शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा विदेशीहरुले पार्टी नै खोलिसके : अध्यक्ष केसी

बुधबार, २९ चैत २०७९, १७ : ४०
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताए । उनले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए ।

उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए । ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिले पनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् । ५०÷६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन्’ उनले भने, ‘बद्नाम हुनुको पछाडि जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरु नाङ्गिएका छन् । त्यसको बदला नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले पनि गरेको छ । र निर्वाचन आयोगले पनि गरेको छ । त्यो राम्रो कुरा होइन । नेपालको ऐन, कानूनलाई ठाडै उल्लंघन भएको छ ।’

अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे । उनले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए । उनले भने– ‘नेपालमा यस्तो हुन्न भनेर भन्न सकिन्न । सामान्य संसदीय प्रणालीको कुरा गर्ने हो भने त संसदभित्रको सबभन्दा ठुलो पार्टीले नेतृत्व गर्नुपर्ने हो । मान्दैनन् संसदीय व्यवस्था यिनीहरुले । संसदीय व्यवस्थाका भक्त देखाउँछन् । यदि ठुलो पार्टीले नसके त त्यसभन्दा तल्लो ७९ सिटवालाले गर्ने हो नि नेतृत्व त । अब यी ठूलाका लडाँई, षड्यन्त्र, जालझेल सबैले गर्दा प्रतिपक्ष हुने पार्टी सत्तामा भएको छ । उल्टो गंगा त यसै बगेको छ नि ।’ उनले आगामी दिनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप