङ्घन गरिरहेको पाइएको छ ।’

एक प्रश्नको जवाफमा उनले इमरान खानलाई गिरफ्तार गर्नु आफ्नो प्राथमिकता नभएको तर उनले देशमा अराजकता सिर्जना गरेको बताएका छन् । ‘इमरान खान अदालतमा हाजिर हुने सम्बन्धमा दिइएको आदेशलाई हामी कार्यान्वयन गर्नेछौँ,’ उनले भने ।

यस्तै, इमरान खानले बिहीबार आफूलाई प्रहरीले हिरासतमा राखेर यातना दिँदै हत्या गर्न चाहेको बताएका छन् । 

इमरान खानलाई पक्राउ गर्न प्रहरी बिहीबार उनको घर पुगे पनि उनलाई पक्राउ गर्न सकेन । त्यसपछि प्रहरीले उनी विरुद्ध नयाँ एफआइआर दर्ता गरेको छ । यस नयाँ एफआईआर अनुसार इमरान खानमाथि प्रहरीमाथि आक्रमण गर्न मानिसहरूलाई उक्साएको आरोप लगाइएको छ ।

इमरान खानविरुद्ध ८३ वटा एफआइआर दर्ता भएका छन् । हालको हङ्गामा दुई मामिलाका कारण भइरहेको छ । तोशाखाना र महिला न्यायाधिसको अपमान । 

यी दुवैमा उनी विरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । तर, अब तोशाखान मुद्दामा मात्रै वारेन्ट बाँकी छ । बिहीबार दिउँसो न्यायाधीश जेवा चौधरीको इजलासले वारेन्ट खारेज गरेको हो । उनलाई सोमबार अदालतमा बोलाइएको छ ।

तोशाखाना मुद्दामा इमरान खानको घरबाहिर प्रहरी पुगेको थियो, अब उनी मार्च १८ मा इस्लामावाद उच्च अदालतमा हाजिर हुनुपर्नेछ ।

के हो तोशाखाना प्रकरण ?

७० वर्षीय खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको छ । आफ्नो सम्पत्ति विवरणमा उनले तोशाखानाबाट प्राप्त उपहारहरूको विवरण लुकाएको बताइएको छ । तोशाखाना – एक कोष, अन्तर्गत सरकारी अधिकारीलाई विदेशी अधिकारीले दिएका उपहार राख्ने गरिन्छ ।

खानलाई उपहार दिएका तीन घडी बेचेर ३६ मिलियन डलर कमाएको आरोप छ । उनले कुनै उपहार कोषमा जम्मा नगरेको आरोप छ, पाकिस्तानमा प्रधानमन्त्री भएकाले निश्चित रकम तिरेर मात्र उपहार राख्न पाइन्छ । उनले यो नियम पनि उल्लंघन गरेको आरोप छ । 

इस्लामाबाद उच्च अदालतले गत हप्ता पीटीआई अध्यक्ष विरुद्ध जिल्ला र सेसन कोर्टले जारी गरेको गिरफ्तारी वारेन्टलाई मार्च १३ सम्म निलम्बन गरेको थियो ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप