शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेसँग विद्रोह गरेका माधव र वामदेवको एकतामा ‘जबज’ बाधक

गौतम भन्छन्– माधवले बेवास्ता गर्नुभयो !
बिहीबार, २३ चैत २०७९, २२ : ३४
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा वामपन्थी नेता वामदेव गौतमले गरेको प्रस्तावलाई बेवास्ता गरेका छन् । एकीकृत समाजवादीले पार्टी एकताका लागि सुरुमा दुवै तर्फबाट प्रस्ताव र छलफल गरे पनि पछिल्ला दिनमा एकताबारे कुरै गर्न छोडेको नेता गौतमको भनाइ छ ।

‘उहाँहरूले पनि पार्टी एकताका लागि वार्ता समिति गठन गर्नुभयो, एकर्काका दस्ताबेजहरू पनि आदानप्रदान भए । तर पछि खै किन हो उहाँहरूले नै एकताप्रति चासो देखाउनुभएन, वास्तै गर्नुभएन,अपमान गर्नुभयो’, नेता गौतमको भनाइ छ ।

गत फागुन ६ गते देखि ८ गतेसम्म बसेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा एकीकृत समाजवादी, एमाले र माओवादी केन्द्रमध्ये कुनै एक पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । 

‘विचार सिद्धान्त मिल्ने तीन वटा पार्टीमध्ये कुनै एकसँग वार्ता गरेर एकीकरण गर्ने निर्णय गरेको हो’, गौतमले भने,‘त्यसमध्ये पनि विचारमा सबैभन्दा नजिक रहेको एकीकृत समाजवादीसँग एकीकरण नै गर्ने भनेर एक हिसाबको प्रक्रिया नै सुरु गरे पनि उहाँहरूको बेवास्ताका कारण एकता प्रक्रिया अघि बढ्न सकेन ।’

गौतमले केन्द्रीय कमिटीबाट पार्टी एकीकरणका लागि निर्णय गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग दुई पटक भेटवार्ता समेत गरेका थिए । ‘बैठकको निर्णयपछि माधव नेपालसँग समय लिएर मैले भेटेर भनेँ, हामीले निर्णय गरिसकेका छौ, अव दुई पार्टी एकीकृतको घोषणा गरौँ । तर अहिलेसम्म पनि उहाँले रेस्पोन्स गर्नुभएन ।’

नेता गौतमले अध्यक्ष नेपालले पार्टी एकताका लागि बेवास्ता गरेर बाटो बन्द गरेको आफूले बुझेको बताए । ‘बेवास्ता गरेर एकीकरणको बाटो बन्द गर्नुभयो । सायद सरकारमा जानेलगायतका विषय भएकाले त्यसलाई किन ल्याउने भन्ने सोच्नुभयो होला,’, गौतमको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरूसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको थियो ।

गत पुस २१ गते बसेको सो पार्टीको सचिवालय बैठकले तत्कालीन महासचिव बेदुराम भुसालको नेतृत्वमा बनेको समितिमा उपमहासचिवहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेका थिए । सो समितिले वार्ता गरेर नेता घनश्याम भुसाललाई पार्टीमा भित्र्याइसकेको छ । घनश्याम हाल नेकपा एकीकृत समाजवादीको महासचिव छन् ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा वार्ता समितिका सदस्य डा. गंगालाल तुलाधरले पनि वामदेव गौतमसँगको एकता प्रक्रिया हाल स्थगित भहेको बताए । उनले के कारणले स्थगित भएको भन्ने स्पष्ट खुलाउन नचाहे पनि गौतमले राखेका सर्तका कारण वार्ता प्रक्रिया अवरुद्ध भएको अध्यक्ष नेपाल निकट स्रोतले बताएको छ ।

गौतमसँगको भेटवार्तापछि अध्यक्ष नेपालले पार्टी नेताहरूसँग  ‘जनताको बहुदलीय जनवाद’ स्विकार्नुपर्ने र पार्टीमा आफूले बोल्न स्वतन्त्रता हुनुपर्ने गौतमको सर्तले एकता हुन नसक्ने  'ब्रिफिङ' गरेका थिए ।

‘उहाँ (गौतमले) जनताको बहुदलीय जनवाद हुनै पर्ने र आफू स्वतन्त्र हुने कुरा गर्नुभयो, त्यसले अलिकति समस्या देखियो । एकता नै नगरी यस्ता सर्त राखेर अघि बढ्न सक्ने स्थिति देखिएन’, अध्यक्ष नेपालनिकट स्रोतले भन्यो, ‘एकीकरण भइसकेपछि छलफल गर्न सकिने त थियो तर पहिल्यै कडा सर्त राख्दा अलि समस्या भएको जस्तो देखियो ।’

नेता तुलाधरले पार्टी एकताका लागि गौतमले भनेजस्तो बेवास्ता नगरेको दाबी पनि गरे । ‘गौतमले एकताका निम्ति उत्साहित भएको पाइँदैन । हाम्रा कारणले होइन, उहाँकै कारणले प्रक्रिया अघि नबढेको हो’, तुलाधरले रातोपाटीसँग भने, ‘हाम्रा तर्फबाट बाटो बन्द भएको छैन, हाम्रातर्फबाट केही कमजोरी भएको भए हामी 'करेक्सन' गर्न तयार छौ ।’ 

स्मरण रहोस्, नेपाल र गौतमले विगतमा एमालेबाट विद्रोह गरेर नयाँ अभियान थालेका थिए । जसअनुसार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए भने गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप