मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

शुभेच्छाको फेरिएको परिचय

‘अभिनेत्री होइन, राम्रो कलाकार बन्ने हो’
बिहीबार, १६ चैत २०७९, ०९ : ११
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । अभिनेत्री शुभेच्छा खड्काको दैनिकी अचेल फेरिएको छ । स्टेज कार्यक्रममा होस्टका रूपमा देखिँदै आएकी उनलाई पछिल्लो समय मिडियामा अन्तर्वार्ता दिँदैमा भ्याइ नभ्याई छ । 

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को प्रचारप्रसारले अचेल मिडियाकर्मीसँगै दिन बित्ने गरेको उनले बताइन् । ‘प्रेमा’को कारणले अहिले सामाजिक सञ्जालदेखि मिडियासम्म छाइरहेकी छु’, उनले हर्षित मुद्रामा भनिन्, ‘फिल्मको अलावा मेरो पनि चर्चा भइरहेको छ । म एकदमै खुसी छु ।’

‘प्रेमा’ शुभेच्छाको दोस्रो फिल्म हो । ४ वर्ष अगाडि उनको डेब्यु ‘रणवीर’ फिल्मबाट भएको थियो । चर्चा र समीक्षा राम्रो बटुलेपनि ‘रणवीर’ले सफल व्यवसाय गर्न भने सकेन । त्यसैले पनि उनलाई दोस्रो फिल्म ‘प्रेमा’बाट व्यावसायिक आश छ, साथै डर पनि । 

डर यस मानेमा कि उनको फिल्म हेर्न हलसम्म दर्शक जान्छन् कि जाँदैनन् भन्ने हो । फिल्म राम्रो बनेकोले हलमा पुगेको दर्शकले रुचाउनेमा उनी भने विश्वस्त छिन् ।

‘रणवीर’मा छोटो भूमिकामा अभिनय गरेकी उनको ‘प्रेमा’ मा मुख्य भूमिका छ । शान्त, सरल र हरेक महिलासँग मेल खाने आफ्नो भूमिका रहेको उनी बताउँछिन् । 

338496065_924283175448342_8985456796680168096_n

‘फिल्मको चरित्र हरेक महिलासँग मेल खान्छ । फिल्म हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रूप पाउँछन्’, उनले भनिन् ‘यो सरप्राइज प्रेमकथा हो । जुन कुरा कसैले सोचेको छैन, त्यो यो फिल्मले दिन्छ ।’

रियल लाइफमा उनी सहरिया संस्कृतिमा हुर्किएकी हुन् । यो फिल्मको रिल लाइफमा भने उनले गाउँले भूमिका निर्वाह गरेकी छन् । उनी आफूलाई ‘लाउड पर्सन’ मान्छिन् । तर ‘प्रेमा’ फिल्ममा प्रेमा चरित्र उनी भन्दा धेरै फरक छ रे ।

‘प्रेमा गाउँकी लजालु केटी हो । फिल्ममा आफूलाई भिजाउन केही समय लाग्यो । प्रेमाको लुक्समै फिट गराउनसमेत समय लाग्यो । एक दुई दिन त म राम्री देखिएँ या देखिनँ भन्नेमा अन्योल थियो’ उनले भनिन्, ‘सुटिङ सकिएपछि पनि केही महिना ह्याङ रह्यो ।’ 

फिल्ममा उनको बोल्ने शैली र लवज भने सुदूरपश्चिमको छ । अभिनयका लागि मिहिनेत पनि धेरै भएकोले प्रतिक्रिया पनि राम्रो आउने उनले विश्वास लिएकी छन् । 

‘फिल्मले अभिनय गर्न सक्ने कलाकारको रूपमा समेत चिनाउने छ । कलाकारको रूपमा आफूलाई प्रमाणित गरेकी छु’ उनले गर्व गरिन् ।

उनी कलाकार भएपछि जस्तो भूमिका आउँछ, त्यो स्वीकार्नु पर्ने बताउँछिन् । त्यही रूपमा आफूलाई अहिले तयार गरेको समेत सुनाइन् । भन्छिन्, ‘अभिनेत्री भन्दा पनि कलाकारको रूपमा स्थापित हुने सोच छ ।’ 

गोविन्द सिंह भण्डारी निर्देशित ‘प्रेमा’ मा उनको अलावा अरुण क्षेत्री र सृष्टि श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । 

335468713_1305134843739294_5498021932534711225_n

अनुपसँग अभिनय प्रशिक्षण

फिल्म फ्लप होस्, कि हिट । प्रायः कलाकार फिल्ममा लगातार देखिँदै आएका छन् । पहिलो फिल्मपछि उनको ४ वर्ष ग्याप रह्यो । यसलाई कतिले फिल्म नपाएको गसिफ लेखे भने कतिपयले फिल्म छोडेको समाचार । तर उनी भने राम्रो कथाको फिल्म कुर्दा अभिनयमा ग्याप भएको बताउँछिन् ।

‘रणवीरपछि केही फिल्मको अफर आयो । पटकथा पढें, चित्त बुझेन । त्यसपछि कोरोना आयो । फिल्म निर्माण पनि भएन । कोरोनापछि प्रेमाको राम्रो अफर आयो मैले गरे’, उनले थपिन् ‘प्रेमा गर्नुको कारण अफर मात्र होइन । शीर्ष भूमिका पनि हो ।’ भूमिका च्यालेन्जिङ भएपनि निर्देशक गोविन्द सिंह भण्डारी भएकाले विश्वास लागेको उनले बताइन् । उनले भण्डारी निर्देशित फिल्मबाटै डेब्यु गरेकी थिइन् ।

अभिनयमा ग्याप हुनुको उनको अर्काे कारण अभिनय प्रशिक्षण पनि हो । यो बीचको समय उनले निर्देशक अनुप बरालसँग एक्टर्स स्टुडियोमा अभिनय कोर्स पनि सकाएकी छन् ।

‘‘रणवीर’ रहरले अभिनयमा गरेको थिएँ । त्यसै सिलसिलामा कलाकारिताप्रति मोह, माया र इज्जत पलायो’, उनले अभिनय सिक्नुको कारण खोलिन्, ‘कलाकारले मिहिनेत गर्नुपर्दाे रहेछ । राम्रो चलचित्र र राम्रो भूमिका गर्न अभिनयको प्रशिक्षण लिन जरुरी ठाने ।’ 

अभिनय सिकेर आएकोले पनि ‘प्रेमा’ को अभिनयमा दर्शकले सित्तिमित्ति खोट लगाउन नसक्ने उनको जिकिर छ ।

332690860_928827001580816_3621749863530292196_n

अब नियमित फिल्म

दोस्रो फिल्म ‘प्रेमा’ रिलिज नहुँदै अहिले उनको हातमा केही नयाँ प्रोजेक्ट परेका छन् । जसको स्क्रिप्ट उनले अध्ययन गरिरहेकी छन् । अध्ययन गर्दै गरेका फिल्महरुको कथा फरक–फरक छन् । तर उनलाई अहिले तत्कालै गर्न मन लागेको एक्सन फिल्म हो रे । 

एक्सन फिल्म अभिनयमा उनको रुचि हुनुको दुई कारण छ । पहिलो एक्सन फिल्म गर्न सक्ने उनको कन्फिडेन्स । दोस्रो एक्सन अभिनेत्रीको रूपमा पनि उनलाई चिनिन मन लागेको छ ।

हुन पनि नेपाली फिल्म बजारमा महिला एक्सन फिल्म नआएको  धेरै भयो । केही अगाडिसम्म अभिनेत्री रेखा थापाले यस्तो फिल्म खेल्ने र बनाउने पनि गर्थिन् । पछिल्लो समय उनी राजनीतिलगायत विभिन्न काममा लागेकोले यस्ता फिल्म कम भएको छ । 

शुभेच्छाले एक्सन फिल्म खेल्ने इच्छा जाहेर गर्नुको पछाडि यस्ता फिल्मका खडेरी पनि हो । भन्छिन्, ‘कसैले महिलाप्रधान एक्सन फिल्मको अफर गर्‍यो भने म तुरुन्तै ओके भन्छु ।’

एक्सन फिल्म अभिनय गर्ने चाहना राखेर मात्र पनि हुँदैन । त्यसका लागि आफूलाई तयार गर्नुपर्छ । एक्सन फिल्म अभिनय गर्नु भनेको मार्सल आर्ट प्रयोग गर्नु पनि हो । तर उनमा मार्सल आर्टको ज्ञान भने छैन । 

‘बोल्ड क्यारेक्टरको लागि सबैभन्दा ठूलो कुरो इच्छा शक्ति हो, त्यो ममा छ’ उनले थपिन्, ‘म नियमित वर्कआउट गर्छु । एथ्लेटिक्समा लगाव छ । त्यो हिसाबले गर्न सक्छु भन्ने लागेको हो ।’

सौन्दर्य प्रतियोगिताबाट भित्रिएका व्यक्ति फिल्ममा अभिनेत्रीको रूपमा जमेको खासै उदाहरण छैन, नेपाली फिल्म उद्योगमा । आफूले यो ट्याग मेटाउने उनी बताउँछिन् । 

‘प्रेमा’ बाट मिस नेपाल फिल्ममा जमेन भन्ने ट्याग मेटिन्छ । त्यो मेरो विश्वास छ,’ उनले भनिन्, ‘दर्शकको नजरमा म चिनिने फिल्म पनि यही हो । यसैबाट म हरेकको मन मन पुग्न सफल हुन्छु ।’

suv 2

होस्ट र अभिनय सँगसँगै  

शुभेच्छाको धेरैले चिन्ने परिचय होस्ट हो । उनी जुनै कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गर्न सक्छिन् । त्यसैले पनि सौन्दर्यसम्बन्धी कार्यक्रम होस् वा अन्य उनलाई भ्याइ नभ्याई हुन्छ । 

सिजनमा त उनले दैनिकजसो र अफ सिजनमा पनि सातामा २÷३ वटासम्म कार्यक्रमको होस्ट गर्नुपर्छ । काममा व्यस्त भएपछि आम्दानी त राम्रो हुने नै भो ।

‘थोरै समय दिएपनि राम्रो आम्दानी हुने भएकोले आर्थिक रूपमा फिल्म भन्दा राम्रो छ होस्ट,’ उनले भनिन्, ‘अभिनयको आनन्द फेरि बैग्लै छ । यसमा एक पटक चर्चित हुन सकियो भने सन्तुष्टि, आर्थिक सबै मिल्छ ।’

त्यसो त फिल्मसँग आर्थिक रूपले भन्दा पनि आर्टको रूपमा उनी नजिक भएकी हुन् । फिल्ममा दर्शकसँग धेरै नजिकिन मिल्ने अवसरको रूपमा पनि हेरेकी छन् उनले ।

आगामी दिनमा फिल्म र होस्ट दुवै पेसा एकसाथ अगाडि बढाउने सोचमा छिन् उनी । ‘फिल्मको अफर आउँदैमा होइन कि कथा मन परे अभिनय गर्छु,’ उनले सोच सुनाइन्, ‘होस्टलाई पनि भ्याएसम्म निरन्तरता दिन्छु ।’ 

जीवन केवल एक पटक पाउने हो । रुचिअनुसार जुन जुन कार्य गर्न सकिन्छ, त्यसमा इन्जोय गरेर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप