आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच वैशाख १८ गते पार्टी एकता हुने

बिहीबार, २३ चैत २०७९, १२ : १७
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टी एकता गर्न लागेका हुन् ।

वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइने क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए । वैद्य नेतृत्वको पार्टीबाट स्थायी समिति सदस्य  सिपी गजुरेल, रामसिंह श्रीष छन् । यस्तै बास्तोला नेतृत्वको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने छन् । ‘पार्टी एकता अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनमा हुने भयो । पार्टी नेतृत्व कमरेड किरणकै हुनुहुन्छ’ रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘पार्टीको नाम र आगामी कार्यदिशाका विषयमा यसबीचमा टुङ्गो लगाउने भन्ने छ ।’ पार्टी एकता भएपछि नेकपा माओवादी हुने सम्भावना देखिएको नेताहरूले बताएका छन् ।  दुवै पार्टीको भाव समेटिनेगरी पार्टीको नाम राखिने भएको छ ।

पार्टी अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने समझदारी बनाएको नेकपा बहुमतका एक नेताले बताए । आलोपालो नेतृत्व गर्ने गरी दुई जनावीच अध्यक्ष मण्डल बनाइने ती नेताले बताए । मोहनविक्रम सिंह नेतृत्वको नेकपा क्रान्तिकारी मसालसँग पनि एकता गर्ने भनिए पनि सहमति नजुट्दा सो एकता रोकिएको छ । 

 २०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन गरेर वैद्यले नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए । विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले  छुट्टै पार्टी  बनाएपछि अहिले वैद्यसँग एकता हुन लागेको हो ।

त्यसो यसबीचमा विप्लवले समेत वैद्यसँग पार्टी एकता गर्ने तयारी गरेका थिए । तर, बास्तोला नै वैद्यसँग पार्टी एकताको प्रक्रियामा अघि बढेपछि विप्लव टाढिएका हुन् । पछिल्लो समय विप्लव प्रचण्डसँग नजिकिँदै गएका छन् । यद्यपि पार्टी एकता गर्ने गरी कुनै ठोस छलफल भने भएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप