शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

तीन लघुकथा

शनिबार, ०२ वैशाख २०८०, ०९ : ३३
शनिबार, ०२ वैशाख २०८०

१.बर्थ डे

नयाँ क्यालेन्डर कोठाको भित्तामा झुण्ड्याएको थिएँ । छोराले हेर्न खोज्यो । निकालेर दिएँ । धेरै समय लगाएर हेर्यो । 

“आउँदो वर्ष कति बिदा छ भनेर हेर्न लागेको हो ? 

दशैं, तिहार कहिले छ भनेर हो ? 

मेरो बाबुले के हेर्न खोजेको होला ?” मैले सोधेँ ।

“हैन बाबा” उसले भन्यो । 

उसले क्यालेन्डर पल्टाउँदै गयो । 

“के हेर्न लागेको त बाबुले ?” मैले उसलाई आफूतिर तान्दै मायाले सोधेँ । 

उसले मसिनो हात क्यालेन्डरमा खेलाउँदै गयो । 

गत हप्ता मात्र आफ्नो जन्म दिन मनाएको मेरो छोराले भन्यो, “मेरो बर्थ डे आउन अब कति बाँकी छ भनेर गनेको नि बाबा ।”

२. केक

“बाबा गिफ्ट किन्न जानु पर्नेछ, भरे चाँडै आउनु ल ।” बिहान अफिस जाने बेलामा छोराले भन्यो । 

“के ल्याउनु पर्ने हो भन न, म आउँदा ल्याई दिन्छु ।” मैले भने । 

“हैन, मेरो साथी निकेशको बर्थ डे हो आज । गिफ्ट किन्न म पनि जान्छु हजुरसँग ।” उसले भन्यो । 

“ल आज शुक्रवार पनि हो । म आउँला अनि जाने । हुन्छ ?’ मैले भने । 

ऊ खुसी भयो । 

कार्यालयको काम सकिएपछि चाँडै नै घर आएँ । 

दिउँसोदेखि छोरालाई ज्वरो आएछ, दुई पटक त वान्ता पनि भएछ । डाक्टरकोमा जान नीतु ठिक्क रहिछन् । म आउने बित्तिकै टेक्सी लिएर हामी हिँड्यौं । 

डाक्टरले भनेबमोजिम रगत जाँच गरियो । अन्य जाँच गरेर डाक्टरसँग परामर्श गरी औषधि लिएर घर पुग्न लाग्दा रातको नौ बज्न थालेछ । 

टेक्सी घरको गेटमा पुगेको मात्र थियो । निकेशको घरबाट खाना खाएर सरिता, विकास, बबिन र अजय फर्कदै रहेछन् । 

छोराले सकी नसकी टेक्सीको झ्याल बाहिर टाउको निकालेर सोध्यो, “केक काटी सके ?”

३. बदला

“ल बाबु नरोऊ ।” 

बाटोमा हिँड्दै गर्दा लडेको बालकलाई मैले फकाउन खोजेँ । उ अझ बेस्सरी रुन थाल्यो । 

“म मिठी दिन्छु, अब बाबुलाई सन्चो हुन्छ ।” मैले भने । 

ऊ अझ बेस्सरी रोयो । । सोचेँ, “सायद चोट लागेकै होला ।” 

बाबु अगाडिको पसलको रहेछ । उसको दाइ आयो । उ रोइरहेको बच्चा भन्दा करिब चार÷पाँच वर्ष मात्र जेठो होला । 

आउने बित्तिकै उसले भाइ लडेको भुइँमा दुई लात बजार्यो र भन्यो, “ला ला ! अब बाबु लडेको ठाउँलाई पिटेँ । अब बाबुलाई सन्चो हुन्छ ।” 

बच्चा रुन छाड्यो । सोचेँ, “मान्छेलाई बदलाको भावनाले सानैबाट जरो गाड्दो रहेछ ।”

पोखरा–७ मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप