सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा ४ फिल्म भिड्दै, प्रचारप्रसार खै ?

मङ्गलबार, २१ चैत २०७९, १२ : ०४
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । विदेशी फिल्मसँग भिड्दा रुवाबासी गर्ने नेपाली निर्माता नेपाली नै फिल्मसँग भिड्न भने कम्मर कसेर लाग्छन् । भिड्दा कसैलाई फाइदा छैन भनेर उनीहरुले नबुझेका होइनन् । तर पनि राम्रो मितिमा तँछाडमछाड गरेर भिड्ने गर्दछन् । यस्तैमा नयाँ वर्ष अर्थात वैशाखको १ गते ४ फिल्म भिड्ने भएका छन् । फिल्म हुन् ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘नाइँ नभन्नु ल ६’ । नयाँ वर्षमा बिदा समेत परेकोले फिल्मले धेरै व्यापार गर्ने अपेक्षा ४ फिल्मकै निर्माताको रहेको छ । 

८ करोडको हाराहारीमा निर्माण भएको ४ फिल्मले लगानी सुरक्षित गर्न करिब २० करोड माथिको व्यापार गर्नुपर्ने हुन्छ । तर, यति ठुलो व्यापार हुन्छ हुँदैन भन्न सकिन्न । ‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म हो । फिल्म लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ लगायतको अभिनय छ । 

त्यस्तै ‘नाइँ नभन्नु ल ६’ विकासराज आचार्य निर्देशित फिल्म हो । फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियङ्का कार्की र केकी अधिकारी रहेका छन् । अर्को फिल्म ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र बिराज विष्टको शीर्ष भूमिका छ । कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई फिल्मको मुख्य हो ।

प्रवेश पौडेल निर्देशित ‘बिहे पास’ दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहेको फिल्म हो । फिल्म सरकारी अधिकृत पत्नी र सरकारी जागिर पाउन प्रयत्नरत पति र पारिवारिक तनावको बारेमा निर्माण भएको छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण फिल्ममा मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा, आकाश र सजन पटकथा र संवाद छ । यस फिल्मको रोहित कट्टेल प्रस्तुतकर्ता, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माता छन् ।

प्रचार प्रसार भने खै ?

नयाँ वर्षमा रिलिज हुन लागेको ४ फिल्म हेर्ने हो भने सबै मल्टिस्टार कलाकारले भरिएका छन् । फिल्मको प्रचार प्रसार भने खासै भएको पाइन्न । ४ मध्य ‘नाइँ नभन्नु ल ६’ आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियङ्का कार्की र केकी अधिकारीको अभिनय छ । फिल्मको प्रचार प्रसार भने शून्य जस्तै छ । 

त्यस्तै ‘बिहे पास’ दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम लगायत चर्चित कलाकारको अभिनय छ । फिल्मको प्रचार प्रसार केही भएपनि व्यापक भने हुन सकेको छैन । 

फिल्म ‘बुलाकी’मा पनि सुरक्षा पन्त, नरेन खड्का लगायत नाम चलेका कलाकारको अभिनय छ । प्रचार प्रसार भने शून्य छ । फिल्म ‘जारी’ पनि दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल जस्ता चलेका कलाकारको अभिनय देख्न सकिन्छ । प्रचार प्रसार भने यो फिल्मको पनि खासै भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप