बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो

एयर इण्डिया र कतार एयरवेजमाथि छानबिन हुने
आइतबार, १२ चैत २०७९, २३ : २४
आइतबार, १२ चैत २०७९

काठमाडौँ । नेपाल एयरलाइन्ससँग आकाशमा नै ठोकिनबाट बचेको एयर इण्डियाको बदमासीमाथि छानबिन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गर्ने भएको हो । 

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन विमानस्थल आउँदै थियो । ठिक त्यति नै बेला दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इण्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेर दुर्घटनाबाट बचेको थियो । यो घटनाप्रति नागरिक उड्डयन प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हवाई सुरक्षा जस्तो अति संवेदनशील विषयमा एयर इण्डियाको चरम लापरबाही देखाएको भन्दै अर्थात् छानबिन गर्न दुई सदस्यीय छानबिन समिति गठन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीलाई जानकारी दिए । 

‘हवाई सुरक्षा जस्तो अति संवेदनशीलतामा गल्ती गर्नेमाथि कारबाही हुन्छ । घटनामा के भएको थियो, अहिले हामी अध्ययनकै क्रममा छौँ । सत्य, तथ्य जानकारी भएपछि सार्वजनिक गर्छौ’ निरौलाले रातोपाटीसँग भने । 

तर, प्राधिकरणले आन्तरिक रूपमा छानबिन समिति गठन गरेको भएपनि सदस्यहरूको सूचना भने गोप्य राखेको छ । जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन गरिएको निरौलाको भनाइ छ ।

एक महिनाको बीचमा दोस्रो घटना

उसो त यस्तो घटना पहिलो भने होइन । यसअघि गत फागुन १५ गते पनि यस्तै घटना नेपाली आकाशमा घटेको थियो । २७ फेब्रुअरी, २०२३ का दिन कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सकै जहाज यसैगरी आकाशमै ठोक्किनबाट बचेका थिए । उक्त घटनाबाट डोमोस्टिक एयरलाइन्स ‘बुद्धएयर’ समेत बालबाल बचेको थियो । 

भएको के थियो ?

गत फागुन १५ गते बिहान त्रिभुवन विमानस्थलको एयर ट्राफिक एकदमै भिड थियो । रन वे मा उड्ने जहाज र अवतरणका लागि अनुमति माग्ने जहाजको क्यू लागेको थियो । यति नै बेला कतारबाट आएको कतार एयरवेज, मलेसियाबाट आएको नेपाल एयरलाइन्स र आन्तरिक गन्तव्यबाट आएको बुद्ध एयरले त्रिभुवन विमानस्थल ‘एयर ट्राफिक कन्ट्रोल (एटीसी)’ सँग अवतरण अनुमति मागे । तर, रन वे प्याक थियो । 

एयर ट्राफिक लोड भएकाले टीआईएको एटीसी टावरले तीन वटै जहाजलाई केही बेर आकाशमा नै होल्ड हुन भन्यो । जहाजहरू विमानस्थलदेखि १७ माइल दक्षिणमा रहेको गुराँस विन्दु (जहाज होल्ड गर्न तोकिएको ललितपुरको भट्टेडाँडामाथिको क्षेत्र) मा होल्ड भए । जतिबेला कतार एयरवेजको जहाज १३ हजार ५ सय फिटको उचाइमा रहेको थियो भने नेपाल एयरलाइन्स १२ हजार ५ सय र बुद्ध एयरलाइन्स ११ हजार ५ सय फिटको उचाइमा । 

तीन वटा जहाजले १÷१ हजारको दुरी कामय गरेर होल्ड भएकोमा त्यति नै बेला कतार एयरवेजले अकस्मात् ७ सय फिट तल झरिदियो । एटीसीसँगको कुनै अनुमति विना जहाज तल झरिदिएपछि नेपाल एयरलाइन्ससँग झण्डै ठोकिन पुगेको थियो । यता नेपाल एयरलाइन्सले पनि तत्काल आफ्नो उचाइ केही कम गरेर दुर्घटनाबाट बचेको थियो । तर, एयरलाइन्स पनि तल्लो स्टेपमा रहेको अर्को जहाज बुद्ध एयरसँग ठोकिन सक्ने अर्को जोखिम थियो । यसले तीन वटै जहाज दुर्घटना हुन सक्थ्यो । तर, त्यसो भएन । यो घटनाबाट तीन वटै जहाज जोगिए । 

खासगरी यो घटनामा कतार एयरवेज मुख्य दोषी देखिएको छ । एयर ट्राफिक कन्ट्रोलसँग कुनै अनुमति नै नलिई उचाइ डाउन गर्दा अर्को दुई जहाज समेत जोखिम पर्नुपरेको थियो । यो घटनाको समेत सत्य, तथ्य छानबिन हुने प्रवक्ता निरौलाले रातोपाटीसँग बताए । 

‘यहीँ छानबिन समितिले दुवै घटनाको छानबिन गर्छ । घटनाको प्रकृति र संवेदनशीलता हेरेर एयरलाइन्समाथि कारबाही हुने÷नहुने यकिन हुन्छ’ निरौलाले भने । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप