बसन्त कुँवर : २८ वर्षसम्म ‘लो प्रोफाइल’मा काम गरेका आईजीपी
काठमाडौँ । वसन्त कुँवरले जागिरे जीवनमा आफूलाई ‘लो प्रोफाइल’मा हिँडाए । २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवरमा ‘हाकिम शैली’ नदेखिएको उनी निकट प्रहरी अधिकारीहरू बताउँछन् । अर्घाखाँचीको सन्धिखर्कस्थित तुम्कोटमा जन्मेहुर्केका कुँवर नेपाल प्रहरीको सर्वोच्च पद (आईजीपी) नियुक्त भएका छन् ।
गण्डकी प्रदेशका पूर्व प्रमुख बाबुराम कुँवरका भाइ वसन्त प्रहरीमा ‘इमानदार’ छविको अधिकृतका रूपमा परिचित छन् । शुक्रवार आईजीपी नियुक्त भएका कुँवर आफ्नो ब्याचमा एक नम्बरका अतिरिक्त महानिरीक्षक (एआईजी) थिए । इन्स्पेक्टरबाट पास आउट हुँदा देखी प्रहरी उपरीक्षकसम्म ‘टप फाइभ’ मेरिटमा रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुँदा पछि परेका थिए । एसएसपीमा उनी १३ नम्बर बरीयतामा थिए । तर, डीआईजीमा बढुवा हुँदा उनले फड्को मारे । २०७९ असारमा कुँवर सहित १७ जना डीआईजीमा बढुवा भए । सो बढुवा सूचीमा कुँवर एक नम्बरमा बढुवा भएका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड गरिरहेको अवस्थामा डीआईजी भएका कुँवरलाई आईजीपी धिरज प्रताप सिंहको दर्बिलो साथ रह्यो । सिंहकै अडानले उनी एक नम्बर डीआईजी भए । त्यसपछि कुँवरले फर्केर हेर्नुपरेन । एआईजीमा एक नम्बर वरीयता कायम राख्दै उनी प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएका छन् ।
प्रहरी वृत्त बालाजुको इन्चार्ज हुँदा उनले मानव अधिकार उल्लङ्घन गरेको आरोप लाग्ने गरेको छ । त्यसयता प्रहरी जीवनमा उनी ठुलो विवादमा आएनन् । २०२६ साल चैत १५ मा जन्मेका कुँवर प्रहरीभित्र ‘निडर’ स्वभावका अधिकृतको रूपमा चिनिन्छन् ।
दौडने स्वभाव
डिआईजी हुँदा मधेस प्रदेशको कमान्ड गरेका कुँवरको कमान्ड क्षमता ‘मध्यम स्तर’को मानिन्छ । कमाण्डसिप मध्यम खालको भएका कुँवरलाई प्रहरीमा ‘दौडने अधिकृत’को रूपमा चिन्छन् ।
बिहान सबेरै उठेर दौडने उनी हरेक बिहानमा २७ किलोमिटर सम्म दौडने गरेको आफ्ना सहकर्मीहरूलाई सुनाउँछन् । ‘कुँवर नडराउने अधिकृत हुन्’ उनका एक जना ब्याचमेटले रातोपाटीसँग भने–‘बिहानै उठेर लामो दौडने उनको बानी छ ।’
कुँवरको अर्को विशेषता इमानदारीता हो । उनीसँग निकट एक जना अधिकृत भन्छन्, ‘वसन्त कुँवर इमानदार छन्, मिठो बोल्ने अधिकृत हुन् ।’
कुँवर प्रहरीमा ब्यवसायिक अधिकृतको रूपमा चिनिन्छन् । प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँदा कुँवरले प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी कार्यालय गोरखाको कमान्ड गरे ।
प्रहरी उपरीक्षक (एसपी) हुँदा उनले नुवाकोट र चितवनको कमान्ड गरेका थिए । कुँवर चितवनको एसपी हुँदा अहिलेका गृह सचिव विनोद प्रकाश सिंह प्रमुख जिल्ला अधिकारी थिए । कुँवर स्वार्थका लागी शक्तिकेन्द्रको ढोकामा नजाने अफिसरको रूपमा चिनिन्छन् । एआईजीमा बढुवा भएपछि चैत ८ मा एआईजीको फुली लगाएका कुँवरले ३ दिनपछि आईजीपीको फुली लगाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण