तीन लघुकथा
१.बर्थ डे
नयाँ क्यालेन्डर कोठाको भित्तामा झुण्ड्याएको थिएँ । छोराले हेर्न खोज्यो । निकालेर दिएँ । धेरै समय लगाएर हेर्यो ।
“आउँदो वर्ष कति बिदा छ भनेर हेर्न लागेको हो ?
दशैं, तिहार कहिले छ भनेर हो ?
मेरो बाबुले के हेर्न खोजेको होला ?” मैले सोधेँ ।
“हैन बाबा” उसले भन्यो ।
उसले क्यालेन्डर पल्टाउँदै गयो ।
“के हेर्न लागेको त बाबुले ?” मैले उसलाई आफूतिर तान्दै मायाले सोधेँ ।
उसले मसिनो हात क्यालेन्डरमा खेलाउँदै गयो ।
गत हप्ता मात्र आफ्नो जन्म दिन मनाएको मेरो छोराले भन्यो, “मेरो बर्थ डे आउन अब कति बाँकी छ भनेर गनेको नि बाबा ।”
२. केक
“बाबा गिफ्ट किन्न जानु पर्नेछ, भरे चाँडै आउनु ल ।” बिहान अफिस जाने बेलामा छोराले भन्यो ।
“के ल्याउनु पर्ने हो भन न, म आउँदा ल्याई दिन्छु ।” मैले भने ।
“हैन, मेरो साथी निकेशको बर्थ डे हो आज । गिफ्ट किन्न म पनि जान्छु हजुरसँग ।” उसले भन्यो ।
“ल आज शुक्रवार पनि हो । म आउँला अनि जाने । हुन्छ ?’ मैले भने ।
ऊ खुसी भयो ।
कार्यालयको काम सकिएपछि चाँडै नै घर आएँ ।
दिउँसोदेखि छोरालाई ज्वरो आएछ, दुई पटक त वान्ता पनि भएछ । डाक्टरकोमा जान नीतु ठिक्क रहिछन् । म आउने बित्तिकै टेक्सी लिएर हामी हिँड्यौं ।
डाक्टरले भनेबमोजिम रगत जाँच गरियो । अन्य जाँच गरेर डाक्टरसँग परामर्श गरी औषधि लिएर घर पुग्न लाग्दा रातको नौ बज्न थालेछ ।
टेक्सी घरको गेटमा पुगेको मात्र थियो । निकेशको घरबाट खाना खाएर सरिता, विकास, बबिन र अजय फर्कदै रहेछन् ।
छोराले सकी नसकी टेक्सीको झ्याल बाहिर टाउको निकालेर सोध्यो, “केक काटी सके ?”
३. बदला
“ल बाबु नरोऊ ।”
बाटोमा हिँड्दै गर्दा लडेको बालकलाई मैले फकाउन खोजेँ । उ अझ बेस्सरी रुन थाल्यो ।
“म मिठी दिन्छु, अब बाबुलाई सन्चो हुन्छ ।” मैले भने ।
ऊ अझ बेस्सरी रोयो । । सोचेँ, “सायद चोट लागेकै होला ।”
बाबु अगाडिको पसलको रहेछ । उसको दाइ आयो । उ रोइरहेको बच्चा भन्दा करिब चार÷पाँच वर्ष मात्र जेठो होला ।
आउने बित्तिकै उसले भाइ लडेको भुइँमा दुई लात बजार्यो र भन्यो, “ला ला ! अब बाबु लडेको ठाउँलाई पिटेँ । अब बाबुलाई सन्चो हुन्छ ।”
बच्चा रुन छाड्यो । सोचेँ, “मान्छेलाई बदलाको भावनाले सानैबाट जरो गाड्दो रहेछ ।”
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण