फुटको संघारमा नागरिक उन्मुक्ति पार्टी ?
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलमा चलिरहेको छ । आज शुक्रवार सकिने बैठकमा भने अरू छलफलभन्दा केन्द्रीय नेता सुरेन्द्र चौधरीले पार्टी परित्याग गरेको घोषणाले चर्चा पाएको छ ।
राजनीतिक समितिका संयोजक सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘आजबाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु । नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ ।’
उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि नयाँ शिराबाट राजनीतिक यात्राको लागि तयार रहन भन्दै सम्पूर्ण शुभचिन्तक अभियन्ता, नेताहरूमा उनले अपिल समेत गरेका छन् । राजनीतिक समितिका संयोजक चौधरीले एकाएक पार्टी छाड्ने टुङ्गोमा किन पुगे त ? पार्टी छाड्नु एक दिन पहिले बिहीबार सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई नियुक्त भएकोमा बधाई दिएका छन् । यी तीनैजना कैलालीका हुन् ।
पार्टी कैलालीमै सीमित भयो भन्ने ठूलो गुनासो थियो सुरेन्द्रको । आफूले अन्य जिल्लाबाट विभिन्न दलका वरिष्ठ नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएकोमा कुनै जिम्मेवारी नदिएको थप गुनासो थियो उनको ।
यसका साथै राजनीतिक समितिको संयोजक भएको नाताले अन्य दलसँग सहकार्य, समन्वयको जिम्मेवारी आफ्नो भएको उनको भनाई थियो । तर पार्टी संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलाई समेत थाहै नदिई आफूलाई भूमिकाविहीन बनाएको प्रसंग उनले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा उठाउँदै आएका थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उम्मेदवार भई चौथो स्थान ल्याएका थिए । उता नागरिक उन्मुक्ति पार्टीबाट संघीय चुनावमा बर्दिया–३ बाट उम्मेदवार भई तेस्रो स्थान ल्याएका ठाकुरसिंह थारुले समेत पार्टी त्याग्दै गरेको बताइएको छ । स्रोतका अनुसार पार्टी छाड्ने समूहले समाजवादी नागरिक उन्मुक्ति पार्टी दर्ता गर्ने तयारी अघि बढाएको छ ।
संघीय चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–४ उम्मेदवारीको चाहना राखेको तर नपाएपछि पार्टी परित्याग गरेका राजाराम चौधरी भन्छन्, ‘योग्य र सक्षम व्यक्तिको कदर हुन नसक्नु नेपालको राजनीतिमा सामान्य जस्तै भैसकेको छ । उन्मुक्ति ओरालोको संकेत ।’
उता नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय पदाधिकारीले सुरेन्द्र चौधरी पार्टीमा कुनै जिम्मेवारीमा नरहेकाले उनले पार्टी त्याग्नुले कुनै अर्थ नराख्ने बताए ।
उता नयाँ राजनीतिक यात्राको लागि मेची महाकाली यात्रामा जाने तयारीमा रहेका सुरेन्द्र चौधरीले नयाँ संगठन बनाएमा नागरिक उन्मुक्ति पार्टीको संगठनलाई घाटा पुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण