शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमै रिलिज होलान् यी ४ फिल्म ?

बुधबार, ०८ चैत २०७९, १७ : ५९
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । राम्रो मितिमा फिल्म प्रदर्शनमा लागि जहिले पनि निर्माता निर्देशकबिच तछाडा मछाड हुने गर्छ । झन् नयाँ वर्षमा त फिल्मको भिड नै लाग्छ । यो नयाँ वर्षमा पनि ४ फिल्म भिड्ने देखिएको छ । केही अगाडि ५ फिल्म भिड्ने भनिए पनि ‘भगवत् गीता’ समयमा छायांकनमा हुन नसक्दा (४ फिल्म) ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’  भिड्ने पक्कापक्की छ ।

४ मध्य ‘नाईं नभन्नू ल ६’ सफल फिल्म ‘नाईं नभन्नू ल’ को छैंटौ सिरिज हो । थुप्रै सफल फिल्मका निर्देशक विकासराज आचार्यको यो महत्त्वाकाङ्क्षी फिल्म भनिएको छ ।  फिल्ममा आँचल शर्मा, आर्शिवाद क्षेत्री लगायतको अभिनय छ । केही अगाडि गीत र ट्रेलर सार्वजनिक बाहेक फिल्मको प्रचारप्रसार गरिएको छैन ।

त्यस्तै अर्को फिल्म ‘प्रसाद २’ पनि सफल फिल्म ‘प्रसाद’ को सिक्वेल हो । छायांकन समयदेखिनै विवाद र चर्चा दुवै हुँदै आएको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथाको फिल्म राम्रो बनाउन माहिर निर्देशक थापाको यो फिल्ममा विपिन कार्की र केकी अधिकारी लगायतको अभिनय छ । फिल्मले भने प्रचार प्रसार थालिसकेको छ ।

अर्को ‘जारी’ अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म हो । लिम्बु समुदायको प्रेमकथामा आधारित यो फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मले पनि प्रचारप्रसार नगरेकोले आउने नआउने भन्न सकिन्न ।

नयाँ वर्षमै आउने भनेर धेरै प्रचार प्रसार गरेको फिल्म हो ‘बिहे पास’ । निर्माण समयदेखिनै कुनै न कुनै कारणले चर्चा रहँदै आएको फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका छ । फिल्ममा दयाहाङ, प्रकृतिको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झाको पनि मुख्य भूमिका छ । फिल्म प्रवेश पौडेलले निर्देशक गरेका हुन्, भने निर्माता रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् ।

अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार फिल्मको प्रचारप्रसार हेर्दा नयाँ वर्षमा आउने भनिएका ४ फिल्म मध्य सबै नै रिलिज हुन्छ भन्न सकिने अवस्था छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप