शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सुदूरपश्चिममा एमालेभित्र द्वन्द्व, भीम रावललाई कारबाहीको चेतावनी

शुक्रबार, १७ चैत २०७९, २१ : ०४
शुक्रबार, १७ चैत २०७९

धनगढी । नेकपा एमालेको ‘ग्रास रुट’ अभियानका बिच सुदूरपश्चिम प्रदेशमा आन्तरिक द्वन्द्व चुलिएको छ । पार्टीको आन्तरिक सुदृढीकरण र जनजागरणको उद्देश्यले सुरु गरिएको अभियानमै पार्टीभित्र फुट देखिनुका साथै आन्तरिक कलहलाई सतहमा ल्याएको हो ।

केही दिन यता सुदूरपश्चिममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र डा. भीम रावल पक्षबीच कडा टकराबको स्थिति सिर्जना भएको छ । अन्ततः एमाले नेता रावल र उपाध्यक्ष विष्णु पौडेलले धनगढीमा पत्रकार सम्मेलन नै गरेर एक अर्काप्रति कडा टिप्पणी गरे ।

यहाँसम्म कि रावलले पौडेललाई सुदूरपश्चिममा आएर कार्यकर्ता भड्काएको आरोप लगाए भने पौडेलले रावल पार्टीको नीति र अनुशासन विपरीत गएको भन्दै नसच्चिए कारबाही गर्नेसम्मको चेतावनी दिए ।

ग्रास रुटमा फुटदेखि कुर्सी हानाहानसम्म

ग्रास रुट कार्यक्रम अन्तर्गत गत फागुन १९ गते अछामको साँफेबगरमा केपी ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे । छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएपछि एक अर्काप्रति आरोप प्रत्यारोप सुरु भयो ।

एक पक्षले आयोजना गरेको ग्रास रुट कार्यक्रममा एमाले नेता रावल सहभागी थिए भने अर्को पक्षले आयोजना गरेको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गौरी ओली थिइन् । कार्यक्रमको वैधताबारे दुवैको आ–आफ्नो दाबी रह्यो । दुई पक्षले साँफेबगरमै छुट्टाछुट्टै कार्यक्रम गर्दा केही समय तनाव भयो । पछि सुरक्षाकर्मी परिचालन गरी अवस्थालाई साम्य पारियो ।

घटना यतिमै सीमित भएन । चैत १३ गते अछामको साँफेबगरमै आयोजित ग्रास रुट कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित रहेको कार्यक्रमलाई रावल पक्षले बिथोले ।

आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति विपरीत मन्तव्य राखेको भन्दै आक्रोशित रावल पक्षधर कार्यकर्ताहरुले नाराबाजी गर्दै कुर्सी प्रहार नै गरे । केही समय कार्यक्रम नै बिथोलियो ।

त्यसको भोलिपल्ट चैत १४ गते नेता रावलले धनगढीमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष पौडेलमाथि खनिए । उनले उपाध्यक्ष पौडेललगायतका नेताहरु कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाए ।

अछाममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको भन्दै रावलले घटनाको बचाउ गरे ।

यतिमात्रै होइन, रावलले आफ्नै गृह पालिकामा पौडेल छापामार शैलीमा प्रवेश गरेको आरोप लगाए । उनले भनेका थिए, ‘हो, पहुनालाई सत्कार गर्ने हाम्रो संस्कृति हो । कुनै पनि नेता कार्यकर्ता आयो भने घरमा स्वागत गरिन्छ । तर पहुनाले म आउँदैछु भनेर जानकारी गराउनुप¥यो । थाहा नपाएको व्यक्तिका लागि भान्सामा कहिले पनि भात पकाएर राखिँदैन । किनकि त्यो पहुनाले पिरो खान्छ कि, अमिलो खान्छ कि ? आउने हो कि आउने होइन । त्यो थाहा नपाई स्वागत गरिँदैन ।’

उपाध्यक्ष पौडेलले आफूलाई ‘तपाईँको गाउँ आउँदैछु’ भनेको भए आफूले निःसन्देह स्वागत गर्ने रावलको भनाइ थियो ।

रावलले पार्टीभित्र आफूलाई निषेध गरिँदै आएकाले नयाँ विकल्प खोज्नेतर्फ लागेको समेत बताए । उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तर तँ अब एमालेको सदस्य बन्न मिल्दैन, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेटेको घचेट्यै गरेमा एमालेका इमानदार कार्यकर्ता र जनतासँग सोध्नेछु– त्यतिबेला किन घचेटी मागिरहने, उभिनुस् भन्ने जवाफ आएमा नयाँ पाइला चाल्न सक्ने सम्भावना छ ।’

नसच्चिए कारबाही : पौडेल

रावलको सवालको जवाफ पौडेलले पनि पत्रकार सम्मेलन नै गरेर दिए । प्रेस चौतारी कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले नेता रावल आत्मालोचना गरी नसच्चिए कारबाही गर्ने चेतावनी दिए ।

पौडेलले भने, ‘भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसच्चिए पार्टीले उचित निर्णय लिन्छ ।’

रावलप्रति क्रुद्ध देखिएका उपाध्यक्ष पौडेलले पछिल्लो समय रावलले पार्टीलाई कमजोर बनाउने कार्य गरेको समेत आरोप लगाए । एमालेभित्रको अन्तरद्वन्द्वले एमाले कार्यकर्ताहरु पनि विभक्त भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप