शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : हेबिवेट भिडन्तमा चर्च व्वाईज र मच्छिन्द्रले अंक बाँडे

शुक्रबार, ०३ चैत २०७९, १८ : १७
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाईज युनाईटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शुक्रवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

च्यासल मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको चर्च ब्वाईजले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा डिफेन्डङ च्याम्प्यिनसँग अंक बाँड्न बाध्य भएको हो । स्पष्ट अंक निकाल्ने रणनीतिका साथ आक्रामक फुटबल खेलेका दुवै टोली अग्रपंक्तिमा चुकेका थिए ।

यस बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोड्दा मच्छिन्द्रको समान खेलबाट पाँच अंक भएको छ । मच्छिन्द्रले नवप्रवेशीसँग अंक खोस्न असफल हुँदा तालिकामा अगाडि चढ्न कठिन भएको छ । 

प्रतिष्पर्धात्मक बनेको खेलमा ११ औं मिनेटमा चर्च ब्वाईजले पहिलो अवसर खेर फाल्न पुगेको थियो । आशिष चौधरीले प्रहार गरेको बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो । २७ औं मिनेटमा आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागाईं पेनाल्टी क्षेत्रमा चुके । खेलको ३१ औं मिनेटमा मछिन्द्रका उत्सव राईको प्रहार सेकेन्ड बार नजिकैबाट चर्च ब्वाइजका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे । 

खेलको ४० औं मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको कर्नर प्रहारमा देवेन्द्र तामाङको टार्गेटले सही दिशा लिन सकेन । ४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटिएको थियो । पुजनले चर्च ब्वाईजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको मच्छिन्द्रले दर्जनौ प्रयास गरेपनि गोल गर्न असफल रह्यो । ५५ औं मिनेटमा आशिष चौधरीको पेनाल्टी बक्स भित्रको प्रहार फितलो रह्यो । बाँकी समयमा मच्छिन्द्र रक्षात्मक खेल्दा चर्च ब्वाईजको आक्रामक रणनीति विफल नै रह्यो र खेल गोलरहित बराबरीमा टुङ्गीएको हो । 

लिगका सुरुवाती तीन खेलमा क्रमशः नेपाल पुलिस क्लब, एफसी खुमलटार र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै चर्चा कमाएको चर्च ब्वाइज चौथो खेलमा भने संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो । 

उता सुरुवाती दुई खेलमा क्रमशः जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय ब्यहोरेको मच्छिन्द्रले तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने चौथो खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । उपाधि दाबेदार मानिएको मच्छिन्द्रले जारी लिगमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको छैन ।

लिग अन्तर्गत शुक्रवार नै एन्फा मैदानमा भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ । यससँगै जावलाखेलले जारी लिगमा तेस्रो जित निकालेको छ । नियमित कप्तान अघिल्लो खेलमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए पछि उनी बिना खेलेको जावलाखेलका लागि एन्कोटो मासोबीले १६ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको हो । जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ । थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ ।

लिगमा शनिबार पाँचौ चरणका अन्तिम तीन खेल हुनेछन् । पहिलो खेल च्यासल मैदानमा फ्रेन्ड्स र त्रिभुवन आर्मी क्लबबीच हुनेछ भने दोस्रो खेल विभागीय टोली नेपाल पुलिस र न्युरोड टिम एनआरटीबीच दशरथ रंगशालामा साढे २ बजे हुनेछन् । यस्तै तेस्रो खेल दरशथ रंगशालामा साढे ५ बजे मनाङ मर्स्याङ्दी र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप