शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
अपराध

तिब्बतीयन शरणार्थी क्याम्पमा बस्ने लेखापालले कसरी लिए नेपाली नागरिकता ?

प्रशासकीय अधिकृत नै संलग्न
शुक्रबार, १० चैत २०७९, ११ : ५६
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । चीनको तिब्बत घर भएका लोब्साङ ठिन्लेउर्फ लोब्साङ गुरुङ नेपालमा बसेको लामो समय भइसक्यो । २५ वर्षीय लोब्साङ तनहुँको दुलेगौँडास्थित तिब्बतीयन शरणार्थी क्याम्पमा बस्छन् । उनी त्यहाँका लेखापाल पनि हुन् । तीनै तिब्बतीयनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लोब्साङ सहित उनलाई नागरिकता दिलाउने समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीसहित ५ जना छन् ।

लोब्साङलाई नेपाली नागरिकता दिलाउन दुई वटा समूह सक्रिय भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एउटा समूहले नक्कली कागजात तयार गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँको गेट बाहिर सम्म लगिदिए । अर्को समूहले जिल्ला प्रशासन कार्यालयभित्र ‘सेटिङ’ मिलाएर उनलाई नागरिकता  दिलाए ।

काठमाडौँ जिल्ला प्रशासनबाट तिब्बतीयनले नागरिकता लिने गरेको सूचना प्रहरीले फागुन पहिलो साता पाएको थियो । सो सूचना पछ्याउँदै जाँदा नागरिकता किनबेच गर्ने समूहको पोल खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

लोब्साङलाई नागरिकता दिलाउन झापाको कचनाकवल गाउँपालिका–३ घर भएका कृष्ण बहादुर कटुवालले आवश्यक कागजात बनाउने जिम्मा लिएका थिए । लतिलपुरको इमोडाल बस्ने ४७ वर्षीय कटुवालले वडाको सिफारिस लगायतका कागजात नक्कली बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कटुवाल आफूले कागजात बनाउने जिम्मा लिएर हिरालाल सिवाकोटीलाई कागजात बनाउन लगाएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी राठौरका अनुसार मोरङको सुन्दर हरैंचा नगरपालिका घर भएका सिवाकोटीले नक्कली कागजात बनाएर कटुवाललाई दिएका हुन् । सो कागजातका आधारमा लोब्साङले नागरिकता पाए । कटुवाल र हिरालाल दुवै जना पक्राउ परेका छन् ।

क्यान्टिन सञ्चालक पक्राउ, प्रशासकीय अधिकृतको संलग्नता

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिब्बतीयनलाई नागरिकता दिलाउन बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा कम्तीमा १६ वटा समूह सक्रिय रहेको देखिएको छ । नक्कली कागजात बनाउने समूहको भूमिका गेट बाहिर मात्रै हुन्थ्यो । प्रशासन कार्यालयभित्रको जिम्मेवारी क्यान्टिन सञ्चालक र प्रशासकीय अधिकृतको हुन्थ्यो ।

ललितपुरको गोदावरी घर भएका ३० वर्षीय विजय लामा प्रशासन कार्यालयभित्रको चमेना गृहको सञ्चालक हुन् । विजयले पेस गर्ने नक्कली कागजातको आधारमा प्रशासकीय अधिकृतले नागरिकता बनाइदिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले विजयलाई पक्राउ गरेको छ । विजयले कान्छा गुरुङलाई बुवा बनाएर लोब्साङ ठिन्लेलाई नागरिकता दिलाएको देखिएको एसपी राठौरले बताए । कान्छा गुरुङलाई ‘बुवा’ बनाएर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ जना तिब्बतीयनले नागरिकता लिएको भेटिएको छ ।

शरणार्थीलाई नागरिकता जारी गर्ने प्रशासकीय अधिकृतबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । विजयले नागरिकता फाँटमा कार्यरत एक जना नायव सुब्बा र प्रशासकीय अधिकृतसँग मिलेर नागरिकता बनाइदिने गरेका थिए । एउटा नागरिकता बनाएबापत सो गिरोहले ३ देखि ५ लाख लिने गरेको अनुसन्धानबाट खुलेको छ । ठिन्लेले ३ लाख ५० हजार तिरेर नागरिकता बनाएको प्रहरीलाई बताएका छन् ।

नागरिकता बनाउने समूहले अधिकांशलाई काठमाडौँ महानगरपालिका वडा नम्बर–६ बौद्धको बासिन्दाको रूपमा चिनाएका छन् । ६ नम्बर वडा कार्यालयको सिफारिस कागजातको आधारमा तिब्बतीयनले नागरिकता पाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–६ का अध्यक्ष भुवन लामाको नामको छाप प्रहरीले बरामद गरेको छ । सो छाप जिल्ला प्रशासन कार्यालय नजिकै कटुवालको लेखापढी अफिसबाट बरामद गरिएको एसपी राठौरले जानकारी दिए ।

कीर्ते काम गरेर ललितपुरमा घर

कृष्ण बहादुर कटुवाल यसअघि पनि दुई पटक किर्ते मुद्दामा पक्राउ परेर छुटेका हुन् । कटुवालविरुद्ध प्रहरीले यसअघि २०७७ र २०७२ मा ठगी र किर्तेमा मुद्दा चलाएको थियो ।

झापाको कचनाकवलका स्थायी बासिन्दा कटुवाल अहिले ललितपुरको इमाडोलमा बस्छन् । इमाडोलमा उनले भव्य घर बनाएका छन् । किर्ते काम गरेर नै उनले घर बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । काठमाडौँ प्रशासनबाट कटुवालले १० वटा नागरिकता दिलाएको भेटिएको छ । प्रहरीसँग कटुवालले भनेका छन्, ‘नागरिकता बनाउन ५ सय भन्दा बढी कागजात मिलाइदिएको छु ।’

प्रहरीको नियन्त्रणमा रहेका ७० वर्षीय न्युल्केश श्रेष्ठ मध्यपुर थिमीका हुन् । गिरोहले उनलाई नक्कली बुवा बनाएर नागरिकता बनाउन प्रयोग गर्ने गरेको थाहा भएको छ । न्यूल्केशले सनाखत गरेर तिब्बतियन मिङछुङ शेर्पाले नागरिकता लिएको खुलेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘न्यूल्केशलाई बुवा बनाएर  ४ जनाको नागरिकता जारी भएको देखिन्छ ।’

काठमाडौँ–६ बौद्ध ठेगाना उल्लेख भएका र न्यूल्केशलाई बुवा कायम गरेर सोनाम छोदेन, टासी शेर्पा, यशोदा शेर्पा र नाम्से शेर्पाले नागरिकता लिएका छन् । गिरोहले नक्कली बुवा र नक्कली कागजात पेस गरेर सक्कली नागरिकता बनाउँथे ।

नक्कली बुवाको रेट १० देखि १२ हजार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कटुवालले भने अनुसारका नक्कली कागजात हिरालाल सिवाकोटीले १५ सयदेखि २ हजारमा तयार गरिदिन्थे । अनि, कटुवालले तिब्बतीयनसँग ३ देखी ५ लाखमा नागरिकता बनाउन ‘डिल’ गर्थे ।

कटुवालको कार्यालयबाट प्रहरीले ५ सय देखि ६ सय थान फोटाहरू बरामद गरेको छ । बबरमहल क्षेत्रमा उनले ९ वर्षदेखि लेखापढी अफिस सञ्चालन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप