शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

को हुन् रविका कोर टिमका दुई जना जसले मन्त्री बनाउन आफ्नै सांसदसँग रकम माग गरे ?

रकम माग्ने कुरा पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर छ : नेता अर्याल
आइतबार, २६ चैत २०७९, २३ : ५३
आइतबार, २६ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईंसँग रकमको डिल गरेको अडियो सार्वजनिक भएको हो ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई बुझाउनका लागि उक्त रकम चाहिएको बताएका छन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले मन्त्री बन्नका लागि नेताहरूले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको ‘कोर टिम’ले रकम मागेको सांसद ढाकाकुमारको भनाइ छ । सांसद श्रेष्ठ र दुर्गा प्रसाईंबीचको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै अनुसन्धान सुरु गर्न लागिएको बताएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठबीचको कुराकानीमा स्पष्टरुपमा मन्त्री बन्ने भए साँढे दुई करोड रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने भएको र त्यति रकम आफूसँग नभएको श्रेष्ठले बताएका छन् । त्यसका लागि सहयोग गरिदिन श्रेष्ठले प्रसाईसँग आग्रह गरेका छन् । 

मेडिकल व्यवसायी प्रसाई स्वास्थ्य मन्त्री हुने कन्फर्म भए आफू दुई करोड रुपैयाँ दिन तयार भएको तर सहयोगको ग्यारेन्टी खोजेका छन् । 

प्रसाईले ‘यो पनि रविलाई नै त जाने होला नि’ भन्दै श्रेष्ठलाई दिने भनिएको सहयोग कहाँ पुग्छ भनी सोधेका छन् । ढाकाले रविले सिधै उक्त रकम नमागेको र रविको ‘कोर टिम’मा रहेर काम गरेका दुई जनाले उक्त रकम मागेको र उक्त रकम पार्टीकै लागि भएको विश्वस्त पार्न खोजेका छन् । उक्त रकम पार्टीलाई जाने हो कि होइन पनि थाहा नभएको श्रेष्ठको भनाइ छ । 

मेडिकल व्यवसायी प्रसाईंले कोर टिमका दुई जना को को हुन् भनेर जान्ने प्रयाससमेत गरेका छन् । तर सांसद श्रेष्ठले सुरुदेखि नै पार्टी र रविलाई सहयोग गर्ने कोर टिमका दुई जना भनेका छन् तर नाम लिएका छैनन् ।

यस सम्बन्धमा कुराकानीको प्रयास गर्दा सांसद ढाकाकुमार श्रेष्ठले मोबाइलको स्वीच अफ गरे भने प्रवक्ता मुकुल ढकालको मोबाइलको स्वीच पनि अफ गरिएको छ । 

यस सम्बन्धमा रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोल प्रसाद अर्यालले छानबिनपछि दोषी देखिने र मुछिने सबै कारबाहीमा पर्ने बताए । नेता अर्यालले भने, ‘यस विषयमा अब पार्टीले छानबिन गर्छ । त्यसमा को को संलग्न छन्, उनीहरूको छानबिन हुन्छ र दोषी देखिने सबै कारबाहीमा पर्छन् ।’

छानबिन आन्तरिक मात्रै हुन्छ कि प्रतिवेदन बाहिर पनि आउँछ भन्ने रातोपाटीको प्रश्नमा नेता अर्यालले त्यसको निष्कर्ष बाहिर ल्याउने बताए ।

आफ्ना सांसदलाई मन्त्री बनाउन रास्वपाले पनि रकम उठाउँछ हो भन्ने प्रश्नमा नेता अर्यालले त्यस विषयमा छानबिनले जे देखाउँछ त्यही देखिने बताए । उनले भने, ‘मन्त्री बनाउन रकम मागेको हो भन्ने प्रमाणित भयो भने रास्वपामा पनि त्यही हुने रहेछ भनेर बुझ्नुपर्‍यो । पार्टीको विषय के हो भने रास्वपामा मनत्री बन्न त के कुनै पनि पदमा पुग्नका लागि पैसा बुझाउनु पर्दैन । त्यो पार्टीको नीति र सिद्धान्तभन्दा बाहिरको कुरा हो । यस विषयमा थप कुरा छानबिनपछि नै सार्वजनिक हुनेछन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप