शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुलिसले पहिलो जित निकाल्दा चर्च ब्वाईज र एपिएफले अंक बाँडे

सोमबार, २७ चैत २०७९, १७ : ५८
सोमबार, २७ चैत २०७९

काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेडले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकालेको छ ।  

सातौं चरण अन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा फ्रेण्ड्समाथि ३–१ को जित निकाल्दै जारी लिगमा पहिलो जित निकोको हो । नवप्रवेशी चर्च व्वाईज र एपिएफबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । 

निर्धारित समयमा दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए । शुरुवातबाट आक्रामक रुपमा देखिएका दुवै टोलीले स्पष्ट जितको खोजीमा थिए । गोलका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेनन् । 

खेलको २४ औं मिनेटमा एपिएफका एडमा विडोमको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा एपिएफको अग्रता हुने अवसरलाई खेर गएको थियो । ३५ औं मिनेटमा चर्च ब्वाइजका एरिक बिष्टको फ्रिकिक एपिएफका गोलकिपर युया कुरियामाले बचाउँदा ४३ औं मिनेटमा जोफेफ बेम्पाको प्रहार पोलमा लागेर फर्कियो ।

यसै सिजन बढुवा हुँदै लिगमा स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाईजले दोस्रो हाफमा पनि सुनौला अवसर खेर फाल्न पुगेको थियो । ७४ औं मिनेटमा मणि लामाले प्रहार गरेको फ्रिकिकमा विदेशी खेलाडी एडमा विडोमले भेटाउन सकेनन् । यस बराबरीसँगै  चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । यस्तै एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा विदेशी खेलाडी भित्र्याएको नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकोको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले ललितपुरको टोली फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । पुलिसले सातौं चरणको खेलमा पहिलो पटक स्पष्ट अंक जोड्न सफल भएको हो ।  अघिल्लो खेलहरुमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोसेसले डेब्युमा नै गोल गरे । यस्तै फ्रेण्ड्सका पनि विदेशी खेलाडी टोरिक जेब्रिनले सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए ।

विदेशी खेलाडी समावेश भएपछि उच्च मनोबलका साथ खेलेको पुलिसले पहिलो हाफमा भने अपेक्षा अनुसार खेल्न सकेन ।  दोस्रो हाफमा तालमेल मिलेपछि आक्रामक रुपमा देखिएको पुलिसले ५० औं मिनेटमा गोलको खाता खोल्यो । मोसेसको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । 

५७ औं मिनेटमा बुद्धले टोलीको अग्रता दोब्बर बनाउँदा खेल सकिन चार मिनेट बाँकी रहँदो फ्रेण्ड्सले गोल गर्दै अन्तर छोट्याएको थियो । ८६ औं मिनेटमा फ्रेण्ड्सका जेब्रिनले खेललाई २–१ को स्थितिमा ल्याएको खेलको ८९औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३–१ को जित निश्चित गरेको हो । जितसँगै पुलिसले ७ खेलबाट तालिकामा ४ अंक पु¥याएको छ । फ्रेण्ड्सको  पनि ७ खेलमा समान ४ अंक नै भएको छ ।

लिगमा मंगलवार दुई खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग प्रतिष्पर्धा गर्दा च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबसँग खेल्नेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप