बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नौ खेलाडीमा सीमित सङ्कटासँग एपीएफ पराजित

आइतबार, ०३ वैशाख २०८०, १९ : ३६
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबार विभागीय टोली एपीएफ सङ्कटा क्लबसँग १–० गोल अन्तरले पराजित भएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफले नौ खेलाडीमा सीमित भएको संकटाविरुद्ध फाइदा उठाउन सकेन । योसँगै एपीएफ फुटबल क्लबले लिगमा लगातार दोस्रो हार व्यहोरेको हो । 

पहिलो हाफमा सङ्कटाका जुनियर एनकुन्गुएले पेनाल्टीबाट गरेको गोल नै निणार्यक बनेको थियो । सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको २८ औँ मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत गोल गरेका थिए । एपीएफका विदेशी खेलाडी रक्षक एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि सङ्कटाले पेनाल्टीको अवसर पाएको थियो । 

यसअघि १३ औँ मिनेटमा सङ्कटाका निशान खड्काको फ्रिकिक एपीएफका गोलकिपर युरी कुरियामाले बचाएका थिए । ४४ औँ मिनेटमा पनि निशानको प्रहारमा गोलकिपर कुरियामा नै बाधक बनेका थिए । ६८ औँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित हुन पुगे । पहेँलो कार्ड व्यहोरिसकेका एपीएफका दीपेश धिमाल र मनिष डांगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए । 

१० खेलाडीमा झरेको सङ्कटा सात मिनेटपछि नौ खेलाडीमा सीमित बन्यो । रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान बाहिरिन पुगेका थिए । अन्त्यतिर नौ खेलाडीमा सीमित भएको सङ्कटाविरुद्ध एपीएफले थप फाइदा उठाउन सकेन र अङ्क सुम्पिन बाध्य बन्यो ।

सङ्कटाले नौ खेलमा चार जीत, तीन बराबरी र दुई हारको नतिजासहित १५ अङ्क जोडेको छ । पराजय बेहोरेको एपीएफको समान खेलमा तीन जीत, दुई बराबरी र चार हारसहित ११ अङ्क छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप