शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव

शुक्रबार, ०१ वैशाख २०८०, १३ : ५८
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।  महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिइन् । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक व्यक्तिलाई सुहाउने विविध कार्यक्रम हुने उनले बताए ।

 उक्त महोत्सव सङ्गीत, ध्यान, साधना र अध्ययनको महोत्सव हुने सिम्खडाको भनाइ छ । महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम सञ्चालन हुनेछन् ।  महोत्सवको मुख्य कार्यक्रम आज साँझ ५ बजेदेखि सुरु हुने संयोजक सिम्खडाले बताइन् । साँझ ५० हजार बढी व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने आयोजकको भनाइ छ । देशका विशिष्ट व्यक्तित्वको उपस्थिति हुने उक्त सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणले विशेष सत्सङ्ग र आशीर्वाद प्रदान गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, सङ्गीत र हास्य प्रस्तुतिका साथै चर्चित साङ्गीतिक समूह कुटुम्बको विशेष प्रस्तुति हुनेछ । साथै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, जितु नेपाल, प्रदीप खड्का, यमन श्रेष्ठ, प्रदीप रोदनलगायतले प्रस्तुति गर्ने आयोजकले जनाएको छ ।  ओशो महोत्सवमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहको संयोजनमा फुड फेस्टिबलसमेत सञ्चालन हुनेछ । कार्यक्रममा मरुन रङको कपडा अनिवार्य गरिएको छ । ड्रेसको आफैँले व्यवस्था गर्नुपर्ने भन्दै महोत्सवमा राखिएका स्टलबाट उक्त ड्रेस रू पाँच सय वा सोभन्दा बढीमा समेत किन्न सकिने महोत्सवका संयोजक सिम्खडाले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप